arrow

रास्वपाको विस्तारित बैठक सम्पन्न

निर्वाचनमा रास्वपा सक्रिय सहभागी हुने, छ महिनाभित्र महाधिवेशनको तालिका ल्याइने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २३ आइतबार
raswapa.jpg

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दुईदिने विस्तारित बैठक शनिबार राति सौराहामा सम्पन्न भएको छ। बैठकले आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सरकारसहित सम्पूर्ण राजनीतिक दलहरूलाई ध्यानाकर्षण गराएको छ।

रास्वपाले निर्वाचन प्रक्रियामा छिटफुट असन्तुष्टिहरू रहे पनि सक्रिय सहभागी भई लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ पार्न सबै दलहरूलाई आह्वान गरेको छ। पार्टीका प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिअनुसार, रास्वपाले घोषित निर्वाचनको परिणाम देश, जनता र पार्टीको सर्वोपरी हितमा हुनेगरी जनमत निर्माणमा लाग्न आफ्ना सम्पूर्ण संरचना, सदस्य र शुभेच्छुकलाई आग्रह गरेको छ।

पार्टीलाई नेपाली जनताको प्रिय र विश्वासयोग्य शक्ति बनाउन रास्वपाले आन्तरिक लोकतन्त्रको सुदृढीकरण र समावेशितालाई व्यवस्थित गर्ने निर्णय गरेको छ। पार्टी रूपान्तरणका आवाज र प्रस्तावहरूलाई विधि–प्रक्रियाअन्तर्गत सम्बोधन गर्ने तथा निर्णय प्रक्रियामा सबै तहका समिति र सदस्यहरूको सहभागिता सुनिश्चित गर्ने वातावरण बनाउने निर्णय भएको छ।

यसका साथै, देशमा बलियो वैकल्पिक राजनीतिक शक्तिको निर्माणका लागि ध्रुवीकरण अपरिहार्य रहेको निष्कर्ष निकाल्दै, समान विचार भएका परिवर्तनकारी शक्तिहरूसँग संवाद, सहमति र सहकार्यमा जोड दिन केन्द्रीय समितिलाई विशेष आग्रह गरिएको छ।

बैठकले जेनजी आन्दोलनका क्रममा भएका मानवता विरोधी घटनाहरूको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न र आगामी दिनमा राज्यका निकायहरूमा जेनजी आन्दोलनको भावनाअनुरूप उनीहरूको सहभागिता सुनिश्चित गर्न माग गरेको छ।

प्रतिनिधिसभा सदस्यको निर्वाचन फागुन २१ गते हुने भएकाले पूर्वघोषित मिति (फागुन ७–९) मा महाधिवेशन गर्न नसकिने महसुस गर्दै, बैठकले ६ महिनाभित्र महाधिवेशन गर्नेगरी तालिका ल्याउन केन्द्रीय समितिलाई आग्रह गरेको छ।

केन्द्रीय समितिका सदस्यसहित देशभरबाट आमन्त्रित पाँच सय १२ प्रतिनिधि सहभागी रहेको उक्त बैठकमा कार्यवाहक सभापति डिपी अर्याल, उपसभापति डा. स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी, सहमहामन्त्री विपिनकुमार आचार्य र सचिवालय सदस्य दीपक बोहराले विभिन्न प्रतिवेदनहरू पेस गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ