व्यवसायीलाई इमानदार बन्नैपर्ने दबाब: देशभरका सबै भन्सारमा 'अनलाइन मूल्यांकन'
भन्सार महानिर्देशकको घोषणा: नक्कली बिलको खेल सकियो, अब वास्तविक कारोबार मूल्यमै जाँचपास
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २१ सोमबार
830
Shares
काठमाडौँ। सरकारले भन्सार जाँचपासमा दशकौँदेखि कायम रहँदै आएको 'सन्दर्भ मूल्य पुस्तिका' लाई पूर्ण रूपमा खारेज गरी 'अनलाइन मूल्यांकन डाटाबेस प्रणाली' कार्यान्वयनमा ल्याएको छ।
भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीका अनुसार गत भदौ ८ गतेदेखि मुख्य भन्सार नाकाहरूमा सुरु गरिएको यो प्रणाली पुस १८ गतेदेखि देशभरका सबै १८ वटा भन्सार कार्यालयहरूमा विस्तार गरिएको छ। यो परिवर्तनसँगै अब व्यवसायीले घोषणा गरेको वास्तविक 'कारोबार मूल्य' (भन्सार बिन्दुसम्म आइपुग्दा लागेको कुल खर्च) का आधारमा मालवस्तुको जाँचपास हुनेछ।
विगत २७ वर्षदेखि निजी क्षेत्रले उठाउँदै आएको मागलाई सम्बोधन गर्दै विभागले यो पारदर्शी प्रणाली अपनाएको हो। पहिले सन्दर्भ मूल्यलाई आधार मान्दा नक्कली बिल-बिजक पेस गर्ने र बजारमा भ्याट बिल जारी गर्न समस्या हुने जस्ता गुनासाहरू व्यापक थिए।
अबको प्रणालीमा व्यवसायीले सही कागजात र वास्तविक मूल्य पेस गर्नुपर्नेछ। यदि विवरण गलत वा झुटा पाइएमा जरिवाना तिर्नुपर्ने व्यवस्था गरिएको छ। यसले व्यवसायीहरूलाई इमानदार बन्न दबाब दिने र मुहानमै पारदर्शिता कायम हुने विश्वास महानिर्देशक भण्डारीले व्यक्त गरेका छन्।
यो नयाँ प्रणाली आर्टिफिसियल इन्टेलिजेन्समा आधारित 'जोखिम व्यवस्थापन प्रणाली' सँग जोडिएको छ। यसले कुनै पनि वस्तुको मूल्य अस्वाभाविक रूपमा कम वा बढी भएमा स्वतः पहिचान गर्नेछ। साथै, आसिकुडा प्रणालीमार्फत कुन आयातकर्ताले कुन एजेन्टमार्फत कति मूल्यमा सामान ल्याएको हो र कुन अधिकारीले जाँचपास गरेको हो भन्ने सबै रेकर्ड सुरक्षित रहनेछ। यो व्यवस्थाले भन्सार प्रशासनलाई आधुनिक बनाउनुका साथै नेपालको अन्तर्राष्ट्रिय व्यापारलाई थप विश्वसनीय र पारदर्शी बनाउने आधार प्रदान गरेको छ।