कोकिन तस्करीको 'ट्रान्जिट' बन्दै काठमाडौँ, साढे चार किलो लागूऔषध बरामद
सुटकेस र क्याप्सुलमा लुकाइएको साढे चार किलो लागुऔषध बरामद
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १० बिहिबार
669
Shares
काठमाडौँ । लागूऔषध नियन्त्रण ब्यूरोले काठमाडौँको सिनामङ्गल क्षेत्रबाट करिब साढे चार किलो अवैध लागुऔषध कोकिनसहित एक थाई र दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। ब्यूरोको टोलीले हवाई मार्ग हुँदै नेपाल प्रवेश गरेका विदेशीहरूको निगरानी गर्ने क्रममा ४ किलो ३०० ग्राम कोकिनसहित उनीहरूलाई समात्न सफल भएको हो।
पक्राउ पर्नेहरूमा थाइल्याण्डकी ४० वर्षीया रुसानी कामा, भारतका ५५ वर्षीय जेभियर म्याथ्यू थालियाचेरी र २१ वर्षीय मुर्सालेन हुसेन रहेका छन्। ब्यूरोका सहप्रवक्ता एवं प्रहरी नायब उपरीक्षक जीवन निरौलाका अनुसार थाई नागरिक कामाले ५५० ग्राम कोकिन १२ वटा प्लास्टिकका क्याप्सुलभित्र लुकाएर ल्याएकी थिइन्। उनी लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौँ आइपुगेकी थिइन्।
त्यसैगरी, लाओसबाट सिङ्गापुर हुँदै काठमाडौँ आएका भारतीय नागरिक जेभियरले सुटकेसभित्र ३ किलो ७५० ग्राम कोकिन लुकाएर ल्याएको अवस्थामा बरामद गरिएको हो। अर्का भारतीय नागरिक मुर्सालेन भने उक्त कोकिन लिनका लागि नेपाल आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरीले पक्राउ परेका तीनै जनालाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी विस्तृत अनुसन्धान गरिरहेको छ। उनीहरूले नेपाललाई ट्रान्जिट बनाएर वा यहाँ बसेर कोकिनको अन्तर्राष्ट्रिय कारोबार गर्ने गरेको पाइएको ब्यूरोले जनाएको छ।