arrow

रच्यो हुम्लाले इतिहास, पहिलो पटक सिजेरियन शल्यक्रिया सफल

logo
जनकबहादुर शाही, 
प्रकाशित २०८२ कार्तिक १७ सोमबार
medical-82-7-17y.jpg

हुम्ला । कठिन भौगोलिक अवस्था, सीमित स्रोतसाधन र न्यून जनशक्तिका बीच पनि हुम्ला जिल्ला अस्पतालले असम्भवलाई सम्भव बनाएको छ। पहिलोपटक पूर्वनिर्धारित सिजेरियन शल्यक्रिया सफलता पूर्वक सम्पन्न गर्दै हुम्ला जिल्लाले स्वास्थ्य सेवाको इतिहासमा नयाँ अध्याय लेखेको छ।

स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख एमडीजीपी डा. उमाकान्त तिवारीको नेतृत्वमा सिमकोट–२ ठेहेकी २१ वर्षीया हिरा सुनारको पूर्वनिर्धारित सिजेरियन शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको हो।

अस्पतालकी सिनियर अनमी सरिता बोहोराका अनुसार तीन वर्षअघि सुर्खेतमा पहिलो सन्तानका रूपमा छोरी जन्माएकी सुनारले यसपटक जिल्ला अस्पतालमै सुरक्षित रूपमा दोस्रो सन्तानलाई जन्म दिएकी हुन्। अहिले आमा र नवजात शिशु दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।

डा. तिवारीको नेतृत्वमा नर्सिङ स्टाफ कंचन चौधरी, शर्मिला गिरी, सरिता बोहोरा र पारामेडिक्स प्रेम भण्डारी सम्मिलित टोलीले असाधारण समर्पण र पेशागत दायित्वसहित यो शल्यक्रिया सम्पन्न गरेको हो। अस्पताल परिवारले उक्त टोलीप्रति हार्दिक आभार व्यक्त गर्दै “यो सफलता हुम्लाको सम्पूर्ण स्वास्थ्यकर्मीहरूको सामूहिक मनोबल र समर्पणको प्रतिफल भएको बताएको छ ।

हामीसँग स्रोत र साधन सीमित भए पनि हाम्रा स्वास्थ्यकर्मीहरूको आत्मविश्वास असीम छ। यही आत्मविश्वासका कारण हामीले हुम्लामा पनि यस्तो सेवा सम्भव बनाएका हौं। हुम्ला जस्तो दुर्गम जिल्लामा जहाँ जटिल शल्यक्रिया विरलै सञ्चालन हुने गर्छ, त्यहाँ यो सफलता केवल चिकित्सा उपलब्धि मात्र होइन, स्थानीय नागरिकका लागि ठूलो राहत र आशाको किरण बनेको डा. तिवारीले बताए ।

अस्पताल विकास समितिका अध्यक्ष दीपक भण्डारीले भने, हाम्रा चिकित्सक र स्वास्थ्यकर्मीहरूले सीमित स्रोतबीच पनि असाधारण काम गरेर हुम्ला जिल्ला अस्पतालको आत्मविश्वास र क्षमतामा नयाँ ज्योति भरेका छन्। यो उपलब्धिले हामीलाई आगामी दिनमा अझ सशक्त र सक्षम स्वास्थ्य सेवा विस्तारको प्रेरणा दिएको छ।

यो सफल शल्यक्रियाले देखाएको छ ,जब मनोबल उच्च हुन्छ, दुर्गमता र अभावले पनि बाटो रोकेर राख्दैन। हुम्ला जिल्ला अस्पतालको यो उपलब्धि सम्पूर्ण हुम्लावासीका लागि गर्व र आशाको विषय बनेको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ