नागरिकताको दुरूपयोग गरी नागरिकको निक्षेप लुट्न खोज्ने भारतीय महिलालाई उन्मुक्ति
दीपेन्द्र चौहान,
प्रकाशित २०८२ कार्तिक १८ मंगलबार
1.2k
Shares
वीरगञ्ज । नेपाली नागरिकताको दुरुपयोग गरी नेपालमा उद्योग–धन्दा खोल्ने नाममा सर्वसाधारणको निक्षेप लुट्न खोज्ने एक भारतीय महिलाले उन्मुक्ति पाएको पोल खुलेको छ।
रक्सौलमा प्रतिष्ठित मानिने रिपुसुदन प्रसादसँग अढाई दशक अगाडि बलराम कलवारकी माइली छोरी प्रीति कुमारीको बिहे भएको थियो। प्रीति कुमारीबाट रिपुसुदनकी श्रीमती बनेपछि प्रीति देवी बनेकी उनको नाम अहिले भारतीय निर्वाचन आयोगको सूचीमा भए पनि अर्का एक विवादास्पद, हाल भेप तस्करी काण्डमा नेपाल प्रहरी र अवैध केराउ आयात काण्डमा वीरगञ्ज भन्सार कार्यालय, अवैध पोस्ता दाना आयात काण्डमा विराटनगर भन्सार कार्यालयले खोजी गरिरहेका फरार व्यवसायी पवनकुमार साह उर्फ त्रिभुवनको छोरा शिवमसँग मिलेर नेपालमा एक उद्योगको स्थापना गरेकी छिन् ।
प्रीति र शिवमको नाममा बाराको नितनपुरमा शिवम आयल रिफाइनर्स प्रा.लि. नामक उद्योग खोली अधिकृत पुँजी २५ करोड र चालु पुँजी ११ करोड देखाइएको छ।
प्रीति कुमारीले उद्योग सञ्चालनको नाममा अत्यन्त कम सम्पत्ति धितो राखेर बैंकबाट २७ करोड ऋण स्वीकृत गराएकी छिन् । काठमाडौँ महानगरपालिका वडा नं. २४ स्थित ४५.७१ वर्ग मिटरमा बनेको घर र वीरगञ्ज महानगरपालिका वडा नं. ६ मा एक कठ्ठामा बनेको घर धितो राखेर ग्लोबल आई.एम.इ. बैंक कमलादीबाट २७ करोड बराबरको ऋण स्वीकृत गराएकी छिन् ।
प्रीतिकी आमा शान्तिदेवी कलवारको नाममा रहेका दुवै घरको अधिकतम मूल्य पाँच करोड रहेको छ। अंश मुद्दामा प्रीति र उनका काका–छोराहरूबीच लफडा बढेपछि पर्दाफास भएको यो घोटालामा जिल्ला प्रशासन कार्यालय पर्सा सक्रिय भएर असोज २७ गते पत्र संख्या २०८२/०८३ चलानी, स्था.प्र.१३६ बाट जिल्ला प्रहरी कार्यालय पर्सालाई सक्कल नागरिकता सहित प्रीति कुमारीलाई आफ्नो कार्यालयमा उपस्थित गराउन पत्र लेख्यो ।
जिल्ला प्रहरी कार्यालय पर्साको उजुरी छानबिन शाखाले असोज २९ गते वडा प्रहरी कार्यालय विर्तालाई पत्र लेखी प्रीति कुमारीलाई सक्कल नागरिकता सहित जिल्ला प्रशासन कार्यालय पर्सामा उपस्थित गराई आफूलाई जानकारी गराउन पत्र लेख्यो ।
यहीबीच प्रीति देवीका भतिज रिशुसुदनको कात्तिक १७ गते होटल क्लार्कमा टीको–टालो सम्पन्न भएको बुझिएको छ । भारतको बिहार राज्यमा नितिश कुमारको सरकारले विगत केही वर्षदेखि शराबबन्दी गरेकोले हुनेखाने धनाढ्यहरूले विवाह, छेका समारोह नेपालका सीमाक्षेत्रका सुविधा सम्पन्न होटलमा गर्ने गरेका छन् ।
सोमबार वीरगञ्ज महानगरपालिका वडा नं. १४ स्थित चार तारे क्लार्क रिसोर्टमा अतिथिहरूको स्वागत–सत्कारको प्रमुख भूमिकामा रिपुसुदन र उनकी श्रीमती प्रीति सुदन नै खटेका थिए ।
सुरासुन्दरी सहितको भोज राति अबेरसम्म चलेको थियो। सो भोजमा पवनकुमार साह उर्फ त्रिभुवन पनि थिए । राज्यले खोजी गरी रहेको ब्यक्ति हरु खुलेआम सार्वजनिक समारोहमा उपस्थित भएर सरकारको शून्य सहनशीलताको नीतिलाई धज्जी उडाइदिएका छन् ।
रिपुसुदनका बुबा स्व. लक्ष्मणप्रसाद एक प्रतिष्ठित व्यवसायी थिए तर छोरा रिपुसुदनको गडबड धन्धाले परिवारको मर्यादा र सम्मानमा विगत केही वर्षदेखि कमी आएको बताइन्छ ।
रिपुसुदनले इन्डियन ओभरसिज बैंकबाट ७० करोड ऋण लिएर लसुन र मकैको धन्दा गरिरहेको एक व्यापारीले बतायो । तेस्रो मुलुकबाट नेपाल भित्र्याई यहाँको नवलपरासी र मलंगवा बोर्डरबाट भारततर्फ तस्करी गर्ने रिपुसुदनले भारत हरसिधी घर भई वीरगञ्जमा व्यवसाय गरी बसेका मुकेश अग्रवालको करोडौँ रुपैयाँ खाएको र ससुरालीको सम्पत्तिमाथि आँखा लगाएको आरोप लागेको छ ।