एमसीए–नेपालको सडक परियोजना शुरु: दुई वर्षभित्र धानखोला–लमही र मुग्लिन खण्डको स्वरूप फेरिने [भिडियो]
धानखोला–लमही र नारायणघाट–मुग्लिन सडक स्तरोन्नतिका लागि सम्झौता: ३ अर्ब लागतमा नयाँ प्रविधि भित्रिँदै
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ७ सोमबार
858
Shares
काठमाडौँ । मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल (एमसीए–नेपाल) अन्तर्गत दुई महत्त्वपूर्ण सडक आयोजनाहरूको निर्माण तथा सुपरीवेक्षणका लागि औपचारिक सम्झौता भएको छ। यस सम्झौताअनुसार धानखोला–लमही सडक खण्डको ४० किलोमिटर क्षेत्रमा नेपालमै पहिलो पटक 'फुल डेप्थ रेक्लेमेसन' र 'सुपरपेभ' जस्ता अत्याधुनिक प्रविधि प्रयोग गरी सडकको स्तरोन्नति गरिनेछ।
यसका साथै उक्त कार्यको सुपरीवेक्षणका लागि परामर्श सेवा र नारायणघाट–मुग्लिन सडक खण्डको आवधिक मर्मतसम्भारका लागि डिजाइन तथा निर्माण सुपरीवेक्षण सेवासम्बन्धी सम्झौतामा पनि हस्ताक्षर गरिएको छ। सडक मर्मत आयोजनाले सडकको दिगो सुधार, यातायात सुरक्षामा वृद्धि र आवागमनलाई थप सहज बनाउने विश्वास लिइएको छ।
एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले धानखोला–लमही खण्डको मर्मतका लागि मात्रै करिब २ करोड अमेरिकी डलर अर्थात् ३ अर्ब रुपैयाँ लागत लाग्ने जानकारी दिएका छन्। त्यस्तै निर्माण कार्यको गुणस्तर जाँच र सुपरीवेक्षण गर्ने परामर्शदाताका लागि ३७ लाख अमेरिकी डलर अर्थात् करिब ५० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। विष्टका अनुसार यी सबै काम आगामी २४ महिना अर्थात् २ वर्षभित्र सम्पन्न गरिसक्नुपर्नेछ। नारायणघाट–मुग्लिन खण्डको भने तत्काल नयाँ प्रविधिअनुसार डिजाइन गरिने र त्यसपछि अर्को ठेकेदारमार्फत ३६ किलोमिटर सडकको मर्मत सम्भार कार्य अघि बढाइने उनले बताए।
एमसीए–नेपालका परियोजनाहरू सम्पन्न गर्न ५ वर्षको समयसीमा तोकिएकोमा हालसम्म २ वर्ष ४ महिनाको अवधि व्यतीत भइसकेको छ। बाँकी रहेको २ वर्ष ८ महिनाभित्रै विद्युत् प्रसारण र सडक मर्मतका सबै कामहरू सक्ने लक्ष्यका साथ ७ वटा प्रमुख ठेक्काहरूको सम्झौता भइसकेको निर्देशक विष्टले उल्लेख गरेका छन्। अहिलेको कार्यतालिकाअनुसार समयमै परियोजना सक्ने दाबी गरिए तापनि परियोजनाहरूको वर्तमान प्रगतिलाई हेरेर निर्धारित समयभित्रै काम सकिनेमा कतिपय क्षेत्रमा संशय भने कायमै देखिएको छ। सडक मर्मतका यी आयोजनाले नेपालको राष्ट्रिय राजमार्गको गुणस्तरमा दीर्घकालीन सुधार ल्याउने अपेक्षा गरिएको छ।