arrow

संविधान संशोधन नभए निर्वाचनमा भाग लिन्न : गच्छदार

logo
प्रकाशित २०७३ माघ २२ शनिबार
Gachhadar.jpg.jpeg

लहान । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले परिमार्जनसहित संविधान संशोधन प्रस्ताव पारित नभएसम्म आफ्नो पार्टीले निर्वाचनमा भाग नलिने बताएका छन् । सिरहाको गोलबजारमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष गच्छदारले संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पास नहुन्जेलसम्म निर्वाचन हुनै नसक्ने र भए पनि आफ्नो पार्टीले निर्वाचनमा भाग नलिने बताएका हुन् ।

सरकार संविधान संशोधन नगरी हावाको भरमा चुनावको घोषणा गर्न लागेको बताउँदै गच्छदारले यथास्थितिमा सार्थक निर्वाचन सम्भव नहुने जिकिर समेत गरे । मुलुकको अवस्था अत्यन्त सङ्कटपूर्ण अवस्थामा रहेका कारण विकाससमेत अवरुद्ध भएको बताउँदै पूर्व उपप्रधानमन्त्री गच्छदारले ठूला दलका नेताहरु देशको समस्याप्रति गम्भीर हुन नसकेको आरोपसमेत लगाए ।

संविधानसभामार्फत जनपक्षीय संविधान बनाउने जनताको चाहना अझै पनि पूरा हुन नसकेको गुनासो गर्दै उनले भने, ‘संविधान त बनेको छ तर, त्यो मधेसी, जनजाति, थारुलगायतलाई स्वीकार्य छैन, यसलाई आवश्यक परिमार्जनसहित संशोधन गर्नुपर्छ ।’ परिमार्जनसहित संविधान संशोधन भएपछि मात्र निर्वाचनको वातावरण बन्ने गच्छदारको भनाइ छ । कार्यक्रममा केन्द्रीय उपाध्यक्ष जितेन्द्रनारायण देव, महिला नेत्री गीतादेवी चौधरी, युवा फोरमका केन्द्रीय अध्यक्ष बेदनारायण गच्छेदार लगायतले बोले ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ