इलाममा बाढीपहिराले गर्यो ११ अर्ब ८१ करोड बढीको क्षति, ३९ जनाको मृत्यु
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १८ मंगलबार
1k
Shares
इलाम। गत असोज १८ र १९ गतेको अविरल वर्षापछिको बाढीपहिराले इलाम जिल्लामा रु ११ अर्ब ८१ करोड ७९ लाख ८५ हजार ७०३ बराबरको ठूलो क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिए अनुसार, यो क्षति जिल्लाका विभिन्न सडक, पुल, भवन, खानेपानी, सिँचाइ, पशुपन्छी र कृषिजन्य क्षेत्रमा भएको हो।
जिल्ला प्रशासन कार्यालयले सडक डिभिजन, पूर्वाधार विकास कार्यालय, नेपाल विद्युत् प्राधिकरण, जलस्रोत तथा सिँचाइ डिभिजनसहित ११ वटा विषयगत कार्यालयबाट क्षतिको प्रारम्भिक विवरण सङ्कलन गरेको हो। बाढीपहिरोबाट सडक डिभिजनअन्तर्गतका ११ आयोजनामा रु छ अर्ब ९६ करोड ४५ लाख र पूर्वाधार विकास कार्यालयअन्तर्गत ६२ सडकमा रु दुई अर्ब ३४ करोड ६५ लाख, २५ वटा पुलमा रु ८५ करोड तथा छवटा भवनमा रु चार करोड बराबरको क्षति पुगेको छ।
नेपाल विद्युत् प्राधिकरणअन्तर्गत पाँचवटा आयोजनाको एचटी लाइन, एलटी लाइन र ट्रान्सफर्मरमा रु दुई करोड ४७ लाख ३५ हजार ९५२ बराबरको क्षति भएको छ। त्यसैगरी, जलस्रोत तथा सिँचाइ विकास डिभिजनअन्तर्गत १६ नदी नियन्त्रण आयोजनाको रु १३ करोड ४६ लाख ६९ हजार र ७२ सिँचाइ आयोजनामा रु १७ करोड ७१ लाख ५९ हजार बराबरको क्षति भएको जनाइएको छ।
कृषि क्षेत्रतर्फ, भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रअन्तर्गत २ हजार ५२० वटा पशुपन्छीमा रु दुई करोड ३५ लाख ७६ हजार र २ सय ४४ वटा गोठ तथा पोखरीमा रु एक करोड ९७ लाख ५४ हजारको क्षति भएको छ। कृषि ज्ञान केन्द्रअन्तर्गत ३ हजार ४०९ किसानले ८९२ दशमलव ३२ हेक्टर क्षेत्रमा लगाएको खाद्य तथा नगदेबालीमा रु २७ करोड ४९ लाख ९५ हजार ७५० र २५ चिया बगानमा रु चार करोड ७५ लाख ५० हजार बराबरको क्षति भएको छ। खानेपानीका २ सय ५२ आयोजनामा रु ५६ करोड ७६ लाख बराबरको क्षति पुगेको छ भने नेपाल टेलिकमअन्तर्गत १० अप्टिकल फाइबर तथा केवलमा रु पाँच लाख आठ हजारको क्षति भएको छ।
बाढीपहिरोबाट जिल्लामा ३९ जनाको ज्यान गएको थियो भने २६ जना घाइते भएका थिए र एक जना अझै बेपत्ता छन्। जिल्लाको १० स्थानीय तहमा ३ सय ६५ घर पूर्ण र ९ सय ४० घरमा आंशिक क्षति पुग्दा ७ सय ११ घरपरिवार विस्थापित भएका छन्। विस्थापितमध्ये ७ सय परिवार आफन्तको घरमा र ११ परिवार सामुदायिक भवनमा बसिरहेको जिल्ला प्रशासनले जनाएको छ। क्षतिको विवरण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, गृह मन्त्रालय र सम्बन्धित विषयगत मन्त्रालयमा पठाइसकिएको प्रजिअ नेपालले बताए।