आवश्यकता परे राजसंस्था पुनःस्थापनाका लागि बलिदानी दिन तयार छु: शङ्कर भण्डारी
आफू राजावादी नभए पनि मुलुकको आजको आवश्यकताका आधारमा राजसंस्था पुनःस्थापना गर्न बलिदानी दिन समेत तयार
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २ मंगलबार
927
Shares
काठमाडौँ। सनातन हिन्दु राष्ट्रको एजेन्डा उठाउँदै आएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले राजसंस्था पुनःस्थापनाका लागि आफू कुनै पनि हदसम्म जान तयार रहेको सोमबार बताएका छन्।
काठमाडौँमा ‘जेन–जेड अलायन्स फर मोनार्की’ले आयोजना गरेको गोलमेच कार्यक्रममा बोल्दै उनले आफू राजावादी नभए पनि मुलुकको आजको आवश्यकताका आधारमा राजसंस्था पुनःस्थापना गर्न बलिदानी दिन समेत तयार रहेको बताए। उनले नेपाली कांग्रेसभित्र पद प्राप्तिका लागि सिद्धान्तविहीन राजनीति हावी भएकोमा आक्रोश समेत व्यक्त गरे। उनले कांग्रेसभित्र पद प्राप्तिका लागि सिद्धान्त त्याग्ने प्रवृत्ति भएकै कारण आफू भ्रष्ट करार भएको र बदनाम भएको समेत बताए।
उनले भने, "म राजावादी होइन तर राजा देशको लागि आवश्यक भयो। त्यसको लागि म आफ्नो भूमिका निर्वाह गर्न तयार छु। परिआए बलिदान दिन पनि तयार छु।" उनले पछिल्लो समय नेपालको राजनीतिमा कस्ता मान्छे कसरी नेतृत्वमा आउँछन् भन्ने कुरा हामीले नबुझेको नभएको बताए। उनले मिडियाले पनि यस्तै गर्ने हो भन्दै मिडिया घेर्ने बेला आइरहेको बताए। उनले दलभित्र पनि ठूलो प्रभाव रहेको र पद प्राप्तिको लागि अहिले मान्छेले सिद्धान्त समेत त्यागिरहेको अवस्था रहेको बताए। उनले दुःखका साथ कांग्रेसभित्र पनि त्यो चरित्र हावी भएको कारणले आज आफू बदनाम भएको र भ्रष्टाचारी कांग्रेस भएको बताए।
उनले हिन्दु राज्य र राजसंस्था पक्षधरलाई सञ्चारमाध्यमले समेत असहयोग गर्ने गरेको आरोप पनि लगाए।