अबको बैठकले काँग्रेस केन्द्रीय समितिलाई पूर्णता दिन्छ : महामन्त्री कोइराला
प्रकाशित २०७३ माघ २२ शनिबार
867
Shares
पोखरा । काँग्रेस महामन्त्री शशाङ्क कोइरालाले छिट्टै नेपाली काँग्रेस केन्द्रीय समितिले पूर्णता पाउने बताएका छन् । कास्की काँग्रेस क्षेत्र नम्बर ३ ले गरेको ‘राजनीतिक सङ्क्रमण : नेपाली काँग्रेस र अबको वाटो’ विषयक कार्यशालामा महामन्त्री कोइरालाले केही दिनमै केन्द्रीय समितिलाई पूर्णता दिई सबै विभाग गठन हुने बताएका हुन् । पछिल्लो समय बैठक बस्न सकेको छैन ।
यस्तै, महामन्त्री कोइरालाले पुरानै संरचनाको स्थानीय निकाय निर्वाचन गर्नु उपयुक्त हुने बताएका छन् । पुनःसंरचना आयोगले दिएको प्रतिवेदनअनुसार स्थानीय तहको निर्वाचन गर्न अझै दुई–तीन वर्ष लाग्ने भएकाले पुरानै स्थानीय निकायको निर्वाचन गरिनुपर्ने सुझाव दिए ।
संविधान कार्यान्वयनका लागि आउँदो माघ ७ गतेभित्र तीनै तहको निर्वाचन गरिनु पर्नेमा जोड दिँदै महामन्त्री कोइरालाले सबै निर्वाचन गराउने अभिभारा काँग्रेसको काँधमा आएको धारणा पनि राखे । मुलुकमा अझै धेरै परिवर्तन गर्न बाँकी रहेको बताउँदै महामन्त्री कोइरालाले राजनीतिक उपलब्धि प्राप्त भइसकेकाले अब आर्थिक समृद्धिको बाटोमा देशलाई अघि बढाउनुपर्नेमा जोड दिए ।
काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले ‘राजनीतिक सङ्क्रमण : नेपाली काँग्रेस र अबको बाटो’, विश्व सिग्देलले नेपाली काँग्रेसको सुदृढीकरणमा नेतृत्वको भूमिका, प्राध्यापक रामचन्द्र पोखरेलले प्रजातन्त्रको स्थापनामा कृष्णप्रसाद कोइरालाको योगदान विषयमा कार्यपत्र प्रस्तुत गरे । कार्यक्रममा पूर्व महामन्त्री तारानाथ रानाभाट, सांसदहरु यज्ञबहादुर थापा, शारदा पौडेल, पूर्व सांसद शुक्रराज शर्मा, काँग्रेस नेताहरु देवराज चालिसे, खेमराज पौडेललगायत सहभागि भए ।