मङ्सिर ६ को प्रदर्शनपछि जेन-जीकी हजुरआमा कार्कीले राजीनामा दिनुपर्छ
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ४ बिहिबार
1.2k
Shares
काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले आगामी मङ्सिर ६ गतेको एमालेको प्रदर्शनपछि प्रधानमन्त्री सुशीला कार्कीले राजीनामा दिने दावी गरेका छन्।
बुधबार सिमरा जान रोकिएपछि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले ६ गतेको एमालेको प्रदर्शनपछि आफूले राजीनामा दिनुपर्छ भन्ने थाहा पाएर प्रधानमन्त्री कार्कीले बारामा कार्यक्रमको लागि जान आफूहरूलाई रोकेको आरोप लगाए।
उनले भने, “हामी ६ गते उपत्यका स्तरको ठूलो सभा ११ बजे भृकुटीमण्डपमा गर्दै छौं। ६ गतेको त्यो सभा व्यापक सफल भएपछि सुशीला आमैले राजीनामा दिनुपर्छ भन्ने कुरा उनलाई थाहा छ। यो अवैधानिक सरकार संविधानले नचिन्ने पूर्वप्रधानन्यायाधिस मानव अधिकार आयोगमा बाहेक अन्त जान मिल्दैन्... सुशीला आमैले यो सरकार छोड्नुपर्छ भन्ने उनलाई थाहा छ। त्यसैले उनी यो कार्यक्रम नहोस् भन्ने चाहन्छिन्। बारामा हामीलाई रोकेर उनले एउटा धक्का दिएकी हुन्।”
उनले प्रधानमन्त्रीले 'जेनजी'हरू परिचालन गरेर आफूलाई रोकेको समेत आरोप लगाए। एमाले र युवासंघ भनेको दुबोजस्तो भएको भन्दै एउटा मुना चुँडाल्दा २० वटा पालुवा हाल्ने तर्क गरे। उनले काठमाडौंमा अहिलेसम्म नभएको सभा गर्ने पनि दाबी गरेका छन्।
'जेनजी' प्रदर्शनकारीको अवरोधका कारण आज शंकर पोखरेल, भानुभक्त ढकाल, महेश बस्नेतलगायतका नेता काठमाडौंबाट उड्न लाग्दा विमानबाट ओर्लनुपरेको थियो। बाराको सिमरा विमानस्तस्थलमै प्रदर्शनकारी र एमाले समर्थित युवाबीच झडप समेत हुँदा प्रशासनले कफ्र्यू लगाएको छ।