पूर्व निर्वाचन आयुक्तहरूको जोड: तोकिएकै मितिमा निर्वाचन गराउन सरकारले स्रोत साधन उपलब्ध गराओस्
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २४ सोमबार
810
Shares
काठमाडौँ । निर्वाचन आयोगका पूर्वपदाधिकारीहरूले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचन समयमै सम्पन्न गराउनका लागि सरकारले निर्वाचन आयोगलाई सबै खालका स्रोत साधनको व्यवस्था गर्न आवश्यक रहेको बताएका छन्।
सोमबार निर्वाचन आयोगले आयोजना गरेको निर्वाचन सम्बन्धी परामर्श कार्यक्रममा बोल्दै पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती र पूर्व कार्यवाहक प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङसहितका पूर्वपदाधिकारीहरूले तोकिएको निर्वाचन सम्पन्न गराउन सरकारले आवश्यक वातावरण बनाउनुपर्ने बताएका हुन्। उनीहरूले निर्वाचनको विकल्प नभएकाले सबै लोकतन्त्रवादी दलहरू सो निर्वाचनमा भाग लिने जिकिर समेत गरे।
पूर्व कार्यवाहक प्रमुख निर्वाचन आयुक्त गुरुङले निर्वाचन आयोगको तर्फबाट राजनीतिक समस्या समाधान गर्ने काम सरकार र राजनीतिक दलहरूको भएको उल्लेख गर्दै विदेशमा रहेका नेपालीहरूलाई पनि मतदान गर्न पाउने गरी तत्काल ऐन कानूनको व्यवस्था गर्नुपर्ने सुझाव दिएको बताए।
पूर्व प्रमुख निर्वाचन आयुक्त उप्रेतीले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गराउनका लागि सरकारले निर्वाचन आयोगलाई आवश्यक जनशक्ति, उपकरणसहित सबै खालका स्रोत साधनको तत्काल उपलब्धता गराउनुपर्ने सुझाव आफूले दिएको जानकारी दिए। उनले निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुनुपर्ने धारणा राख्दै आन्दोलनबाट आएका समूहले राखेका माग पूरा हुनेगरी निर्वाचनलाई मोडलिङ गर्नुपर्ने र त्यसका लागि इलेक्ट्रिक भोटिङ मेसिन र आई-भोटिङमध्ये उपयुक्त विकल्पमा विचार गर्नुपर्ने बताए। निर्वाचन नभएसम्म अर्को चरणमा जान नसकिने हुँदा निर्वाचन अवश्यम्भावी रहेको उनको भनाइ थियो।
परामर्श बैठकमा निर्वाचन आयोगका तर्फबाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन सम्पन्न गराउनका लागि आयोगले गरेको तयारीबारे संक्षिप्त जानकारी (ब्रीफिङ) दिएका थिए।