५७ प्रतिशत नेपाली महिलाको कलेजोमा बोसो जमेको खुलासा: मोटोपन र पत्रु खानाले स्वास्थ्यमा गम्भीर खतरा
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ३ बुधबार
965
Shares
काठमाडौँ। अस्पतालमा नेपाली महिलाहरूको पेट र कलेजोको जाँच गर्दा ५७ प्रतिशत महिलाको कलेजोमा बोसोे जमेको पाइएको छ, जसले भविष्यमा गम्भीर स्वास्थ्य समस्या आउन सक्ने सम्भावना देखाएको छ। नेपालमा प्रायः मानिसहरूले मुटुको रोग, मिर्गौला, मधुमेह, क्यान्सरजस्ता रोगहरूबारे छलफल गरे पनि कलेजोको स्वास्थ्य र त्यसलाई स्वस्थ राख्ने उपायबारे भने पर्याप्त छलफल नहुने देखिएको छ।
कलेजो शरीरको सबैभन्दा ठूलो अङ्ग र महत्त्वपूर्ण 'कारखाना' हो, जसले शरीरको विषालु तत्वलाई बाहिर लैजाने काम गर्छ। यदि कलेजो अस्वस्थ भयो भने शरीरभित्रका विषालु तत्व बाहिर निस्कन नपाई अनेक समस्या सुरु हुन्छ।
नेपाली महिलाहरूको सरदर आयु ७२ वर्ष पुग्नु जनस्वास्थ्यको दृष्टिकोणले सफलता भए पनि अर्कोतिर उनीहरू अस्वस्थ बन्दैछन्। पछिल्लो सरकारी तथ्याङ्कले ३५ प्रतिशत नेपाली महिला मोटोपनको शिकार भएका छन् भन्ने देखाएको छ। यो समस्या खासगरी ठूला सहरका धनी परिवारका ५३ प्रतिशत र गरिब परिवारका २० प्रतिशत महिलामा देखिएको छ।
ठूला सहरका महिलाहरू देशको आर्थिक विकासमा व्यस्त हुँदा उनीहरूको स्वास्थ्यमा मोटोपनले गर्दा भविष्यमा ठूलै स्वास्थ्य समस्या आउने सम्भावना देखाएको छ। ३५ प्रतिशत नेपाली महिला मोटोपनको शिकार हुनु र अस्पतालमा जाँच गर्न आएका ५७ प्रतिशत महिलाको कलेजोमा बोसो जमेको देखिनुले नेपाली महिलाको खराब स्वास्थ्यतर्फ इङ्गित गर्छ।
भारतका प्रसिद्ध कलेजोविज्ञ डा एस के सरिन भन्छन्, "कलेजोमा बोसो जम्नुको प्रमुख कारणमध्ये मोटोपन, भोजन, शारीरिक रूपमा धेरै सक्रिय नहुने, विभिन्न किसिमका औषधि पनि हुन सक्छ।" उनले कलेजोको स्वास्थ्यले सम्पूर्ण स्वास्थ्यको झलक देखाउने बताए।
डा सरिनको अनुभवले महिलाहरूको कमर ३५ सेमि र पुरुषको ३८ सेमिभन्दा बढी छ भने कलेजोमा समस्या हुने सम्भावना एकदम बढी हुन्छ। रक्सी नखाने व्यक्तिहरूमा पनि कलेजोमा बोसो जम्ने समस्या देखिनुको प्रमुख कारण नै पत्रु खाना, धेरै गुलियो, चिल्लो, तारेको खाना हो। कलेजोमा समस्या पर्दा मधुमेहको समस्या पर्नसक्ने कुरा पनि स्पष्ट हुन्छ।
केही वर्षअघिको एक अनुसन्धानले व्यायाम पर्याप्त गरेपछि जे जति खाए पनि हुन्छ भन्ने धारणालाई गलत प्रमाणित पारिदिएको छ। एक अध्ययनमा विश्व प्रसिद्ध ‘टाकिया’ कम्पनिका मालिकमध्येका एक सामी इनकिनेन दैनिक पाँच घण्टा व्यायाम गरे पनि चिनीको अत्यधिक मात्राका कारण स्वास्थ्य समस्याबाट पीडित भएका थिए। यसले केवल व्यायाम गरेर मात्र नहुने, स्वस्थकर भोजनको पनि त्यति नै महत्त्व रहने देखाउँछ।
नेपालको पछिल्लो तथ्याङ्कले करिब छ प्रतिशत किशोरीहरू अति ‘मोटोपनको शिकार’ भएका छन् भन्ने देखाएको छ। मोटोपनले गर्दा प्रजनन स्वास्थ्यमा पनि समस्या पर्न सक्छ। काठमाडौँकी एक युवतीले तौल घटाएपछि पाठेघरमा पानीको फोकाजस्तो (ओमारियन सिस्ट) को समस्या कम भई प्राकृतिक तरिकाले गर्भ रहेको अनुभवले मोटोपन र प्रजनन स्वास्थ्यको सम्बन्धलाई पुष्टि गर्छ।
अन्त्यमा, मुटु, मिर्गौला र कलेजो स्वस्थ राख्न र मानसिक अस्वस्थता तथा तनावबाट बच्न समयमै सबै सचेत हुन आवश्यक छ।