arrow

राहदानी सम्बन्धी सेवा शुल्क परिवर्तन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १७ बिहिबार
passport-rahadani-17-09.jpg

काठमाडौँ । थाइल्याण्डको बैंककस्थित नेपाली दूतावासले विभिन्न कन्सुलर तथा राहदानी सेवामा लाग्ने शुल्कमा परिवर्तन गरेको छ ।

दूतावासले जारी गरेको सूचनाअनुसार स्थानीय मुद्रा थाई भाटमा लिने राजस्व दस्तुरमा विनिमय दरमा आएको परिवर्तन समायोजन गर्दै नयाँ शुल्क दर कायम गरिएको हो ।

संशोधित शुल्क मिति २०८२ पुस १७ देखि लागू हुने सूचनामा उल्लेख छ। सूचनाअनुसार राहदानीसम्बन्धी सेवामा शुल्क घटाइएको छ ।

३४ पृष्ठको साधारण राहदानीका लागि शुल्क तीन हजार २०० बाट दुई हजार ६०० भाट पुर्याइएको छ भने ६६ पृष्ठको साधारण राहदानीको शुल्क पाँच हजार २०० बाट चार हजार २०० भाट कायम गरिएको छ ।

यसैगरी, हराएको, च्यातिएको, केरमेट भएको वा अन्य कारणले प्रयोग हुन नसक्ने राहदानीका हकमा लाग्ने शुल्क पनि चार हजार ८०० बाट तीन हजार ९०० भाट तोकिएको छ । १० वर्षभन्दा कम उमेरका नाबालकको हकमा राहदानी शुल्क एक हजार ६०० बाट एक हजार ३०० भाट कायम गरिएको छ ।

कन्सुलर सेवाअन्तर्गत विभिन्न कागजात प्रमाणीकरण, मञ्जुरीनामा, जनशक्ति/रोजगार तथा सेवा सम्झौता, विवाह दर्ता प्रमाणपत्र, शैक्षिक प्रमाणपत्र, नाता प्रमाणित, नागरिकता तथा लाइसेन्स, जन्म-मृत्यु दर्ता लगायत सेवामा लाग्ने शुल्क एक हजार ६०० बाट एक हजार ३०० भाट कायम गरिएको छ ।

बैंक तथा वित्तीय संस्थाबाट जारी कागजात, प्रहरी प्रतिवेदन, चिकित्सकको प्रमाणपत्र, उत्पत्तिको प्रमाणपत्रलगायत अन्य कागजात प्रमाणीकरणको शुल्क दुई हजारबाट एक हजार ६०० भाट तोकिएको छ ।

गैरआवासीय नेपाली परिचयपत्रसम्बन्धी सेवामा पनि शुल्क समायोजन गरिएको छ ।

गैरआवासीय नेपालीका रूपमा दर्ता निवेदन दिँदा लाग्ने शुल्क ८०० बाट ६५० भाट कायम गरिएको छ ।

नेपाली मूलका विदेशी नागरिकलाई परिचयपत्र जारी तथा नवीकरण गर्दा लाग्ने शुल्क १० हजारबाट आठ हजार भाट बनाइएको छ भने विदेशमा बस्ने नेपाली नागरिकका लागि परिचयपत्र जारी तथा नवीकरण शुल्क दुई हजारबाट एक हजार ६०० भाट निर्धारण गरिएको छ ।

नेपाली दूतावास बैंककले संशोधित शुल्कदर लागू भइसकेकाले सेवा लिन आउने सेवाग्राहीलाई नयाँ दरअनुसार राजस्व बुझाउन अनुरोध गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ