सिरहा । सिरहाको लहान नगरपालिका–३ स्थित रामकुमार शारदा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालको जग्गा ‘रजिस्ट्रेसन’का लागि लाग्ने लाभकर सरकारले मिनाहा गरेको छ। मन्त्रिपरिषद्को सोमबारको बैठकले करिब रु एक करोड ३४ लाख ९५ हजारबराबरको लाभकर छुट दिने निर्णय गरेको हो।
झण्डै पाँच दशकदेखि अस्पतालको हकभोगमा रहेको उक्त जग्गा रजिस्ट्रेसन हुन नसक्दा भौतिक संरचना विस्तारमा समस्या हुँदै आएको थियो। सरकारको निर्णयपछि सिराहा, सप्तरी र उदयपुरका बिरामीले सेवा लिने यस अस्पतालको स्तरोन्नति र सेवा विस्तार सहज हुने भएको छ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रामनारायण मेहताले सरकारले गरिब तथा विपन्न समुदायको उपचार आवश्यकतालाई ध्यानमा राखेर ऐतिहासिक निर्णय गरेको बताएका छन्। उनले विगत लामो समयदेखि रोकिएको प्रादेशिक अस्पतालको जग्गा रजिस्ट्रेसनको समस्या समाधान भएको र यसले सिङ्गो सिराहासहित आसपासका क्षेत्रका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने आशा र भरोसा दिएको बताए। अब अस्पतालको स्वामित्वमा जग्गा आएपछि भौतिक संरचना विस्तार, नयाँ भवन निर्माण र सेवा सुधारका काम तीव्र रूपमा अघि बढ्ने उनको भनाइ छ।
मन्त्रिपरिषद् निर्णयअनुसार लहान नगरपालिका–७ स्थित कित्ता नं २४८, २४९, ३२७ र ३३० मा रहेको एक बिघा १५ कट्ठा १० धुर जग्गा तथा भवन मधेस प्रदेश सरकारका नाममा हस्तान्तरण गर्दा आयकर ऐन र आर्थिक ऐनबमोजिम लाग्ने लाभकर छुट दिइनेछ। अस्पतालका पूर्वमेडिकल सुपरिटेन्डेन्ट डा. बृजेन्द्र साहका अनुसार जग्गा अस्पतालको स्वामित्वमा आएपछि अब एक सय शय्याको भवन निर्माण, सिटीस्क्यान, एमआरआई तथा विशिष्टीकृत उपचार सेवा विस्तार गर्ने बाटो खुलेको छ।
विसं २०३७ मा लहानका दाता परिवार रामकुमार शारदा र उमाप्रसाद मुरारकाले अस्पतालका लागि उक्त जग्गा उपलब्ध गराएका थिए। लाभकर कसले तिर्ने भन्ने विषयमा अन्योल हुँदा रजिस्ट्रेसन रोकिएको थियो। पछिल्लो समय युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको सक्रियतामा स्थानीय अगुवा, अस्पताल परिवार र युवाहरूको पहलपछि सरकारले लाभकर छुट दिने निर्णय गरेको हो।