निजी क्षेत्रको पुनर्निर्माणमा ५० प्रतिशत बीमा अग्रिम लागू
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २५ मंगलबार
774
Shares
काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्र बीमा कम्पनीबाट ५० प्रतिशत अग्रिम भुक्तानी लिएर पुनःनिर्माण गर्ने काम प्रारम्भ गरिरहेको जानकारी गराएका छन् ।
मंगलबार बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले निजी क्षेत्रले आफ्नो सम्पत्तिको पुनःनिर्माण शुरू गरिसकेको जानकारी गराएका हुन् ।
उनले भने, ‘हामीले विजनेस रिकभरी प्लानमा भनेका थियौँ, बीमा कम्पनीले पूर्ण मूल्यांकन हुनुभन्दा अघि नै अनुमान गरिएको रकमको ५० प्रतिशत अग्रिम दिनुपर्छ । ताकी व्यवसायीले त्यो अग्रिम भुक्तानी लिएर पुनःनिर्माण गर्ने काम प्रारम्भ गरौँ भनेर त्यो गरेको त्ये अहिले कार्यान्वयनमा छ । अहिले ठाउँ ठाउँमा निजी क्षेत्रले आफ्नो सम्पत्तिको पुनःनिर्माण शुरू गरिसकेका छन्।’
उनले बीमा कम्पनीबाट दुई अरबको क्यास एड्भान्स भुक्तानी गरिसकेको र त्यसबाट कतिपय व्यवसायीले व्यवसायिक काम नै प्रारम्भ गरेको बताए ।
बीमा कम्पनीबाट करिब २७ अर्बको निजी क्षेत्रको क्षति भएको अनुमान बीमा कम्पनीमा प्रस्तुत भएको छ । जसमध्येमा साढे तीन अर्ब जतिको सर्भिवरले मूल्यांकन गरिसकेको छ ।
साढे तीन अर्बमा पनि दुई अरबको क्यास एड्भान्स भुक्तानी गरिसकेको उनले भने, ‘कतिपयको त काम व्यवसायिक काम नै प्रारम्भ गरेका छन् । चन्द्रागिरीले पनि दुई दिन अघि घोषणा नै गरेको थियो । भाटभटेनीको दुई, तीन वटा स्टोर अब दुई महिनामा खोल्ने भन्नुभएको छ।’
उनले व्यसायीका लागि राष्ट्र बैंकले थप कर्जा लिनु परेमा थप कर्जा उपलब्ध गराउन सकिने व्यवस्था गरेको समेत बताए ।
बैठकमा जेनजी आन्दोलनको क्रममा सिर्जना भएको असामान्य परिस्थितिमा नेपाल सरकारले अवलम्बन गरेको सार्वजनिक खर्च व्यवस्थापन, खर्च कटौतीका आधार एवं मापदण्ड, राजस्व चुहावट नियन्त्रण, वित्तीय संघीयताको कार्यान्वयन र व्यावसायिक वातावरण बनाउन भएका पहल सम्बन्धमा छलफल भएको थियो ।