काठमाडौँ । जर्मनीले पोल्याण्डको पूर्वी सीमा (बेलारुस र रूसी भूभाग कालिनिनग्रादसँग जोडिएको) बलियो बनाउन आफ्नो सेनाको एउटा समूह पोल्याण्डमा पठाउने निर्णय गरेको छ।
मस्कोविरुद्धको लडाइँमा युक्रेनको बलियो समर्थक पोल्याण्डले गत वर्ष मे महिनामा आफ्नो सीमाको लामो भागलाई बलियो बनाउने योजना घोषणा गरेको थियो।
बर्लिनस्थित रक्षा मन्त्रालयका प्रवक्ताका अनुसार पोल्याण्डमा जर्मन सैनिकको मुख्य जिम्मेवारी 'इन्जिनियरिङ गतिविधि' हुनेछ। यसमा किल्लाहरू निर्माण, खाडलहरू खन्ने, काँडेतार बिछ्याउने वा ट्याङ्क अवरोधहरू खडा गर्ने समावेश हुन सक्छ। जर्मन रक्षा मन्त्रालयले सहयोगस्वरूप जर्मन सैनिकहरूले प्रदान गरेको सहयोग केबल इन्जिनियरिङ् गतिविधिहरूमा सीमित रहने स्पष्ट पारेको छ।
प्रवक्ताले संलग्न सैनिकहरूको यकिन सङ्ख्या नबताए पनि यो दुई अङ्कको सङ्ख्या हुनेछ। उनीहरूले सन् २०२६ को दोस्रो त्रैमासिकदेखि सन् २०२७ को अन्त्यसम्म यो परियोजनामा भाग लिने अपेक्षा गरिएको छ। जर्मन प्रवक्ताले 'सैन्य सङ्घर्षबाट सैनिकहरूलाई तत्काल कुनै खतरा छैन' भन्दै तैनातीका लागि संसदीय अनुमोदन आवश्यक नभएको जानकारी दिएका छन्।
सन् २०२२ मा रूसले युक्रेनमा पूर्ण मात्रामा आक्रमण गरेपछि पोल्याण्ड (वार्सा) ले किएभलाई दृढतापूर्वक समर्थन गरेको छ र युक्रेनका पश्चिमी सहयोगीहरूले आपूर्ति गरिरहेका हतियारहरूको लागि ट्रान्जिट मार्ग बनेको छ। वार्साले आफ्नो सेनालाई पनि आधुनिकीकरण गरेको छ र रक्षा खर्च बढाएको छ। जर्मनी संयुक्त राज्य अमेरिकापछि युक्रेनको दोस्रो ठूलो सैन्य सहायता आपूर्तिकर्ता हो र उसले किएभलाई सहयाग गर्न हवाई रक्षा प्रणालीदेखि बख्तरबन्द गाडीसम्मका उपकरणहरू पठाएको छ।