मगु । हिमाली जिल्ला मुगुमा अत्यधिक चिसो, पानी नपरेको अवस्था तथा धुवाँ–धुलोका कारण भाइरल रुघाखोकी, ज्वरो र दमका बिरामीको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ। यही कारणले सदरमुकाम गमगढी नजिकै रहेको १५ शय्याको जिल्ला अस्पताल ठिनिमा बिरामीको चाप अत्यधिक बढेको देखिएको छ।
मङ्सिर महिनादेखि चिसो बढ्दै जानुका साथै चिसो हावा र धुलोका कारण जिल्लाका विभिन्न गाउँबस्तीमा भाइरल रुघाखोकी, ज्वरो र दमका बिरामी घर–घरमै देखिन थालेका छन्। जिल्ला अस्पताल ठिनिमा दैनिक ६० देखि ७० जना बिरामी उपचारका लागि आउने गरेका छन्, जसमध्ये १० देखि २० जना दमका बिरामी रहने गरेका छन्।
जिल्ला अस्पताल मुगुका विशेषज्ञ डाक्टर अभिषेक मिश्रका अनुसार उपचारका लागि आउनेमध्ये पाँच वर्षमुनिका बालबालिका, महिला तथा वृद्धवृद्धाको सङ्ख्या बढी रहेको छ। उनका अनुसार आर्थिक अभावका कारण धेरैजसो बिरामी रोग गम्भीर भएपछि मात्र अस्पताल पुग्ने गरेका छन्।
डाक्टर मिश्रले जिल्ला अस्पतालबाट सम्भव सबै उपचार सेवा प्रदान गरिएको जानकारी दिँदै भाइरल रोगबाट बच्न बालबालिकालाई चिसो, धुवाँ र धुलोबाट जोगाउनुपर्नेमा जोड दिएका छन्। साथै, वृद्धवृद्धामा दमको समस्या देखिने भएकाले घरमै अक्सिजनको व्यवस्था भए उपचारमा सहज हुने उनको भनाइ छ। सदरमुकाम गमगढी आसपासका बस्तीहरूमा भाइरल ज्वरो, रुघाखोकी र दमका कारण छाती, पेट, हातखुट्टा तथा शरीरका विभिन्न भाग दुख्ने, झमझमाउने, टाउको दुख्ने, सिँगान बग्ने, हाच्छ्युँ बढी आउने तथा खान मन नलाग्ने जस्ता समस्या देखिएको स्थानीयले बताएका छन्।
बिरामी मणिचन्द्र कार्कीले गाउँमा हाल धेरैजसो घरमा बिरामी परेको भन्दै राजनीतिक भेटघाटभन्दा पनि औषधिसहित चिकित्सक टोली गाउँगाउँमै पुगेर उपचारको व्यवस्था गर्न सरकार तथा सरोकारवाला निकायलाई आग्रह गरेका छन्। मुगु जिल्लामा फैलिएको सिजनल भाइरल रुघाखोकी, ज्वरो र दमका बिरामीको उपचारका लागि सङ्घ, प्रदेश र स्थानीय सरकार तथा सरोकारवाला निकायले तत्काल स्वास्थ्य शिविर, औषधि आपूर्ति तथा चिकित्सक परिचालन गर्नुपर्ने आवश्यकता देखिएको छ।