काठमाडौँ। विगतका वर्षहरूमा पुस ८ गते ललितपुरको बाँडेगाउँस्थित सन्त नेता कृष्णप्रसाद भट्टराई (किसुनजी) को आश्रममा ठूलो चहलपहल हुन्थ्यो। तर, मङ्गलवार किसुनजीको १०२ औँ जन्मजयन्ती र स्मृति दिवसका अवसरमा यो आश्रम निकै सुनसान र उराठलाग्दो देखियो।
गत भदौ २३ र २४ गते भएको 'जेन–जी' आन्दोलनका क्रममा भएको उग्र आक्रमण र आगजनीले यो ऐतिहासिक आश्रमलाई अहिले भग्नावशेषमा परिणत गरिदिएको छ। आश्रमको मूल गेटमा तार बेरिएको छ भने परिसरभित्र आगजनी गरिएका दुईवटा सवारी साधनहरू अलपत्र अवस्थामा छन्। झ्यालका सिसाहरू फुटाइएका छन् र कहिल्यै सत्ताको लोभ नगर्ने सन्त नेताको शालिक समेत तोडफोड गरिएको छ। सिद्धान्तका लागि जीवनभर लडेका नेताको स्मृतिस्थलको यो विरक्तलाग्दो अवस्थाले त्यहाँ पुग्ने जो कोहीलाई भावविह्वल बनाउँछ।
राजनीतिक उचाइ र सन्त छवि विसं १९८१ मा बनारसमा जन्मिएका भट्टराईको जीवन आधुनिक नेपालको राजनीतिक इतिहास नै हो। सन् १९४२ को ‘अङ्ग्रेज भारत छोडो’ आन्दोलनदेखि नै राजनीतिक चेतनाले भरिएका भट्टराईले विसं २००७ को सशस्त्र क्रान्तिमा मुक्ति सेनाको कमाण्डरका रूपमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। २०१७ सालमा राजा महेन्द्रको ‘कू’ पछि उनले लगातार १० वर्ष र जीवनभर गरी १४ वर्षभन्दा बढी समय जेलमा बिताए, तर कहिल्यै वैदेशिक निर्वासन रोजेनन्।
बिपी कोइरालाको निधनपछि डेढ दशकसम्म नेपाली कांग्रेसको कार्यवाहक सभापति बनेर पार्टी हाँकेका भट्टराई २०४६ सालको जनआन्दोलन पछिको अन्तरिम प्रधानमन्त्री थिए। एक वर्षभित्र संविधान निर्माण र निर्वाचन गराउने चुनौतीपूर्ण जिम्मेवारी उनले सफलतापूर्वक पूरा गरे। तर, विडम्बना! आफू प्रधानमन्त्री रहँदा गराएको २०४८ को निर्वाचनमा उनी आफैँ पराजित भए। हारलाई सहजै स्वीकार गरी बालुवाटारबाट छाता र कमण्डलु बोकेर पैदल निस्किएको उनको दृश्य आज पनि नेपाली राजनीतिमा 'नैतिकता' को सबैभन्दा ठूलो मानक मानिन्छ।
अस्तित्वको सङ्कटमा स्मृतिस्थल पूर्वसांसद प्राध्यापक होमराज दाहालका अनुसार, भट्टराईले सधैँ अहिंसात्मक आन्दोलन र प्रजातन्त्रमा विश्वास गरे। तर, उनकै सम्झनामा बनेको पवित्र आश्रम आज हिंसाको चपेटामा परेको छ। यस वर्ष आश्रममा न त कुनै राजनीतिक दलका नेताहरूको उपस्थिति थियो, न त कुनै विशेष कार्यक्रम नै आयोजना गरियो। सिसाका टुक्रा र आगजनीको टाटोले मात्रै सन्त नेताको सम्झना गरिरहेको भान हुन्थ्यो।
विसं २०६७ फागुन २० गते निधन भएका भट्टराईलाई पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ बिदाइ गरिएको थियो। आज राजनीतिमा नैतिकता र संस्कारको खडेरी परिरहेका बेला, उनकै आश्रमको यो दयनीय अवस्थाले वर्तमान राजनीतिको एउटा कुरुप तस्बिर छर्लङ्ग पारेको छ।