कांग्रेस नेताहरू भन्छन् - निर्वाचनअघि नै नियमित महाधिवेशन गरौँ [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १८ मंगलबार
1k
Shares
काठमाडौँ । यतिबेला नेपाली कांग्रेस भित्र विशेष महाधिवेशन गर्ने कि नियमित महाधिवेशन गर्ने विषयमा वहस चर्किएको छ । महामन्त्री गगन थापाले नियमित महाधिवेशनको कार्यतालिका समेत पेस गरिसकेका छन् ।
फागुन २१ गते प्रतिनिधिसभाको चुनाव पनि नजिकिँदै गएकाले फागुन अघि नै महाधिवेशन गर्नुपर्ने पक्षमा डा.शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतका नेताहरूले दबाब बढाइरहेका छन् भने कार्यवाहक सभापति पूर्णबहादुर खड्का समूह बैशाखमा नियमित महाधिवेशन गर्ने पक्षमा देखिएको छ ।
यतिबेला कांग्रेसभित्र महाधिवेशनको वहस पेचिलो बनिरहेको छ । तर नेपाल लोकतान्त्रिक अपांग संघका अध्यक्ष माधव चौलागाईले यतिबेला पार्टी र देशमा परिवर्तन चाहिएको र पुनर्जागरण एवं पुनर्संरचना चाहिएकाले पार्टीलाई एकढिक्का बनाएर अघि लैजानुपर्ने बताए । उनले आम कार्यकर्ताको भावना अनुसार सबै परिवर्तन हुन आवश्यक रहेको बताए ।
‘विशेष र नियमित महाधिवेशनको कुराहरू चलिरहेको छ । खासमा अहिले परिवर्तन चाहिएको छ । यो कुन पक्षमा भन्दा पनि अहिले महाधिवेशन चाहिएको हो । पार्टीभित्र पुनर्जागरण एवं पुनर्संरचना चाहिएको हो । पार्टीलाई एक ढिक्का बनाएर अघि पर्नेछ । आम कार्यकर्ताको भावनाअनुसार तलदेखि माथिसम्म सबै परिवर्तन हुन जरुरी छ’, उनले भने ।
कांग्रेस केन्द्रीय सदस्य मधु आचार्यले महाधिवेशनबारे ठूलो समस्या नरहेको बताउँछन् । उनले निर्वाचन अघि विशेष महाधिवेशन भएता पनि निर्वाचन पछि भने नियमित महाधिवेशन हुने पनि बताए । उनले १५औँ महाधिवेशन निर्वाचनपछि गर्ने पनि जानकारी दिए ।
उनले जेन-जी आन्दोलनपछि नयाँ आशा पलाएको बताउँदै नीति, नेता, र कार्यक्रमका हिसाबले पनि नयाँ कांग्रेस आगामी चुनावमा लिएर जान चाहेकाले पनि महाधिवेशन जरुरी रहेको बताए । उनले अहिले नियमित महाधिवेशन गर्न समयका हिसाबले सम्भव नभएका कारण हाल बिशेष महाधिवेशनको तयारी गर्नुपर्ने औंँल्याए ।
‘महाधिवेशन बारे चाँडै टुंगो लाग्छ । किनभने धेरै समय छैन, समस्या पनि धेरै छैन निर्वाचन अघि विशेष महाधिवेशन हुन्छ । निर्वाचन पछि भने नियमित महाधिवेशन हुन्छ । दुईटै महाधिवेशन हुन्छ । १५औँ महाधिवेशन चुनावपछि गर्छौँ र त्यो त्यो नियमित अधिवेशनमा हुनेछ । भदौ २३ र २४ को जेनजी आन्दोलनपछि नयाँ आशाहरु सन्चार भएको छ । त्यसलाई कांग्रेस सम्बोधन गर्न चाहन्छ’, उनले भने ।
‘नीति, नेता र कार्यक्रमका हिसाबले पनि नयाँ कांग्रेस चुनावमा लिएर जान चाहन्छौँ । त्यसका लागि महाधिवेशन जरुरी भयो । नियमित गर्न समयको सम्भव नभएकाले विशेष गर्न लागेको हो । नियमित भने चुनाव पछाडि हुन्छ’, उनले भने ।
महाधिवेशनका कारण निर्वाचनलाई केही पनि असर नगर्ने भन्दै विशेष महाधिवेशनको तयारी निर्वाचनकै लागि गरेको समेत उल्लेख गरे। उनले विशेष महाधिवेशन नै निर्वाचनको तयारी रहेको बताए। केन्द्रीय समितिको बैठकले विशेष महाधिवेशनको निर्णय लिनेसमेत बताए ।
उनले विशेष महाधिवेशनमा नयाँ पुस्तालाई पनि भव्यरुपमा स्वागत गर्ने दाबी गरे । विशेष महाधिवेशनमा जेनजी पुस्तालाई वा नयाँ पुस्तालाई भित्र्याउने नीति पनि पारित हुने भन्दै उनीहरूलाई नेतृत्वमा ल्याउन आफूहरू तयार रहेको बताए ।
कांग्रेस लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठले अहिले बहुमत संख्यामा महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गरिरहेका कारणले पनि जतिसक्दो छिटो महाधिवेशन गरिसक्नुपर्ने बताए । यदि अहिलेको कार्य समितिले महाधिवेशन गर्न नसक्ने हो भने आफू बिदा लिएर मार्ग प्रशस्त गर्नका लागि पनि आग्रह गरे । उनले विशेष महाधिवेशनलाई नकार्ने अधिकार अहिलेको केन्द्रीय समितिलाई नभएको बताए ।
‘वास्तवमा जतिसक्दो छिटो अधिवेशन हुनु जरुरी छ । महाधिवेशन हुनुपर्छ । वास्तवमा विशेष वा नियमित अधिवेशन हुनैपर्छ । मंसिरभित्रै अधिवेशन होस् भन्ने चाहना हो । त्यो यदि हुन सकेन भने अहिले बहुमत संख्या महाधिवेशनका साथीहरूले विशेष महाधिवेशनको माग गरिसकेको अवस्था छ त्यसकारण जतिसक्दो छिटो महाधिवेशन होस्,’ उनले भने ।
कांग्रेस धनकुटा जिल्ला सभापति दिनेश राईले अहिलेको समयमा महाधिवेशन अनिवार्य रहेको बताएका छन् । उनले जेन-जी आन्दोलनपछि नयाँ सोच र नयाँ नीति आउनपर्छ भन्ने सन्देश फैलिएका कारणले पनि अहिले त्यसै सन्देशको पक्षमा उभिएको पनि बताए । उनले अब सच्चिएर र सुधारिएर, नयाँ नीति अथवा जनतालाई पच्ने नीति लिएर आउ भन्नेमा सन्देशमा साथ रहेको पनि बताए । ‘यो महाधिवेशन अनिवार्य छ । जेनजी प्रोटेस्टले मागेको नयाँ नेतृत्व हो’, उनले भने ।
कांग्रेस चितवन निवर्तमान सभापति जीतनारायण श्रेष्ठले जेनजीको नाममा जुन आन्दोलन भएको छ त्यो जेन-अल्फा मतदाता भएर आउन लागेको बताए । उनले स्वाभाविक रूपमा प्रकृतिको नियमलाई पनि बुझ्नपर्ने औँल्याए । ‘अहिले पनि कांग्रेसमा प्रशस्त युवाहरू कांग्रेसको राजनीतिमा जोडिएका छन् र जोड्न चाहन्छन् । विशेष अधिवेशनले पनि विशेष व्यवस्था गर्न सक्छ । अहिले विषम् परिस्थितिमा विशेष अधिवेशन केन्द्रीय नेतृत्व जिम्मेवार भएनन् भने फेरि विशेष अधिवेशनमा जान्छ । अहिले जुन जेनेरेसन छ, जेनजीको नाममा आन्दोलन भएको छ त्यसबाट जेन अल्फा मतदाता भएर आउँदैछन् । स्वाभाविक रूपमा प्रकृतिको नियमलाई पनि बुझ्नुपर्यो नि’, उनले भने ।
कांग्रेसको महाधिवेशन प्रतिनिधि रेणुका काउचा मगरले परिवर्तनको लागि भएता पनि महाधिवेशन हुनपर्ने बताइन्। उनले नेपाल सरकारले निर्वाचनको मिति तोकिएका कारणले पनि समयमै महाधिवेशन गरिसक्नुपर्ने बताइन् ।