arrow

अबको स्ववियु : आन्दोलनको हुण्डरीमा बग्ने कि सिद्धान्तको बयलगाढामा यात्रा गर्ने ?

logo
सन्ताेष खत्री,
प्रकाशित २०७३ फागुन २ सोमबार
Santosh_NSU.jpeg
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी फाल्गुन १४ गते लामो समयदेखि हुन नसकेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन गर्ने तयारी गरेको छ । पटकपटक सर्दै आएको स्वतन्त्र विद्यार्थी युनियनको चुनावको लागि आवश्यक प्रक्रिया समेत आईतबारबाट सुरु भईसकेकोले यस पटक भने स्ववियु निर्वाचन हुने निश्चितप्रायः देखिन्छ । 
 
यस अघि पटकपटक निर्वाचनको बाधक बनेको उमेरको हदबन्दीको समस्या समेत समाधान भईसकेकोमा अब भने निर्वाचन रोकिने आधार खासै देखिँदैन । यस भन्दा अगाडि विभिन्न विद्यार्थी संगठनहरुले अनावश्यक माग राखेर निर्वाचनको माहोल भड्काउँदै हिँड्ने गरेको पाईन्थ्यो । तर सरकारमा आफूसमेत संलग्न रहेकोले सत्ताको नेतृत्व गरेको दल नेकपा माओबादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले पनि अहिले निर्वाचनलाई अवरोध पुर्याउने मनस्थिती  देखाएको छैन । त्यसैले पनि यस पटक फाल्गुन १४ गते स्ववियुको निर्वाचन हुने लगभग पक्कापक्की नै रहेको छ । 
 
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन २०६५ साल भन्दा पछाडि हुन सकेको छैन । पछिल्लो स्ववियु निर्वाचन पछिका बीचका ८ वर्षमा राजनीति धेरै बदलिएको छ । राज्यको शिक्षा नीति धेरै बदलीएको छ र विद्यार्थीहरुको सोच पनि धेरै बदलिएको छ । त्यसैले विद्यार्थी संगठनहरुको लोकप्रियता मापन गर्ने अबको स्ववियु, परम्परागत माध्यमबाट नै अघि बढेर आफ्नो कार्यकाल सक्नेगरी अघि बढ्ने कि विद्यार्थी राजनीतिमा केही परिवर्तनको महसुस हुनेगरी लोकप्रिय काम गरेर जाने ? यो दुई विकल्प जुनसुकै विद्यार्थी संगठनबाट स्ववियुमा उठ्ने विद्यार्थीका अगाडि पनि रहेको छ । यस मध्ये एक विकल्प सबैले रोज्नु आवश्यक रहेको छ । 
 
सामान्यतयाः स्ववियु निर्वाचनमा दुईथरी विद्यार्थीहरुले उम्मेदवारी दिने वा विजयी हुने गर्दछन् । विद्यार्थी दुनियाँमा पनि सिद्धान्तको खेती गरेर शैक्षिक क्रान्तिको परिकल्पनाका साथ आउनेदेखि राजनीतिक पहुँचको आधारमा हुण्डरी मच्चाएर टिकट जित्ने र त्यही हुण्डरीको वेगमा निर्वाचनमा पनि बाजी मार्ने यी दुई प्रवृत्ति यस पटक पनि पहिलेजस्तै दोहोरिने देखिन्छ । यस अघिका परिपाटीहरुलाई हेर्ने हो भने हामीले दुबै स्वभावका नेताहरुलाई नेतृत्व तहमा पठाउने गरेका छौं । जुन यस अघिसम्मको लागि एक हिसावले आवश्यक पनि थियो । 
 
अहिलेको स्थिती बदलिईसकेको छ । तर। हामी भने अझैपनि समयको माग अनुसार बदलिन सकिरहेको देखिँदैनौं र अहिलेको स्ववियु निर्वाचनले पनि पुरानै प्रवृत्तिलाई स्वीकार्ने त होईन ? भन्ने चिन्ता पनि बढ्न थालेको छ । विद्यार्थी नेता अब कुनै हुण्डरीको बेगमा बगेर होईन सिद्धान्त र बादको ठेलागाढामा चढेर विस्तारै यात्रा गर्नुपर्छ । किनभने अबको केन्द्रको राजनीति पनि विस्तारै सिद्धान्त र बादको आधारमा हुने राजनीतिमा केन्द्रीत हुन थालिसकेको छ । 
 
यस अघिको अवस्था कुनै न कुनै राजनीतिक क्रान्तिमा मुलुक चलिरहेको अवस्थामा थियो । जसमा सबैभन्दा उर्जावान् संगठनको रुपमा रहेका विद्यार्थी संगठनहरु पनि एक हिसावले आन्दोलनको नेतृत्वगर्न सक्ने खालको हुनु आवश्यक थियो । त्यसैले स्वभाविक रुपमै पनि त्यस्ता मान्छेहरुले समेत विद्यार्थी राजनीतिमा स्थान पाए । तर अहिले परिस्थिती बदलिएको छ । राजनीतिक क्रान्तिमा नेपालले हदैसम्मको उपलब्धी हाँसिल गरिसकेको अवस्थामा अबको विद्यार्थी संगठनहरु र त्यसका उम्मेदवारहरु आधुनिकता र शैक्षिक धरातलमा टेकेर विद्यार्थी राजनीतिमा लाग्नु आवश्यक रहेको छ । अर्थात् अब केन्द्रको राजनीतिमा गणतन्त्रपछिको राजनीतिक क्रान्तिको बाटो सकिएकोले अब भने हामी शैक्षिक विकास र समाज परिवर्तनको बाटोमा स्ववियुलाई हिँडाउनु आवश्यक रहेको छ । 
 
अबको स्ववियुका पदाधिकारीहरु कस्तो बन्नुपर्छ ? 
अबको स्ववियु कस्तो बन्नुपर्छ भन्ने भन्दा पनि अबको स्ववियुका पदाधिकारीहरु कस्तो बन्नुपर्छ भन्ने विषयमा हामीले चर्चा गर्नु आवश्यक होला । किनभने पदाधिकारीहरुको नियत र व्यवहारमा नै स्ववियुको शाख बढ्छ या गिर्छ भन्ने निर्देशित हुन्छ । हामीले जतिसुकै जोगाउन खोजेपनि अहिलेसम्म हामी नित्तान्त व्यक्तिवादी बनेर अघि बढ्दा स्ववियुमा पुगेका पदाधिकारीहरुले बोक्ने भनेको शैक्षिक एजेण्डा मात्रै नारामा सीमित हुने गरेको छ । त्रिभुवन विश्वविद्यालयले समयमा परीक्षा नगरोस् यसमा कसैलाई चासो हुँदैन । त्रिविको नतीजा प्रणालीमा कति समस्याहरु देखिएका छन् यसमा कसैको चासो देखिँदैन । 
 
त्यस्तै, त्रिविले उठाएका शुल्कमा व्यापक अनियमितता हुनेगरेको कुरा छताछुल्ल भईसकेको हुन्छ त्यसमा न त कुनै विद्यार्थी संगठनले आवाज उठाउँछ न त स्ववियुले नै । यी सबैलाई नियाल्ने हो भने अहिलेसम्मको स्ववियु भनेको सीमित व्यक्तिहरुको कमाईखाने माध्यमको रुपमा विकास भएको छ । अब यसलाई चिर्नको लागि हामी नयाँ पुस्ता(२८ वर्ष मुनीका)लाई एउटा अवसर पनि मिलेको छ । हामी अब पनि पुरानै पुस्ताको व्यवहारबाट बदलिन सकेनौंभने विद्यार्थीहरुबीच एक हिसावको बैमनस्यता त छाउँछ नै यसले समग्र विद्यार्थी आन्दोलनलाई नै ओझेलमा पार्न सक्छ । स्ववियुको जन्मदाताको हिसावले पनि यसको शाख जोगाउने जिम्मेवारी नेपाल विद्यार्थीसंघमा छ र हामीमा नै छ । 
 
अब के गर्ने ? 
अब हामी राजनीतिका क्रान्तिको नाममा टायर बालेर आन्दोलन गर्ने होईन । मुल्यवृद्धिको नाममा आन्दोलन चर्काउने र भित्रभित्रै मिलेमतो गरेर त्यसै आन्दोलन तुहाउने होईन । एउटा नयाँ खालको शैक्षिक क्रान्तिको सुरुवात गर्नुपर्ने अवस्थारहेको छ । अब हामी मसाल बोक्न सक्ने वलवान् मात्रै होईन मसालसँगै टेबुलमा बसेर बहस गर्न सक्ने बौद्धिक नेता बन्नुछ । समस्यापरेको बेलामा समाधानको खोज ीगर्नसक्ने बुद्धिमान नेता बन्नु छ । जसबाट सबैभन्दा पहिले सिंगो शैक्षिक क्षेत्रको सुधारको अपेक्षा सबैले उसमाथि राख्न सकून् । र त्यसपछि विस्तारै सिंगो समाजको परिवर्तनमाथि पनि उसैमाथि सबैको भरोसा रहोस् । शिक्षाको विकासले नै हामी समाजको विकास गर्न सक्दछौं । 
 
तसर्थ शिक्षाको विकासका लागि यस क्षेत्रमा देखिएका घुसखोरी, अस्वस्थ राजनीतिक प्रतिस्पर्धा, मिलेमतोमा हुने आर्थिक अनियमिततता र अस्तव्यस्त शैक्षिक प्रशासनलाई सुधारेर अगाडि बढाउनुपर्ने आवश्यकता टड्कारो परिसकेको छ । मुल्यबृद्धि भयो भनेर हामी आन्दोलनमा हिँडिहाल्ने पनि होईन । मुल्यबृद्धिका पछाडि कसकसको हात रहेको छ ? कतै यो व्यक्तिगत स्वार्थपूर्तिका लागि त यस्तो गरिएको छैन ? भन्ने विषयमा राम्रोसँग जानीबुझी मात्रै आन्दोलनमा मसाल समाउनुपर्छ । अन्तराष्ट्रिय बजारमा निर्भ हामीहरुले विदेशी बजारमा मुल्य बृद्धि भएको अवस्थामा नेपालमा आन्दोलन गरेरमात्रै केही आन्दोलनको केही अर्थ रहँदैन । यसले त विद्यार्थी आन्दोलनकै गरिमा खस्काउने काम मात्रै गर्छ । त्यसैले आन्दोलन गर्नुपर्ने अवस्थामा पनि कसैको पिछलग्गु बनेर होईन कि स्वविवेकले आवश्यक अनावश्यक के छ भन्ने बुझेर मात्रै आन्दोलनमा होमिनुपर्छ । 
 
अन्त्यमा, 
समग्रमा भन्ने हो भने हामीले २८ वर्षे उमेरहद राख्नुको अर्थपनि स्ववियुमा रहेका केही पुराना मान्यतालाई आत्मसाथ गर्नेहरु, पुरानो परम्पराअनुसार चल्न खोज्नेहरुलाई हटाउँदै ताजा र नयाँ सोच बोकेका व्यक्तिहरुको आगमन होस् भनेर नै हो । यस्तो सोच र व्यवहारको विकास हामीले अहिलेकै पालामा गर्न सकेनौं भने हामी अवश्य पछि पर्नेछौं । हाम्रो पुस्तालाई अवश्य इतिहासले धिक्कार्ने नै छ । त्यसैले अहिलेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा राष्ट्रियता, लोकतन्त्र र विद्यार्थी आन्दोलनमा अहम भूमिका खेलेको विद्यार्थी संगठनलाई र त्यसमा पनि सक्षम र इमान्दार व्यक्तिलाई जिताउनु आवश्यक रहेको छ । यसमा सबै विद्यार्थीलाई सचेत भएर मतदान गर्न पनि आग्रह गर्दछु । 
 
(लेखक खत्री त्रिभुवन विश्वविद्यालय गणित केन्द्रीय विभागमा अध्ययनरत छन्)



नयाँ