पश्चिमी वायुले निम्त्यायो चिसो: तराईमा बाक्लो हुस्सु र हिमाली भेगमा हिमपातको सम्भावना
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २१ सोमबार
811
Shares
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले देशभरिको मौसममा त्यसको प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही अन्य क्षेत्रको मौसम सफा रहने भए पनि तराईमा भने चिसो र हुस्सुको प्रकोप बढेको छ।
आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली हुने देखिएको छ। तराईका अधिकांश स्थानहरूमा भने बाक्लो हुस्सु र कुहिरो लाग्ने हुनाले दैनिक जनजीवन र यातायातमा सामान्य प्रभाव पर्न सक्ने महाशाखाले जनाएको छ। साथै, कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको समेत सम्भावना रहेको छ।
आज राति पनि कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगमा आंशिक बदलीकै अवस्था रहनेछ भने तराईका धेरैजसो स्थानमा हुस्सु र कुहिरो कायमै रहनेछ। महाशाखाले चिसोबाट बच्न र आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।