arrow

कांग्रेस महाधिवेशन समयमै हुनुपर्छः नेता शाही

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २१ शुक्रबार
ain-bdr-shahi-thakuri.jpg

काठमाडौँ । नेपाली कांग्रेस मुगुका सभापति ऐनबहादुर शाही ठकुरीले कांंग्रेसको १५औँ महाधिवेशन सबै पक्षको सहमतिमा समयमै हुनुपर्ने बताएका छन् ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशनका दुई मिति प्रस्ताव भएको सन्दर्भमा नेता शाहीले सञ्चारकर्मीसँग कुरा गर्दै दुवै पक्षले सहमति गरी सबैलाई मान्य हुनेगरी महाधिवेशन गर्न आग्रह गरेका हुन् ।

उनले भने, “पन्ध्रौँ महाधिवेशन गर्नुपर्ने मितिका सम्बन्धमा पार्टीमा अहिले दुई धार देखिएको छ, दुई पक्ष बसेर सहमतिका साथ सबैलाई मान्य हुनेगरी मिति प्रस्ताव गर्दा उपयुक्त हुन्छ ।”

जेन-जी आन्दोलनको भावनाअनुसार कांग्रेस पार्टी पनि अघि बढ्नुपर्ने धारणा व्यक्त गर्दै नेता शाहीले कांग्रेसको आगामी महाधिवेशनमा युवाको प्रतिनिधित्व बढाउन सहभागिता सुनिश्चित गर्नुपर्ने उल्लेख गरे ।

यही कात्तिक १८ गतेको केन्द्रीय समिति बैठकमा महामन्त्री गगनकुमार थापा र सहमहामन्त्री महेन्द्र यादवले महाधिवेशनसम्बन्धी छुट्टाछुट्टै दुई तालिकासहितका व्यक्तिगत प्रस्ताव प्रस्तुत गरेका थिए ।

महामन्त्री थापाले आगामी पुस १६ देखि १९ गतेसम्म र सहमहामन्त्री महेन्द्र यादवले २०८३ वैशाख २७ देखि ३० गतेसम्म १५औँ महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए ।

कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले भने महाधिवेशनका सन्दर्भमा साझा कार्यतालिका प्रस्तुत गर्नेगरी केन्द्रीय समिति बैठकमा छलफल भइरहेको जानकारी दिए ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा गत असोज २८ गतेदेखि कांग्रेस केन्द्रीय समिति बैठक जारी छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ