दीपावलीले अर्थतन्त्र चलायमान: ४० करोडको झिलिमिली बत्तीको कारोबार
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ३ सोमबार
987
Shares
काठमाडौँ। उज्यालोको पर्व दीपावलीले गर्दा अहिले नेपाली अर्थतन्त्र चलायमान बनेको छ। उपभोक्ताले विभिन्न थरीका झिलिमिली बत्तीहरू किन्दा करिब ४० करोड रुपैयाँ बराबरको कारोबार हुने व्यवसायीहरूको भनाइ छ। यी बत्तीहरू प्रायः चीनबाट आयात हुने गरेका छन् र बजार हिस्सा बढी ओगटेका छन्।
नेपाल विद्युत्तीय व्यवसायी महासंघका अध्यक्ष रेशमप्रसाद देवकोटाका अनुसार, यस वर्षको तिहारमा बत्तीको कारोबार राम्रै देखिए पनि विगतका वर्षहरूको तुलनामा केही घट्न सक्ने अनुमान गरिएको छ। यसको मुख्य कारण, अहिले बजारमा आएका धेरै सामानहरू टिकाउ खालका हुनु (दुई-तीन वर्षसम्म चल्ने) र निर्माण कार्यमा आएको सुस्ती हो। काठमाडौं विद्युत व्यवसायी संघका अध्यक्ष मिलन शिवाकोटीले पनि कोभिडपछिदेखि नै विद्युत् व्यवसाय निरन्तर घट्दो क्रममा रहेको र २०७६/७७ सालदेखि अहिलेसम्म व्यापार करिब १५ देखि २० प्रतिशतले घटेको बताएका छन्। देशको समग्र आर्थिक र राजनीतिक अनिश्चितताले पनि बजारमा नकारात्मक असर पारेको उनको भनाइ छ।
बजारमा न्यूनतम प्रतिगोटा डेढ सयदेखि २० हजार रुपैयाँसम्म पर्ने बत्तीहरू उपलब्ध छन्, जुन घर, बगैंचा, कार्यालय लगायतको सजावटका लागि अत्यधिक प्रयोग हुन्छन्। तिहार सकिने बित्तिकै छठ पर्व शुरू हुने भएकाले सो समयसम्म धान्ने गरी बत्ती आयात हुने गरेको छ। यस वर्ष नयाँ डिजाइनका ‘वाटरफल’ लाइटहरू ले बजार लिएका छन्, जुन झरना-शैलीको प्रकाश देखिने भएकाले आकर्षक छन्। सामाजिक सञ्जालमा धेरै देखिन थालेका यस्ता लाइटहरू सजिलै जडान गर्न सकिने (सेल्फ–इन्स्टलेसन) प्रकृतिका भएकाले ग्राहकहरू बढी आकर्षित भएका छन्।
झिलिमिली सामानको आपूर्ति प्रायः चीनबाट हुने गरेकोमा यस वर्ष पनि रसुवा र तातोपानी नाकामा बाटो बिग्रिने समस्या का कारण केही असहजता भोग्नुपर्यो। गत वर्ष तिहारमा मगाएका सामान तिहारपछि मात्र आइपुग्दा व्यापारीहरूलाई ठूलो क्षति भएको थियो। यसपटक त्यस्तो कठिनाइ दोहोरिन नदिन धेरै व्यवसायीहरूले वैकल्पिक रूपमा कलकत्ता, वीरगञ्ज, विराटनगर, भैरहवा, र नेपालगञ्ज हुँदै सामान ल्याएका छन्, जसले गर्दा ढुवानी खर्च बढे पनि समयमै सामान बजारमा पुगेको छ।
महासंघका अध्यक्ष सापकोटाले हाल बजारमा माग अनुसार पर्याप्त सामान उपलब्ध रहेको जानकारी दिएका छन्। समग्रमा, अहिलेको बजारमा व्यापार घट्दो भए पनि प्रविधिमा आधारित नयाँ उत्पादनहरूप्रति ग्राहकहरूको चासो बढ्दो रहेको व्यवसायीहरूले बताएका छन्।