arrow

भाइटीकाः दाजुभाइ-दिदीबहिनी बीचको प्रेम, सद्भाव र वैदिक संस्कृतिको पर्व [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ६ बिहिबार
uttam-neupane.jpg

काठमाडौँ । यमपञ्चकको अन्तिम दिन मनाइने भाइटीका पर्व आज देशभर उत्साह, उमङ्ग र प्रेमसाथ मनाइँदैछ ।

दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायू, समृद्धि र सौभाग्यको कामना गर्दै सप्तरंगी टीका लगाइदिने र मखमली माला अर्पण गर्ने यो पर्व दाजुभाइबीचको आत्मीय सम्बन्ध, संस्कार र संस्कृतिको प्रतीकका रूपमा मनाइन्छ ।

भाइटीकाको प्रारम्भ यम र यमुनाबीचको पौराणिक कथासँग सम्बन्धित मानिन्छ । पाँच दिनसम्म यमराज आफ्नी दिदी यमुनाको घरमा अतिथि बनेर बस्दा दिदीले भाइको दीर्घायूका लागि गरेको पूजाको उदाहरणबाट प्रेरित भएर यो पर्व सुरु भएको बताइन्छ । त्यसैले आजको दिन दिदीबहिनीले दाजुभाइलाई टीका लगाउँछन, मीठा परिकार खान दिन्छन् र ओखर, कटुस र भाइमसलाहरू अर्पण गर्दछन् ।

भाइटीकामा प्रयोग गरिने सप्तरंगी टीका (रातो, सेतो, पहेंलो, बैजनी, हरियो, निलो र कालो) ईन्द्रणीको प्रतीकका रूपमा लिइन्छ । यसैगरी कहिल्यै नओइलाउने मखमली माला स्थायी प्रेम र सम्बन्धको प्रतीक मानिन्छ । टीका लगाउने क्रममा अष्ट चिरञ्जीविको पूजा गरी दिदीबहिनीले भाइको दीर्घायू र सुखको कामना गर्छन् ।

यस दिन ओखर फुटाउने र खाने चलनले पनि विशेष अर्थ बोकेको छ । ओखरले हाड मजबुत पार्ने, रोगव्याधी हटाउने र शरीरलाई शक्ति दिने विश्वास छ । यसैगरी कटुस र भाइमसला शरीरलाई ऊर्जा दिने तत्वका रूपमा मानिन्छ । दिदीबहिनीले दाजुभाइलाई मिष्ठान्न परिकार, फलफूल, वस्त्र तथा भेटी अर्पण गर्छन् भने दाजुभाइले दिदीबहिनीलाई माया र आशिर्वादका प्रतीकस्वरूप उपहार प्रदान गर्छन् ।

जसका आफ्ना दाजुभाइ वा दिदीबहिनी छैनन उनीहरूले काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा गएर टीका लगाउने परम्परा पनि छ । उक्त मन्दिर वर्षमा यही दिन मात्रै खुल्ने गर्छ ।

भाइटीका केवल दाजुभाइबीचको पर्वमात्र होइन, यो नेपाली समाजको साझा संस्कृति, प्रेम, सहिष्णुता र पारिवारिक एकताको प्रतिक हो । वैदिक परम्परा, लोक संस्कृति र वैज्ञानिक मान्यतासँग जोडिएको यो पर्वले नेपालमा रहेका विभिन्न जातजाति, धर्म र संस्कृतिका मानिसलाई एकताको सूत्रमा बाँध्ने कार्य गरेको छ ।

नेवारी समुदायमा यस पर्वलाई “किजा” भनिन्छ र सोही दिन आत्मपूजा अर्थात् “म्हपूजा” गर्ने चलन पनि छ । 

यसरी भाइटीका बहुआयामिक सांस्कृतिक, धार्मिक र सामाजिक महत्व बोकेको पर्व हो । जसले नेपालीपन, माया र पारिवारिक सम्बन्धलाई अझ गहिरो बनाउँछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ