शुरू हुँदै सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २४ बिहिबार
779
Shares
काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह-२०८२ आयोजना गर्ने भएको छ ।
बिहीबार कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी प्रहरी उपरीक्षक नरेशराज सुवेदीले पुस २६ देखि माघ ३ गतेसम्म ट्राफिक सप्ताह-२०८२ आयोजना गर्न लागेको जानकारी दिए ।
उनले सवारी दुर्घटना न्यूनीकरण गर्ने, सडक प्रयोगकर्ताको व्यवहारमा सुधार गर्ने, ट्राफिक नियमको निष्पक्ष पालना गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागेको जानकारी दिए ।
उनले भने,‘सवारी दुर्घटना न्यूनीकरण गर्ने, सडक प्रयोगकर्ताको व्यवहारमा सुधार गर्ने, ट्राफिक नियमको निष्पक्ष पालना गर्ने, सडक दुर्घटनाबाट हुने मानवीय, सामाजिक तथा आर्थिक क्षति न्यूनीकरण गरी अनुशासित यातायात प्रणालीको विकासमा टेवा पुर्याउने उद्देश्यले गर्न लागेको हौँ ।’
उनले मुख्य चोकहरूमा सचेतना कार्यक्रम, सवारी साधनमा स्टिकर टाँस्ने, माइकिङ, जेब्रा क्रसिङ नभएका ठाउँमा सुरक्षित बाटो काट्ने तालिम, चालक-सहचालकलाई विशेष काउन्सेलिङ, विद्यालय, आमा समूह र टोल सुधार समितिमा जागरण कार्यक्रमहरू सञ्चालन गरिने पनि जानकारी दिए ।
उपरीक्षक जोशीले चालकको व्यवहारमा सुधार र सडक तथा सवारी साधनको अवस्थामा सुधार नगरेसम्म दुर्घटना न्यूनीकरण गर्न अत्यन्तै चुनौतीपूर्ण रहेको बताए ।
उनले भने,‘चालकको व्यवहारमा सुधार, सडक तथा सवारी साधनको अवस्थामा सुधार नगरेसम्म दुर्घटना न्यूनीकरण गर्न अत्यन्तै चुनौतीपूर्ण हुने भएकाले सडक प्रयोगकर्ताहरूको व्यवहार सुधारका लागि रात्रिकालीन समयमा सचेतना, मादक पदार्थ सेवन गरेर सवारी चलाउने, तीव्र गति, रातो बत्ती र लेन अनुशासन कायम नगर्नेलाई जनचेतना कार्यक्रमसमेत सञ्चालन गरेका छौँ । सडक प्रयोगकर्ताको व्यवहार सुधार गरी दुर्घटना न्यूनीकरण गर्नु ट्राफिक प्रहरीको मुख्य प्राथमिकताको विषय हो ।’
सवारी साधनको संख्यामा उल्लेखनीय वृद्धि भइरहेको र सो अनुपातमा सडकको विकास र विस्तार गर्न नसकेकाले सबै प्रकारका सवारी साधन एउटै लेनमा चल्नुपर्ने अवस्थाले ट्राफिक जामको समस्या हुने गरेको उनको भनाइ छ ।
‘सवारी साधनको संख्यामा उल्लेखनीय वृद्धि भइरहेको र सो अनुपातमा सडकको विकास र विस्तार गर्न नसकेकोले सबै प्रकारका सवारी साधन एउटै लेनमा चल्नुपर्ने अवस्थाले गर्दा राजधानीका विभिन्न स्थानमा ट्राफिक जामको समस्या हुने गरेको छ । काठमाडौँमा दैनिक १८ लाख भन्दा बढी सवारी साधन चल्ने गरेको तथ्यांकले देखाएको छ’ उनले भने ।