arrow

कांग्रेस विशेष महाधिवेशनको मिति र स्थान तोक्ने निर्णय गरियोस्

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ३ बुधबार
nc-gas-82-8-3.jpg

काठमाडौँ । नेपाली कांग्रेसको महाधिवेशन माग गर्ने पक्षधरले तत्काल विशेष महाधिवेशनको मिति र स्थान तोक्न माग गरेको छ । 

बुधबार पत्रकार सम्मेलन गर्दै विशेष महाधिवेशन माग्ने पक्षधरले केन्द्रीय कार्यसमितिलाई विनम्रतापूर्वक आग्रह गर्दै 'अब नअल्मलिनोहोस् नअल्मलाउनुहोस् । अबिलम्ब विधानको धारा १७ (२) बमोजिम विशेष महाधिवेशनको मिति र स्थान तोक्ने निर्णय गरियोस्' भनेको छ । 

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक एक हप्ता रोकिएर बिहीबार दिउँसो बस्दैछ । गत असोज २८ गतेदेखि जारी बैठक अहिलेसम्म सकिएको छैन । 

विशेष महाधिवेशनका लागि असोज २९ गते नै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर बुझाएको भए पनि अहिलेसम्म संस्थापनलाई यसले छोएको छैन । 

माग पक्षधरले भनेको छ, 'गत भाद्र २३-२४ को जेनजी आन्दोलन पश्चात मुलुकको  बदलिएको  राजनीतिक परिस्थितिमा नेपाली कांग्रेसलाई युग सापेक्ष र प्रभावकारी बनाउनका लागि वर्तमान  परिस्थितिको सघन समीक्षा, नीतिगत पुनरावलोकन, पार्टीको संरचनात्मक परिमार्जनका लागि विधान संशोधन र नेतृत्व परिवर्तनका लागि केन्द्रीय कार्य समितिको निर्वाचन लगायतका विषयमा विशेष निर्णय गर्नु अपरिहार्य भएकोले नेपाली कांग्रेसको विधानको धारा १७ उपधारा (२) बमोजिम विशेष महाधिवेशन आह्वान गर्नका लागि २४८८ महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर सहित हामीले २०८२ असोज २९ गते पार्टी केन्द्रीय कार्यलयमा निवेदन दर्ता गरेको बिदितै छ ।' 

विज्ञप्तिमा अगाडि भनिएको छ, 'हामी विशेष महाधिवेशन माग गर्ने करिव ५५ प्रतिशत हस्ताक्षरकर्ताको प्राथमिकता निर्वाचन अगाडि पार्टीको महाधिवेशन हुनुपर्छ भन्ने नै थियो। हामीले स्पष्ट भनेका थियौं- “नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको यही बैठकबाट विधानको धारा १७(१) बमोजिम २०८२ मंसिर मसान्तभित्र नै १५औं महाधिवेशन सुनिश्चित होस्।यदी १५औं महाधिवेशन समयमा नै गर्न नसक्ने हो भने सोही समयभित्र  बिशेष महाधिवेशन सम्पन्न गरिने निर्णय गरियोस्।” विशेष महाधिवेशनका लागि हस्ताक्षर नगर्नु भएका अधिकांश  साथीहरू र आम कांग्रेसजनको पनि साझा धारणा यही थियो। यसका लागि पार्टी केन्द्रीय कार्यसमतिलाई हामीले निरन्तर विभिन्न कार्यक्रम मार्फत दवाव दिइराख्यौं। तर पार्टीको विधान बमोजिमको हाम्रो मागलाई प्रारम्भदेखि नै स्वीकार गर्न नचाहने, उपेक्षा गर्ने र यति लामो समयसम्म चलेको  बैठकमा पनि विशेष महाधिवेशनको बिषयलाई औपचारिक एजेन्डा नबनाइएको प्रति हाम्रो गम्भीर आपत्ति छ।' 

भनिएको छ, 'पार्टी बैठकको प्रारम्भमा नै महाधिवेशनको कार्यतालिका बारेमा छलफल गरी समयमा नैं निर्णय गरेको भए मंसिरभित्र १५औं महाधिवेशन संभव हुन्थ्यो । तर विडम्बना, त्यो संभावना टार्नका लागि अनावश्यक रुपमा बैठक लम्ब्याइयो। शुरुमा कार्यतालिकालाई बैठकमा प्रवेश नै गर्न दिइएन,पछि पार्टी विधानको व्यवस्था,प्रचलन,अधिकार  र मर्म अनुरुप कार्यतालिका ल्याउन दिइएन। कहिले सानेपा, कहिले धोविघाट, कहिले पदाधिकारी बैठक, कहिले पूर्व पदाधिकारी बैठक, कहिले कार्यसम्पादन, कहिले कार्यसमिति बैठक भनेर संभव हुनसक्ने महाधिवेशनलाई समेत असंभव र अनिश्चित बनाइयो। जब महाधिवेशन प्रक्रियागत रुपमा नैं असंभव हुने अबस्था भयो, तब अहिले आएर  १५औं महाधिवेशनको कार्यतालिका ल्याउने भन्ने सुन्नमा आएको छ।अब असंभव छ, यो फगत कार्यतालिका मात्र हो,महाधिवेशन गराउने प्रतिबद्धता होइन, केवल बिशेष महाधिवेशन निस्तेज पार्ने जालझेल मात्र हो भन्ने हाम्रो ठम्याई छ।'

विज्ञप्तिमा भनिएको छ, 'हामी स्पष्ट छौं- हाम्रो माग फागुन २१ का लागि घोषित निर्वाचन अगाडि नैं नयाँ नेतृत्वका लागि महाधिवेशन हो। महाधिवेशनबाट सघन आत्मसमीक्षा र दृढ संकल्प गर्दै नयाँ नीति र नेतृत्वसहित थप उर्जा लिएर निर्वाचनमा होमिने हाम्रो तयारी हुनुपर्छ । अत: हामी पुन: प्रष्ट गर्न चाहान्छौं- विधानको धारा १७(२) मा भएको “केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यहरूले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई केन्द्र समक्ष लिखित अनुरोध गरेमा निवेदन परेको तीन महिनाभित्रमा विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्नेछ” भन्ने ब्यबस्था बमोजिम पौष २८ भित्र विशेष महाधिवेशन आव्हान गर्नैपर्छ। विधानको यो व्यबस्था केन्द्रीय कार्यसमितिका लागि रुची वा छनोट, बहुमत वा अल्पमतको विषय होइन, बाध्यकारी हो। अत: यस बाहेक अब अन्य कुनै पनि बिकल्प छैन, रहेन । केन्द्रीय कार्यसमिति बैठकको अनिर्णय र अनिश्चिततासंगै अब ती सवै संभावनाका ढोकाहरू बन्द भैसके भन्ने हाम्रो ठहर हो। ' 

विशेष महाधिवेशन माग गरी पार्टीको केन्द्रीय कार्यलयमा दर्ता भएको हस्ताक्षरको सूचीमा विविध कारणले छुटेका तर नेपाली कांग्रेसको महाधिवेशन समयमै होस् भन्ने भावना भएका सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई हस्ताक्षर गरी यस अभियानमा ऐक्यबद्धता जनाउनसमेत अनुरोध गरिएको छ । 

भनिएको छ, 'अभियानमा प्रत्यक्ष परोक्ष सहयोग पुर्याउनुहुने पार्टीका केन्द्रीय समितिका साथीहरूलाई विशेष धन्यवादका साथ केन्द्रीय समितिमा रहनुभएका बाँकी साथीहरूलाई पनि विषय र परिस्थितिको गम्भीरता बुझी आम महाधिवेशन प्रतिनिधिहरूको माग बमोजिम विशेष महाधिवेशनका पक्षमा निर्णायक पहलकदमी गर्नुहुन सादर अनुरोध गर्दछौँ ।'

अन्त्यमा विज्ञप्तिमा भनिएको छ, 'अत: नेपाली कांग्रेस रुपान्तरणका लागि हामीले खोजेको केवल महाधिवेशनको कार्यतालिका होइन,सुनिश्चित महाधिवेशन हो।यस बिषयमा हुने कुनै पनि प्रकारका जालझेलप्रति सचेत रहन हामी सवै साथीहरूमा आग्रह गर्दछौं। विशेष महाधिवेशन, महाधिवेशन प्रतिनिधिको विशेष वैधानिक अधिकार हो, यो कुनै पनि दवाव र कसैको प्रभावबाट रोकिदैन। विधानले तोकेको अवधिभित्रै अर्थात्  आजको ५५ दिनभत्रै महाधिवेशनको सुनिश्चित नभएसम्म हाम्रो माग फिर्ता पनि हुँदैन्। त्यसैले हामी केन्द्रीय कार्यसमितिलाई बिनम्रतापूर्वक आग्रह गर्न चाहान्छौं;- अब  नअल्मलिनोहोस् नअल्मलाउनुहोस्।अबिलम्ब विधानको धारा १७(२) बमोजिम विशेष महाधिवेशनको मिति र स्थान तोक्ने निर्णय गरियोस्।'
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ