शान्ति सुरक्षाको कारणले निर्वाचन प्रभावित हुँदैन : रामप्रसाद भण्डारी [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २८ सोमबार
681
Shares
काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्ति सुरक्षाको कारणले निर्वाचन प्रभावित नहुने बताएका छन् ।
आयोगले सोमबार आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उनले शान्ति सुरक्षाबारे आशंका गर्नु नपर्ने बताएका हुन् ।
निर्वाचनमा शान्ति सुरक्षाका लागि करिब साढे पाँच लाख जनशक्ति परिचालन गरिने जानकारी दिए ।
उनले २०४८ सालपछिका सबै निर्वाचन विभिन्न चुनौतीका बीच सफलतापूर्वक सम्पन्न गरिएको उल्लेख गर्दै आगामी निर्वाचनललाई पनि भयरहित ढंगले सम्पन्न गर्ने बताए ।
विगतमा पनि निर्वाचन हुन्छ कि हुँदैन? भन्ने बहस निर्वाचनको अघिल्लो दिनसम्म हुने गरेको उल्लेख गर्दै उनले निर्वाचनबाहेक अर्को विकल्प नभएकाले तोकिएको समयमा नै निर्वाचन हुने बताए ।
निर्वाचन आयोगले शान्ति सुरक्षाको विषयमा सरकारका मन्त्री, सचिव तथा सुरक्षा निकायका प्रमुखहरूसँग पटक-पटक छलफल गरिसकेको उनले जानकारी दिए ।
सरकार र सुरक्षा निकायका प्रमुखहरूले शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति दिएकोले यस विषयमा अब शंका-उपशंका गर्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।
उनले विगतमा पनि निर्वाचन बिथोल्ने शक्ति र हतियार बाहिर भएको अवस्थामा पनि निर्वाचन गराएको स्मरण गरे। अहिले त्यस्तो गम्भीर खतरा आयोगले महसुस नगरेको उनको भनाइ छ ।
उनले भने, ‘शान्ति सुरक्षा लगायत निर्वाचनको क्रममा अहिले लगभग साढे पाँच लाख जनशक्ति परिचालन हुँदैछ । पहिला पहिला पनि हाम्रो निर्वाचन हुँदाखेरी २०४८ पछि २०६४, २०७० को संविधानसभाको निर्वाचन लगायतका सबै निर्वाचन हामीले भोग्यौँ, व्यहोर्यौँ । त्यो बेला पनि निर्वाचन के हो? हुन्छ, हुँदैन लगायतका विषयहरू निर्वाचनको अघिल्लो दिनसम्म पनि आउँछ । तर निर्वाचन बाहेक अरु कुनै विकल्प नभएको निर्विकल्प निर्वाचन भएकोले शान्ति सुरक्षाको सन्दर्भमा सरकार अत्यन्तै सचेत छ ।’
उनले थपे, ‘हामीले दर्जनौँ पटक सरकारको मन्त्री, सचिव, सुरक्षा निकायका प्रमुखहरूसँग भेटेर छलफल गरेका छौँ । शान्ति सुरक्षाको सन्दर्भमा यहाँहरूले कुनै पनि कमी कमजोरी छ की भनेर आशंका गर्नुपर्ने स्थिति छैन । शान्ति सुरक्षाको पूर्ण प्रत्याभूत गर्न सरकार तयार छ, भनेर सरकारको तर्फबाट र सुरक्षा निकायका प्रमुखहरूको तर्फबाट पनि यो भनाइ आएको हुनाले शान्ति सुरक्षाको सन्दर्भलाई लिएर शंका उपशंका गर्ने विषयलाई अब छाड्दिउँ, अब त्यो विषय चर्चाको विषय रहेन । किन चर्चाको विषय रहेन भने हामीले थुप्रै निर्वाचनहरू हतियार थुप्रै भएर पनि निर्वाचन गरेका छौँ। बाहिर के कति हतियार छ र निर्वाचन विथोल्ने शक्ति के कसो बाहिर छ भनेर पहिचान नभएको बेलामा पनि हामीले निर्वाचन सम्पन्न गरेका छौँ।’
अहिलेको परिवेशमा बाहिर कुनै किसिमको खतरा छ भन्ने कुरो आयोगले महसूस नगरेको उनले बताए ।
उनले भने, ‘सरकारको तर्फबाट पनि त्यो महसूस भएको हामीलाई आभास भएको छैन । त्यसो भएको हुनाले शान्ति सुरक्षाको प्रत्याभूत हुन्छ । फेरि हिजो विथोलिएको समाज, शान्तिसुरक्षा भंग भएको समाजमा अब शान्तिसुरक्षा नभई निर्वाचन हुँदैन भन्ने तपाई हाम्रो एकमत भएको हुनाले पहिले पहिले हुने निर्वाचन भन्दा अहिले अलि विशेष परिस्थितिबाट सबैले सर्तकता अपनाएर त्यो निर्वाचन सम्पन्न गर्नुपर्छ।’
उनले निर्वाचनको व्यवस्थापनसम्बन्धी सम्पूर्ण काम आयोगले सम्पन्न गरेको पनि जानकारी दिए ।
हाल राष्ट्रिय सभा सदस्यको निर्वाचन, प्रतिनिधि सभाको समानुपातिक र प्रत्यक्ष तहको गरी तीन किसिमका निर्वाचनमा आयोग एकसाथ लागेको उनको भनाइ छ ।
उनले समानुपातिकतर्फ सोमबार उम्मेद्वारहरूले नाम फिर्ता दिने कार्यक्रम रहेको पनि जानकारी दिए ।
उनले द्वन्द्व र अस्थिरता भोगेको समाजलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र ढंगबाट निर्वाचन गराएर लोकतान्त्रिक बाटोमा ल्याउनुपर्ने आवश्यकता औंल्याए ।