arrow

जोडी जुराउने रेडियो, पत्र बोक्ने हुलाकी

सन्दर्भ प्रेम दिवस

logo
कर्ण चन्द,
प्रकाशित २०७३ फागुन ३ मंगलबार
news-jodiko-nnn.jpeg

डोटी ।  २०६५ सालमा डोटीको गगुडा गाविसका टेकबहादुर चन्द रेडियोका नियमित स्रोता हुन् । अहिले जस्तो जहाँतही एफएम रेडियो थिएनन् त्यतिबेला । रेडियो नेपालका कार्यक्रम नछुटाई सुन्थे चन्द । सस्यान ठुली जिमालीकी सुजना शाही पनि रेडियो नेपालकै नियमित स्रोता । चन्द र शाही दुवै रेडियोका स्रोता त थिए नै तर, दुवैको रोजाइको कार्यक्रम थियो ‘परदेशीको सन्देश’ ।

रेडियो नेपालबाट प्रत्येक आईतबार प्रशारण हुने कार्यक्रम विदेशमा बस्नेहरु लागि लक्षित गरी उत्पादन गरिएको लोकप्रिय कार्यक्रम थियो । चन्दले परदेशीको सन्देश कार्यक्रममा पत्र मित्रताका लागि ठेगाना लेखेर पत्राचार गरे । चन्दको भावना विचारको प्रभावमा परेर सुजनाले पनि पत्रमित्र साथी बनाउन भन्दै २०६५ असोजमा  हुलाक मार्फत चन्दलाई पत्राचार गरिन् ।

तत्कालीन अवस्थामा खबर आदान प्रदानको बलियो माध्यम हुलाक नै थियो । दुवै जनाले डेढ दर्जन पत्रहरु आदानप्रदान गरे । मनका भावना साटासाँट गरे । दुवै पत्रमित्र साथीको भावनाले मेल खाए । अन्ततः पत्रमित्रतालाई दुवैले एउटै रथका दुई पाङ्ग्रा बनाउने अर्थात् विवाहमा परिणत गर्ने मनस्थिति बनाए ।

हुलाकबाट पत्र आदान प्रदान ढिला हुन्थ्यो, चन्द सम्झिन्छन्, ‘दुवैका बीचमा महिनामा एउटा पत्र मात्रै आदान प्रदान हुन्थ्यो ।’ चन्दले अगाडि भने,  ‘हामी महिनामा प्राय दिन जसो पत्र लेख्न चाहन्थेम् तर एकको पत्र अर्कोलाई पुग्न महिना कुर्नै पर्दथ्यो । हुलाकी बाटोमा देख्दा पत्र आयो की भन्ने ठूलो आश लाग्थ्यो ।’

सञ्चारको विकाससँगै मोवाईल फोन हात हातमा आए । मोवाईल फोनले पत्र कोरिहनु पर्ने बाध्यतालाई कम गरिदियो । र, यो प्रेम जोडीकाबीचमा सम्बन्ध बढी झाँगियो । दैनिक जसो घण्टौं फोनमा कुरा हुन थाले । चन्दले भने, ‘फोनमा विगत, वर्तमान र भविष्यबारे निकै साक्षात्कार हुन्थ्यो । हामी एक अर्काबीचको फोन सम्वादमा कति समय खर्च गथ्यौं त्यो त भन्न सक्दिन । फोन सम्पर्क भएको पहिलो दिनमा १२ सयको रिर्चाज कार्ड एकै दिनमा सकेका थियौं ।’

३ वर्षसम्म पत्र, फोन र भेटघाट मार्फत प्रेम सम्बन्ध रहयो । चन्द र शाहीको प्रेम सम्बन्धले २०६८ असोजमा विवाहको औपचारिकता पायो । सुजना भन्छिन् ‘प्रेम त्यस्तो चिज हो । जसले संसारमा सबै भन्दा महान् आफ्नो प्रेमिलाई देखाउँछ । एक प्रेम जोडीका सामु संसारका सबै चिज मिथ्या लाग्छन् ।’ सुजनाले थपिन ‘विवाह पछि प्रेमि प्रेमीकाबीचको प्रेम घटछ भन्ने सुनेको थिए, मैले त्यस्तो अनुभव गरिन, विवाह भन्दापछि पनि हामी दुईबीचको प्रेम उस्तै प्रगाढ छ ।’

रेडियो नेपालको कार्यक्रम ‘प्रदेशीको सन्देश’ ले जुराएको प्रेम जोडीको अहिले एउटा छोरा छ । चन्द दम्पतीले कैलालीको धनगढीमा व्यापार थालेको छ । दुवै मिलेर व्यापार गर्छन् । प्रेम सम्बन्धबाट विवाहमा परिणत भएको कारण ‘प्रेम दिवस’ आफ्ना लागि महत्वपूण दिन भएको चन्दले बताए ।  प्रेमबारे चन्द भन्छन् ‘प्रेमको जित भन्दा पनि हार तिर ठूलो हिस्सा हुन्छ । दुुई मध्ये कुनैले पनि अरुको खुसीका लागि आफ्ना निजी स्वार्थ त्याग्न सक्नु नै सच्चा प्रेम हो ।’

सुदूरपश्चिम र मध्यपश्चिमकाबीचमा सम्बन्धको साईनो जुराउने दुवैले रेडियो नेपाललाई विशेष धन्यवाद भने ।  सुजनाले भनिन् ‘रेडियोको एक कार्यक्रमको एक पत्रले हामीले एक जीवन एक भएर बाच्ने प्रण गरेका छौं ।’  दुवैमा समजदारी भएमा प्रेम विवाह गर्दा कुनै समस्या नआउनेमा चन्द विश्वस्त छन । चन्दले भने ‘धेरै प्रेमहरु विवाहमा परिणत भएमा असफल हुन्छन भन्ने छ तर मेरो भोगाई फरक छ । प्रेम पूर्ण विश्वासी, निश्वास्र्थ हुनु पर्दछ । दुर्घटना हुनै सक्दैन ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ