बहिरा समुदाय घरेलु र यौन हिंसाको उच्च जोखिममाः अध्यक्ष केसी
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १७ बुधबार
875
Shares
काठमाडौँ। राष्ट्रिय बहिरा महासंघका अध्यक्ष सन्तोष केसीले बहिरा समुदायका महिला-पुरुष घरेलु हिंसा, यौनहिंसा र आत्महत्या जस्ता गम्भीर समस्याको जोखिममा रहेको भन्दै तत्काल प्रभावकारी जनचेतनामूलक पहल आवश्यक रहेको बताएका छन्।
बुधबार काठमाडौँमा नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले सचेतनाको अभावका कारण धेरै बहिरा महिला तथा पुरुष घरेलु हिंसामा फस्ने गरेको र परिवारमै जनचेतनाको कमीले आत्महत्यासम्म गर्नुपर्ने अवस्था देखिने गरेको बताए ।
उनले केही बहिरा नागरिकले सामना गर्नुपरेको हिंसाजन्य क्रियाकलापको उदाहरण दिँदै राज्यले जनचेतनामूलक कार्यक्रमहरू आयोजना गर्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘पुरुष साथीहरू घरेलु हिंसाको सिकार बन्न पुगेको अवस्था छ । घरपरिवारमै पनि जनचेतनाको कमीको कारणले आत्महत्या गर्नुपर्ने समस्या विद्यमान छन् । अहिले भर्खरै पोखराको बहिरा विद्यालयमै पनि १४ वर्षको उमेरमै गर्भवती भएको घट्नाहरू छन् । विद्यालयमै बहिरा बालबालिकाले यौन हिंसाको सिकार हुनुपर्ने अवस्था रहेको छ । त्यसकारण सामाजिक सञ्जालहरुको सदुपयोग कसरी गर्ने ? त्यसको दुरुपयोग भयो भने के हुन्छ ? लगायतको जनचेता फैल्याउन जरुरी छ ।’
अध्यक्ष केसीले सामाजिक सञ्जालको सुरक्षित प्रयोगबारे शिक्षा नहुँदा बहिरा समुदायका बालबालिका अझै बढी जोखिममा परिरहेको बताए ।