जाडोमा टाउको दुख्नु सामान्य मात्र होइन, यस्ता छन् जटिल कारण र बच्ने उपाय
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २१ सोमबार
815
Shares
काठमाडौँ । तराई क्षेत्रमा चिसोको लहर बढेसँगै अस्पतालहरूमा टाउको दुखाइको समस्या लिएर आउने बिरामीको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ। चिसो हावा, तापक्रममा आएको अचानक परिवर्तन र शरीरमा पानीको कमी जस्ता कारणले गर्दा यस्तो समस्या देखिएको चिकित्सकहरूले बताएका छन्। कोशी अस्पताल विराटनगरका वरिष्ठ फिजिसियन डा. रोशन खड्काका अनुसार जाडोमा शरीरको तापक्रम घट्दा रक्तनलीहरू सङ्कुचित हुने र टाउकोतर्फ जाने रक्तप्रवाहमा कमी आउने भएकाले मानिसले टाउको भारी भएको वा निरन्तर दुखेको अनुभव गर्छन्।
विशेषगरी जाडोमा तिर्खा कम लाग्ने भएकाले मानिसहरूले पानी कम पिउने गर्छन्, तर शरीरमा पानीको कमी (डिहाइड्रेसन) हुँदा टाउको दुखाइ पहिलो सङ्केतका रूपमा देखिन सक्छ। यस्तै, चिसो हावाका कारण घाँटी र काँधका मांसपेशी कडा हुँदा पनि दुखाइ पछाडिबाट अगाडि फैलिने गरेको पाइएको छ। मोटरसाइकल चालक, राति चिसोमा सुत्नेहरू र लामो समय मोबाइल वा कम्प्युटर प्रयोग गर्नेहरू यसको उच्च जोखिममा रहेका छन्।
जाडो मौसम माइग्रेन र साइनसका बिरामीका लागि झन् संवेदनशील हुने गर्दछ। उज्यालो र आवाज सहन नसक्ने, बान्ता आउने र टाउकोको एकातर्फ मात्र दुख्ने जस्ता माइग्रेनका लक्षणहरू चिसो हावा र निन्द्राको गडबडीले गर्दा झन् बढ्ने गर्छन्। साथै, घाम ताप्ने समय कम हुँदा शरीरमा भिटामिन 'डी' को कमी भई मांसपेशीमा थकान र दुखाइ थपिने चिकित्सकको भनाइ छ।
डा. खड्काले सामान्य टाउको दुखाइलाई बेवास्ता नगर्न आग्रह गर्दै औषधि खाँदा पनि निको नभएमा, दृष्टि धमिलो भएमा वा ज्वरो आएमा तत्काल चिकित्सकको परामर्श लिन सुझाव दिएका छन्। यस समस्याबाट बच्न पर्याप्त पानी पिउन, न्यानो कपडाले घाँटी र कान छोप्न, बिहानको घाम ताप्न र घाँटीको हल्का व्यायाम गर्न चिकित्सकहरूले सल्लाह दिएका छन्। दैनिक जीवनशैलीमा सानो सचेतता अपनाए जाडोमा हुने यस्ता स्वास्थ्य जटिलताबाट जोगिन सकिने उनीहरूको ठहर छ।