काठमाडौँ। नेपाली कांग्रेसकी नेतृ नानु बास्तोलाले पार्टीको १५औँ महाधिवेशनको कार्यतालिका सर्वसम्मत रुपमा सार्वजनिक भएकाले महाधिवेशन हुँदैन भन्नेमा आशंका गर्न नहुने बताएकी छन् । उनले इमान्दारिताका साथ काम गर्न सकेको खण्डमा महाधिवशेन राष्ट्रिय निर्वाचन अगाडि नै सम्पन्न गर्न सकिने बताइन् ।
‘यतिबेला पार्टीले महाधिवेशन र निर्वाचनको तयारी दोहोरो जिम्मेवारीका साथ काम गरिरहेको छ। कार्यतालिका नआउदासम्म महाधिवेशन हुँदैन कि भन्नेमा आशंका थियो तर अब सर्वसम्मत रुपमा आएकाले कुनै शंका गर्नु पर्दैन । किनभने अब हामीले एक भएर एकताबद्ध रुपमा महाधिवेशनको तयारीमा जुट्नुपर्छ । जसका कारण महाधिवेशन सफल हुन्छ,’ उनले भनिन् । पार्टीभित्र तीन चार पुस्ताको प्रतिनिधित्व रहेकाले जेन-जी पुस्ताले उठाएका मागहरू पूरा गर्न कांग्रेस तत्पर रहेको औंल्याउँदै उनले परिपक्व नेतृत्व आजको आवश्यक्ता भएको बताइन् ।
‘हामीलाई एकताबद्ध, परिपक्व र इमान्दार नेतृत्व चाहिएको छ । आगामी दिनमा पार्टीले सबै समूहलाई मिलाएर निर्वाचनको टिकट वितरण गर्ने विश्वस्त छौँ,’ उनले भनिन्, ‘केही व्यक्तिहरू वा नेताहरूका कारण पार्टीभित्र समस्या आएको हो । न्यून संख्यामा रहेका केही नेताले सुशासन दिन नसक्दा र सत्ताको दुरुपयोग गरेका कारण तिनका भारी हामीहरूले बोक्नुपरेको छ । यस विषयमा पटक-पटक आवाज उठाइरहेको छु । त्यसैले पार्टीभित्र आन्तरिक सुशासन आयोग बनाउनुपर्छ । कुनै नेताहरूमाथि प्रश्न उठेको खण्डमा छानविन गरेर सरकारसम्म सिफारिस गर्नेगरी आयोग चाहिएको हो ।’
पूराना नेताहरूले विश्राम लिनुपर्ने आवाज उठाइरहेको प्रसंगमा कुरा गर्दै उनले कतिपय ठाउँमा पूराना वा पाका नेताहरूको विशेष भूमिका हुनसक्ने भए पनि कतिपय स्थानमा पाका नेताहरूले अभिभावकका रुपमा बस्नुपर्ने अवस्था आएको बताइन् ।
‘कांग्रेसभित्र सबै उमेर समूहका व्यक्तिहरूको विचार छ । पार्टीमा युवादेखि परिपक्व वा पाका नेताहरूको आवश्यक्ता छ । जेन-जी पुस्ताले उठाएका माग सम्बोधन गर्नपनि भूमिकाविहीन भएका, अवसर नपाएका, उमेर अनुसार अवसर दिनुपर्छ । टिकट वितरण पनि सोही अनुसार हुनुपर्छ । टिकट वितरणमा पनि पार्टीले सबै क्लस्टर मिलाएर गर्नुपर्छ । यसमा संख्याको हिसाबकिताब हुनु हुँदैन्,’ उनले भनिन् ।
जेन-जीलाई अवसर, पाकालाई सम्मान
नेतृ बास्तोलाले यतिबेला पार्टीको झण्डामुनि रहेका जेन-जी एवं युवा पुस्ताले उचित अवसर पाउनेपर्ने पनि बताइन् । उनले भनिन्, ‘आउँदै गरेका नवयुवाहरू अर्थात जेन-जी पुस्तालाई हामीले समेट्नुपर्छ । पार्टीकै झण्डामुनि रहेर, सानो उमेरदेखि नेपाली कांग्रेसमा आबद्ध भएर काम गर्ने साथीहरू धेरै हुनुहुन्छ उहाँहरूको भावनालाई पनि सम्बोधन गर्नुपर्छ । अर्को कुरा कतिपय ठाउँमा परिपक्व नेतृत्व चाहिएको छ। पार्टीलाई मजबुत बनाउनका लागि सबै विचार सबै समूहलाई र सबै उमेर समूहलाई हामीले हाम्रो पार्टीभित्र एकताबद्ध बनाउन जरुरी छ । परिपक्व उमेर समूह पनि केही ठाउँमा चाहिएको छ ।’ उम्मेद्वार चयन गर्दापनि विवेक पुर्याउन उनले आग्रह गरिन् । प्रतिष्ठाका लागि नभइ सेवाको लागि लागेका कार्यकर्ताहरूलाई उचित अवसर प्रदान गर्नुपर्ने उनको बुझाई छ ।
पद नै सबैथोक होइन
पार्टीको जिल्ला सम्पर्क समिति समन्वय विभागको प्रमुखसमेत रहेकी केन्द्रीय सदस्य बास्तोलाले पद स्थायी नहुने भएकाले पदका पछि लाग्न नहुने सुझाव दिइन् । ‘पद भन्ने कुरा स्थायी हुँदैन । म अहिले केन्द्रीय समितिमा छु, १५औँ महाधिवेशनमा केन्द्रीय समितिमा नआउन पनि सक्छु । तर जिम्मेवारी पाएको बेलामा इमानदारीपूर्वक काम गर्ने हो र जिम्मेद्वारी सकिएपछि पनि फेरि संगठनका लागि काम गर्ने हो,’ उनले भनिन । आफूसँग पद नभए पनि अरुलाई सहयोग गर्नुपर्ने भन्दै उनले सत्तामा बसेर वा पदमा बसेरमात्रै होइन बाहिर बसेर पनि काम गर्न सक्नुपर्ने उनको भनाइ छ ।
‘सत्ता बाहिर वा सत्ता संगठन भन्दा बाहिर बसेर पनि संगठनको काम गर्न सक्छौं । किनभने राजनीति भनेको सेवा हो । सेवा गर्नको लागि पद नै चाहिन्छ भन्ने होइन्,’ उनले भनिन् । आगामी महाधिवेशनका लागि नेतृत्वको आकांक्षा राखिरहेका नेताहरुप्रति लक्षित गर्दै उनले पदका लागि आकाक्षा राख्नु अस्वभाविक नभएको औंल्याइन् । तर कतिपय हिजोका दिनमा पाएको अवसर र जिम्मेवारीबाट कमाएको इज्जतलाई कायम राख्न पदकै लागि अघि बढ्न नहुने उनको सोँच छ ।
सहज बन्दैछ गाउँ
जेन-जी आन्दोलनपछि असहज बनेको भनिएको ग्रामिण इलाका हाल सहज बन्दै गएको उनको भनाइ छ । काठमाडौँको प्रतिनिधि सभा क्षेत्र नं ९ आफ्नो क्षेत्र रहेकाले हाल सहज रुपमा मतदाता र कार्यकताहरुलाई भेट गरिरहेको उनले सुनाइन् । ‘केही समयअघि म क्षेत्रका घरहरूमा पुग्दा जवाफ दिन नसक्ने अवस्थामा थिएँ । मतदाता एवम शुभेच्छुकको प्रश्न जवाफ दिन नसक्ने अवस्थामा थिए तर केन्द्रीय समितिको बैठक एवम निर्णयले केही सहज भएको छ,’ उनले भनिन्,‘यतिबेला गाउँतिर उत्साह छ, जनता उत्साहित छन् ।’
पूराना पार्टीका नयाँ अनुहार खोजीमा छन्
जेन-जी आन्दोलनपछि नयाँ राजनीतिक दलहरूको उदयले पुरानाहरूलाई असहज बन्दै गएको छैन् भन्ने प्रश्नमा उनले यस्तो परिस्थिति इतिहासमा धेरै पटक आएको प्रतिक्रिया दिइन् । ‘अहिले वैकल्पिक शक्तिहरुको उदय भएको छ । तर नेपाली जनताले वैकल्पिक शक्तिको पनि धेरै पटक परीक्षा लिइसकेका छन् । भोट दिएर विजयी गराएर उनीहरूको काम गराइ हेरिसकेका छन्। त्यसैले यतिबेला जनताले पूराना पार्टीका नयाँ अनुहारलाई खोजेका छन् । मतदाताको घर घरमा पुग्दा उहाँहरूले वैकल्पिक भनिएका पार्टी भन्दा पनि पूराना पार्टीका नयाँ अनुहार रोजेका छन्,’ उनले भनिन्, ‘पुराना दलभित्रका नयाँ फेस नयाँ उर्जाका साथ युवा साथीहरूलाई खोजेको देखिन्छ । एउटै मान्छेलाई सातआठ पटक भन्दापनि नयाँ अनुहार रोजाइमा छन् ।’
यस्तोबेला नेपाली कांग्रेसले अलिकति विवेकपूर्ण रुपले निर्णय लिनसक्नुपर्ने उनको सुझाव छ । ‘परिपक्व नयाँ अनुहारहरू जो कुनै पनि सत्तामा नबसेका व्यक्तिहरूलाई खोजीमा छन् । क्षमता र योग्यता भएका समाजको एजेन्डा बोक्न सक्ने उम्मेद्वार गाउँले खोजेको छ । वैकल्पिक शक्तिले मात्र केही हुँदैन्,’ उनले प्रष्ट पारिन् ।
निर्वाचनको तयारी अपुग
सरकारले फागुन २१ का लागि तोकेको निर्वाचनको मिति र काम गराइप्रति उनले झिनो आशंका व्यक्त गरिन् । ‘हिजोआज निर्वाचनप्रति कता-कता आशंका लाग्न थालेको छ। प्रधानमन्त्रीलाई हाम्रा नेताहरूले भेट्नु पनि भएको छ । प्रधानमन्त्रीको भनाइ सुन्दा आगामी हुने निर्वाचन समयमै नै हुन्छ भन्ने नै छ । आयोगले पनि तयारी गरिरहेको अवस्था छ । तर जति गर्नुपर्ने थियो भएको छैन् । विगतमा हाम्रै नेतृत्वमा पनि थुप्रै निर्वाचनहरू सम्पन्न भएका छन् । त्यतिबेला जुन रफ्तार र समय लाग्थ्यो त्यो समय अहिले पर्याप्त छैन् । अर्को कुरा मतदातामा आशंका छ’, उनले भनिन्, ‘प्रहरी प्रशासनमा पनि पहिलेजस्तो कमाण्ड देखिएको छैन । त्यसैले निर्वाचन हुन्छ कि हुँदैन भन्ने कुरामा आशंका लागेको छ ।’
सरकारको टीओआर भनेको छ महिनाभित्र निर्वाचन गराउने नै हो तर उहाँहरूले नियुक्तिमा, राजदूत फिर्ता बोलाउने कुराहरु अल्झिरहेकाले निर्वाचन समयमै नहुने हो कि भन्नेमा बल पुगेको उनले भनाइ छ । ठूलो दुर्घटनाबाट नेपाल बचेकाले, ठूलो त्याग तपस्या, बलिदान, रगत-पसिना बगाएर ल्याएको गणतन्त्र र संविधानको रक्षाको लागि निर्वाचन गर्न अपरिहार्य रहेको उनको ठम्याई छ ।
सरकारको रवैया एकतिर, पुलिस प्रशासन अर्कोतिर अनि दलहरू पनि अर्कोतिर देखिएकाले निर्वाचन हुनेमा आशंका लागेको उनले बताइन् । आन्दोलन पश्चात थुप्रै नेताहरूको घर जलेको, पार्टी कार्यालय जलेकाले काम गर्न असहज भएको उनले बताइन् । तर निर्वाचनको तयारीमा आफूहरू जुटेको उनको भनाइ छ । अब हामी सबैजना मिलेर यो राष्ट्रलाई बचाउने हो भने संविधानलाई बचाउने हो भने निर्वाचन आवश्यक रहेको उनले बताइन् ।
प्रणाली बचाउन जरुरी
नेतृ बास्तोलाले यतिबेला सबै मिलेर लोकतन्त्र र प्रणाली बचाउन आवश्यक रहेको औंल्याइन् । ‘सबै जना वा सबै दलका सबै आम नेपाली नागरिक, सबैको सम्मान गर्दै देशलाई अझै अघि लाने हो भने सबै नागरिक जिम्मेवार हुनुपर्छ । सिस्टमलाई पनि बचाउनुपर्छ,’ उनले भनिन् । जेन-जीहरूको म्यान्डेट भनेको सुशासन रहेकाले सत्तामा बस्ने सबैको सम्पत्ति छानबिन गर्नुपर्ने उनले बताइन् । ‘पार्टीभित्र रहेका नेताहरूको पनि सम्पत्ति छानबिन गरेर एउटा सुशासनको बाटोमा नेपाललाई लैजानुपर्छ। हाम्रा जागरहरू जोसहरू अझै मरेर गएका छैनन् । यसबाट हामीले पाठ सिक्नुपर्छ । भदौ २३ र २४ को आन्दोलनलाई लिएर एकले अर्कोलाई गाली गर्ने होइन । त्यसबाट पाठ सिकेर आगामी दिनमा रणनीति बनाउनुपर्छ,’ उनले भनिन् ।