कांग्रेस संस्थापन पक्षका २५ केन्द्रीय सदस्यले मंसिरमै महाधिवेशन थाल्न दिए दबाब [ध्यानाकर्षण पत्र]
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २८ शुक्रबार
3.4k
Shares
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षका केन्द्रीय सदस्यहरुले नै पार्टीको १५ औँ महाधिवेशनको शुरुआत मंसिरमै थाल्न दबाब दिन पत्र बुझाएका छन् ।
देउवा पक्षबाट १४ औँ महाधिवेशनमा चुनाव लडेका २५ केन्द्रीय सदस्यले शुक्रबार कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पार्टी मुख्यालय बीपीनगर सानेपामा विभिन्न सात बुँदे सामूहिक विचारसहित १५ औँ महाधिवेशन थाल्न माग गर्दै पत्र बुझाएका हुन् ।
हस्ताक्षर गर्नेमा राजेन्द्रकुमार क्षेत्री केसी, भरतकुमार शाह, अर्जुनप्रसाद जोशी, पुष्पा भुषाल, रननारायण बुढा, गणेश लामा, आङ्गेलु शेर्पा, डा. डीला संग्रौला, उदय शमशेर राणा, नानू बास्तोला, धना खतिवडा, अब्दुल रजाक, देवेन्द्रराज कंडेल, दीपेन्द्र चौधरी, गोपाल श्रेष्ठ, बहादुर सिंह लामा, दिलमान पाख्रिन, अब्दुर सतार, मोहन आचार्य, अमृत अर्याल, रामचन्द्र चौधरी, चम्पादेवी खड्का, नारायणबहादुर कार्की रहेका छन् ।
सात बुँदे विचारमा १५ औं महाधिवेशन सम्पन्न गर्न पहिलो खुड्किलो क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरण कार्य सम्पन्न हुनुपर्ने भएकोले समयसीमा निर्धारण गरेर क्रियाशील सदस्यता टुङ्ग्याउनु पर्ने, फागुन २१ गतेको निर्वाचनलाई परिणाममुखी बनाउन पार्टीको विधान बमोजिम २०८२ साल मंसिर महिनाभित्र १५ औं महाधिवेशन प्रारम्भ गरी तहगत रुपमा अधिवेशन सम्पन्न गर्नका लागि कार्यतालिका बनाई लागू गर्ने रहेका छन् ।
त्यस्तै वर्तमान अवस्थालाई मध्यनजर गरी युवा पुस्ताहरुको समेत उल्लेखनीय प्रतिनिधित्वको सुिनश्चितता हुने गरी विधानमा संशोधन गर्नुपर्ने तथा हालसम्म पनि पार्टीको आन्तरिक निर्वाचन समितिले पूर्णता नपाएको हुँदा अभिलम्ब निर्वाचन समिति विस्तार गरी पूर्णता दिनु पर्ने रहेको छ ।
साथै ध्यानाकर्षण पत्रमा महाधिवेशनमा सबै तहको पार्टीको संरचनामा युवा, महिला, दलित, आदिबासी जनजाति, थारु, मधेसी, मुश्लिम, पिछडा क्षेत्र र वर्ग एवम् अपांगता भएकाहरुको अर्थपूर्ण सहभागिताको सुनिश्चितता गर्ने उल्लेख छ ।
अब हुने स्थानीय, प्रदेश र संघीय तहको निर्वाचनमा समानुपातिक समावेशिताको सिद्धान्त अनुसार युवा उमेर समूहलाई समेत उम्मेदवार बनाउन प्राथमिकतामा राख्ने तथा संविधान संशोधनको सन्दर्भमा पार्टीमा वडादेखि केन्द्रीय तहसम्म ब्यापक सम्वाद चलाई स्पष्ट दृष्टिकोणसहित पार्टीको अवधारण निर्माण गर्ने उल्लेख गरिएको छ ।
यस्तो छ ध्यानाकर्षण पत्रः
आदरणीय कार्यवाहक सभापतिज्यू,
नेपाली काँग्रेस केन्द्रीय कार्यालय,
सानेपा, ललितपुर ।
विषय ः १५ औं महाधिवेशनको सम्बन्धमा ।
गत भदौं २३ गते भ्रष्टाचारको अन्त्य, सुशासन कायम गर्नुपर्ने र सामाजिक सञ्जालमाथि लगाईएको प्रतिबन्ध खुल्ला गर्नुपर्ने लगायतका मागहरु राखी प्रदर्शनमा उत्रिएका जेन–जी पुस्ताको आन्दोलनमा कैयन प्रदर्शनकारी युवाहरुले ज्यान गुमाउनु पर्यो, कैयन युवाहरु घाइते भए । यसपछि दोश्रो दिन भदौ २४ गते विभिन्न स्वार्थ समूहको घसपैठले मुलुकको केन्द्रीय प्रशासनिक केन्द्र सिंहदरबार, न्यायालय, सरकारी कार्यालयहरु, बैंक तथा वित्तीय क्षेत्र, शुरक्षा निकायहरु, ब्यवसायिक तथा निजी क्षेत्रहरु एवम् विभिन्न राजनैतिक दलका नेताहरुका घर र राजनैतिक दलका पार्टी कार्यालयहरुमा लुटपाट, तोडफोड एवम् आगजनी गरी अमानवीय एवम् क्रुर व्यवहार प्रदर्शनकारीहरुबाट गरियो ।
नेपाली कांग्रेसका सभापति आदरणीय श्री शेरबहादुर देउवाज्यूको निवासमा उहाँ र उहाँकी धर्मपत्नी, पार्टीको केन्द्रीय सदस्य तत्कालीन परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा माथि सांघातिक हमला र अमानवीय ब्यवहार गरियो, यो घटनाको घोर निन्दा एवम् भत्सर्ना गर्दै प्रदर्शनको क्रममा ज्यान गुमाएकाहरु प्रति भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्दै सम्पूर्ण घाइतेहरुको पूर्ण स्वास्थ्य लाभको कामना गर्दछौँ । साथै भदौ २३ र २४ गते भएको घटनाको निश्पक्ष छानबिन गरी आपराधिक कार्यमा संलग्न सबैलाई कानूनको दायरामा ल्याई कारबाही गर्न माग गर्दछौँ ।
जेन जी आन्दोलनबाट जननिर्वाचित संसदको असंवैधानिक विघटन र सरकारको गठन पश्चात् विकसित अनअपेक्षित राजनैतिक घटनाक्रमले राजनैतिक दलहरुमा पनि अन्योलता देखिन्छ । तर नेपालको हरेक संकटको बेला नेपाली कांग्रेसले खेलेको नेतृत्वदायी भूमिका इतिहासले पुनः एकपटक नेपाली कांग्रेसको काँधमा सुम्पेको छ । आजको गम्भीर र कठिन परिस्थितिको सामना नेपाली कांग्रेसको वैचारिक स्पस्टता र सांगठनिक एकताबाट मात्र सम्भव छ र जारी केन्द्रीय समितिले यो भावनालाई सम्बोधन गर्नेछ भन्ने हामीले विश्वास लिएका छौंँ ।
जारी नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले नेपाली कांग्रेसलाई आजको परिस्थितिको सामना गर्न सक्ने वैैचारिक स्पष्टता र सांगठनिक एकताले मात्र सम्भव छ भन्ने जारी बैठकको पहिलो दिन असोज २८ गते आदरणीय सभापतिज्यूको मन्तब्यमा नै नेपाली कांग्रेसको एकता आजको आवश्यक्ता, वर्तमान अवस्थामा ब्यक्तिगत वा गुटगत स्वार्थलाई थाती राखरे एकताबद्ध हुन र आगामी १५औं महाधिवेशन वैधानिक ब्यवस्था अनुसार गर्न निर्देशनात्मक मन्तब्यसमेत दिनु भएको सन्दर्भमा नेपालीजनको अपेक्षा पूरा गर्दै लोकतान्त्रीक ब्यवस्थालाई मजबुत बनाउन सकिन्छ भन्ने विश्वास ब्यक्त गर्दै यस जारी केन्द्रीय समितिको बैठकबाट निम्न बमोजिमका निर्णयले इतिहासले सुम्पेको जिम्मेवारी पूरा गर्न सकिन्छ भन्ने विश्वासका साथ हामी केन्द्रीय सदस्यहरुले सामूहिक रुपमा हाम्रो विचार पेश गरेका छौँ ।
१. १५ औं महाधिवेशन सम्पन्न गर्न पहिलो खुड्किलो क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरण कार्य सम्पन्न हुनुपर्ने भएकोले समयसीमा निर्धारण गरेर क्रियाशील सदस्यता टुङ्ग्याउनु पर्ने ।
२ . आसन्न २०८२ साल फागुन २१ गतेको निर्वाचनलाई परिणाममुखी बनाउन पार्टीको विधान बमोजिम २०८२ साल मंसिर महिनाभित्र १५ औं महाधिवेशन प्रारम्भ गरी तहगत रुपमा अधिवेशन सम्पन्न गर्नका लागि कार्यतालिका बनाई लागू गर्ने ।
३. वर्तमान अवस्थालाई मध्यनजर गरी युवा पुस्ताहरुको समेत उल्लेखनीय प्रतिनिधित्वको सुिनश्चितता हुने गरी विधानमा संशोधन गर्नुपर्ने ।
४. हालसम्म पनि पार्टीको आन्तरिक निर्वाचन समितिले पूर्णता नपाएको हुँदा अभिलम्ब निर्वाचन समिति विस्तार गरी पूर्णता दिनु पर्ने ।
५. आगामी १५ औं महाधिवेशनमा सबै तहको पार्टीको संरचनामा युवा, महिला, दलित, आदिबासी जनजाति, थारु, मधेसी, मुश्लिम, पिछडा क्षेत्र र वर्ग एवम् अपांगता भएकाहरुको अर्थपूर्ण सहभागिताको सुनिश्चितता गर्ने ।
६. अब हुने स्थानीय, प्रदेश र संघीय तहको निर्वाचनमा समानुपातिक समावेशिताको सिद्धान्त अनुसार युवा उमेर समूहलाई समेत उम्मेदवार बनाउन प्राथमिकतामा राख्ने ।
७. संविधान संशोधनको सन्दर्भमा पार्टीमा वडादेखि केन्द्रीय तहसम्म ब्यापक सम्वाद चलाई स्पष्ट दृष्टिकोणसहित पार्टीको अवधारण निर्माण गर्ने ।