arrow

इलामको दुई शताब्दी पुरानो लाप्चा गुम्बा जीर्ण बन्दै

logo
सुदीप श्रेष्ठ,
प्रकाशित २०७२ पुष ८ बुधबार
gumba-helambu.jpg.jpeg
इलाम । सूर्योदय नगरपालिकाको फिक्कलमा रहेको इलामका लोपोन्मुख लाप्चा समुदायको पहिचान बोकेको दुई शताब्दी पुरानो ऐतिहासिक गुम्बा संरक्षण नहुँदा जीर्ण बन्दै गएको छ । गोदक, सूर्यादय नगरपालिका, कोल्बुङ, पशुपतिनगर, नयाँबजार, जोगमाइलगायत १५ गाविस र नगरपालिकामा मात्र बसोबास गर्ने लाप्चा जातिको ऐतिहासिक गुम्बा संरक्षण नहुँदा भत्किन थालेको छ । संरक्षणको अभावमा गुम्बा भत्किएर स्वरूप फेरिँदै गएको छ । 
 
समयमै गुम्बाको जीर्णोद्धार नगरे लाप्चाको ऐतिहासिक पहिचान मेटिने भएको छ । गुम्बा लोपोन्मुख लाप्चाको अध्ययन केन्द्रको रूपमा रहेकोले इतिहाससमेत समाप्त हुने सरोकारभएकाहरु बताउँछन् । फिक्कलको कजेनीमा ६५ रोपनी क्षेत्रफल गुम्बा परिसरले ओगटेको छ । करिब २०० वर्ष पुरानो गुम्बा संरक्षणका लागि पहल गर्न जिल्ला विकास समिति र सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई अनुरोध गरेपनि अहिलेसम्म कुनै सहयोग प्राप्त नभएको लाप्चा उत्थान मञ्चका अध्यक्ष वीरबहादुर लाप्चाले बताउनुभयो । 
 
भत्किएको गुम्बामै अहिले दैनिक बिहान र बेलुकी, औँसीमा पूजाआजा हुने गर्दछ । बुद्धजयन्तीका दिन भने विशेष पूजा गरिँदै आएको गुम्बाका पुजारी सोनाम लाप्चा बताउँछन् । गुम्बा ऐतिहासिक महत्वको भएकाले संरक्षणका लागि सरकारी निकायले चासो दिनुपर्ने स्थानीय लाप्चा समुदायको भनाइ छ । 
 
गुम्बामा ४० वर्षअघि चोरी हुँदा ऐतिहासिक दस्तावेज, पुराना अभिलेखसमेत हराएका थिए । त्यसबखत महत्वपूर्ण अभिलेख र बहुमूल्य सुन, हिरा, मोतीलगायत धातुका मूर्ति चोरी भएको सूर्याेदय नगरपालिकाका काजीमान कागते बताउनुहुन्छ । त्यतिबेलै गुम्बाको अभिलेख हराएकाले २०० वर्षभन्दा पुरानो हुनसक्ने उहाँको भनाइ छ । 
 
पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नुपूर्व पूर्वी क्षेत्रमा बसोबास गर्दै आएका लाप्चा समुदायले गुम्बा बनाएको हुनसक्ने स्थानीयबासी बताउँछन् । सुरूमा काठ बङ्ग्याएर कलात्मक आकृतिमा निर्माण गरी खरको छानाले छाएको भए पनि पछि गुम्बा संरक्षण समितिले ६५ रोपनी क्षेत्रफलमा रहेको रूख बिक्री गरी जस्ताको छाना लगाइएको छ । गुम्बामा स्थानीय लाप्चा समुदायसँगै बौद्ध धर्ममा आस्था राख्ने अन्य समुदायले पूजाआजा गर्दै आएका छन् । प्राचीन शासक भनेर चिनिने लाप्चा समुदायले गुम्बालाई आफ्नो शक्तिपीठका आधारमा प्राचीनकालमा पूजा गर्दै आएको स्थानीय जानकार बताउँछन् । 
 
लाप्चा समुदायले गुम्बामा दैनिक पुजा गर्दै आएका छन् । विसं २०४६ सालपछि स्थानीय विकास मन्त्रालयबाट गुम्बा संरक्षणका लागि रु ३० हजार मात्र सहयोग प्राप्त भए पनि हालसम्म स्थानीयबाटै सहयोग जुटाएर सञ्चालन गर्दै आएको बताइएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ