arrow

हुम्लाबाट राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचनका लागि कांग्रेसका उम्मेदवार सिफारिस

logo
जनकबहादुर शाही, 
प्रकाशित २०८२ मंसिर २८ आइतबार
congress-flag2.jpg
तस्बिर : फाइल

हुम्ला  । नेपाली कांग्रेस हुम्लाले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन तथा फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य (प्रत्यक्ष तथा समानुपातिक) निर्वाचनका लागि उम्मेदवारहरूको नाम सिफारिस गरेको छ।

नेपाली कांग्रेस संसदीय बोर्ड, हुम्लाको मंसिर २५ गते बसेको बैठकको निर्णयअनुसार जिल्लाबाट विभिन्न तहका निर्वाचनका लागि उम्मेदवारहरूको नाम कर्णाली प्रदेश कार्य समितिमा सिफारिस गरिएको हो । 

उक्त सिफारिस प्रदेश कार्य समितिमार्फत नेपाली कांग्रेस केन्द्रीय कार्यालय, काठमाडौँ सानेपा पठाइएको पार्टी सभापति मोहनबिक्रम सिंहले बताए । प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फ नेपाली कांग्रेस हुम्लाले जीवनबहादुर शाही, जयपति रोकाया र रीता शाहीको नाम सिफारिस गरेको छ। 

पार्टी केन्द्रीय कार्यालयबाट जारी परिपत्रमा राष्ट्रिय सभा, प्रदेश सभा तथा स्थानीय तहका बहालवाला जनप्रतिनिधिहरूलाई उम्मेदवारका रूपमा सिफारिस नगर्न निर्देशन रहे पनि हुम्ला जिल्लास्थित पार्टीका विभिन्न संरचना, महासमिति सदस्य, केन्द्रीय तथा प्रदेश महाधिवेशन प्रतिनिधि, जिल्ला कार्य समितिका पूर्व पदाधिकारी, पार्टीबाट निर्वाचित जनप्रतिनिधि, प्रदेश ‘क’ र ‘ख’ दुवै क्षेत्रीय कार्य समिति, सातै गाउँपालिका कार्य समिति तथा ४४ वटै वडा इकाइ समितिहरूको सामूहिक भावना र आग्रहअनुसार जीवनबहादुर शाहीको नाम सिफारिस गरिएको कांग्रेसले जनाएको छ।

यसैगरी प्रतिनिधि सभा सदस्य समानुपातिकतर्फ बलबहादुर लामा, ताराबहादुर लामा र रम्बा शाहीको नाम सिफारिस गरिएको छ। 

पार्टीले समानुपातिक सूची तयार गर्दा समावेशिता, क्षेत्रीय सन्तुलन तथा पार्टी योगदानलाई आधार बनाएर सिफारिस गरिएको जनाएको छ।

त्यसैगरी, राष्ट्रिय सभा सदस्य (खुला) तर्फ पदमबहादुर लामालाई एकल रूपमा सिफारिस गरिएको छ। भने राष्ट्रिय सभा सदस्य (महिला) तर्फ भने रंगमती शाही र सबिता बूढाको नाम सिफारिस गरिएको नेपाली कांग्रेस हुम्लाले जनाएको छ ।

पार्टी सभापति सिंहका अनुसार उम्मेदवार सिफारिस प्रक्रिया पार्टी विधान, संसदीय बोर्डको निर्णय तथा स्थानीय तहका पार्टी संरचनाबाट प्राप्त सुझावका आधारमा अघि बढाइएको हो। अन्तिम निर्णय भने पार्टी केन्द्रीय समितिले गर्ने जनाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ