arrow

कोशीमा शुरू भयो घुम्ती अस्पताल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २६ शनिबार
ghumti-hospital-koshi.jpg

मोरङ । कोशी प्रदेश सरकारले पहिलोपटक कोशी घुम्ती अस्पताल सञ्चालनमा ल्याएको छ । झापाको कमल गाउँपालिकाबाट घुम्ती अस्पतालको शुभारम्भ गरिएको हो ।

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले घुम्ती अस्पतालको शुभारम्भ गर्दै यो सेवालाई गाउँगाउँसम्म विस्तार गरिने बताए ।

महामारी फैलिँदा तथा आकस्मिक स्वास्थ्य संकटका बेला तत्काल सेवा पुर्याउन घुम्ती अस्पताल प्रभावकारी हुने विश्वास रहेको उनले बताए ।

ठूलो बसभित्र अत्याधुनिक स्वास्थ्य उपकरण जडान गरी घुम्ती अस्पताल सञ्चालन गरिएको हो।

कोशी प्रदेश स्वास्थ्य निर्देशनालयकी नर्सिङ प्रशासक आस्था थापाका अनुसार घुम्ती अस्पतालमा रेडियोलोजी सेवा, मुटुको एक्सरे, ब्लड टेस्ट तथा रगतको नमुना सङ्कलन गरी परीक्षण गर्ने उपकरण जडान गरिएको जानकारी दिइन् ।

मुख्यमन्त्री कार्कीले यो घुम्ती अस्पताल नेपालमै पहिलो र नमुनायोग्य भएको उल्लेख गर्दै यसलाई थप परिस्कृत गरी आम जनतासम्म पुर्याउने तयारी प्रदेश सरकारले गरिरहेको जनाए ।

प्रदेश सरकारका स्वास्थ्य मन्त्री मानबहादुर लिम्बुले प्रदेश सरकारले जनताले देख्ने गरी स्वास्थ्य क्षेत्रमा काम गरिरहेको बताए ।

घुम्ती अस्पताल सञ्चालनका लागि करिब ८० लाख रुपैयाँ खर्च गरिएको स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।

उनका अनुसार बसमै सबै सेवा समेटेर स्वास्थ्य सेवा प्रवाह गर्ने उद्देश्यले घुम्ती अस्पताल शुरू गरिएको हो ।

यसैबीच स्वास्थ्य निर्देशनालयले घुम्ती अस्पताल शुभारम्भकै अवसरमा कमल गाउँपालिकामा स्वास्थ्य शिविरसमेत आयोजना गरिएको जनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ