नसर्ने रोगको उपचारमा अर्बौँ खर्च, रोकथाम ओझेलमाः मन्त्री गौतम
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २८ सोमबार
755
Shares
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले नेपालको कुल स्वास्थ्य खर्चको सबैभन्दा ठूलो हिस्सा नसर्ने रोगको उपचार र यससँग सम्बन्धित समस्यामा खर्च भइरहेको बताएकी छन्।
एनसीडी एलायन्स नेपालद्वारा आयोजित कार्यक्रममा मन्त्री गौतमले अधिकांश नसर्ने रोगहरू रोकथाम गर्न सकिने भए पनि उपचारमा मात्र केन्द्रित हुँदा राज्यमाथि ठूलो आर्थिक भार थपिएको बताएकी हुन् ।
मन्त्री गौतमले स्वास्थ्य बीमा कार्यक्रममा देखिएको वित्तीय खाडलका बारेमा समेत टिप्पणी गरिन् ।
सरकारले बीमाका लागि १० अर्ब र थप एक अर्ब गरी जम्मा ११ अर्ब रुपैयाँ बजेट छुट्याएकोमा हालसम्मको खर्च २४ अर्ब रुपैयाँ पुगिसकेको उनले जानकारी दिइन् ।
स्थानीय सरकारले निःशुल्क उपलब्ध गराउनुपर्ने आधारभुत स्वास्थ्य सेवाका लागि समेत बीमाको रकम खर्च भइरहेको र जनताले निःशुल्क पाउनुपर्ने औषधिमा प्रिमियम तिरिरहेको अवस्थाले गर्दा सरकारमाथि दोहोरो आर्थिक भार परेको उनको तर्क छ ।
अर्थ मन्त्रालयले यति ठूलो मात्रामा भुक्तानी गर्न नसक्ने स्थितिमा रहेकाले यसको पुनरावलोकन आवश्यक रहेको उनले उल्लेख गरिन् ।
शहरी स्वास्थ्य सेवाका चुनौतीहरू औँल्याउँदै मन्त्री गौतमले ग्रामीण क्षेत्रमा स्वास्थ्य पूर्वाधारहरू विस्तार भए पनि शहरी क्षेत्रका विपन्न वर्गका लागि आधारभूत स्वास्थ्य सेवा अझै पहुँचभन्दा बाहिर रहेको बताइन् ।
स्वास्थ्यकर्मीको वितरणमा देखिएको असमानता हटाउन मन्त्रालयले तथ्याङ्कका आधारमा न्यायोचित सरुवा र पदस्थापन गर्ने तयारी गरिरहेको समेत उनले स्पष्ट पारिन् ।
मन्त्री गौतमले नेपालमा धुम्रपान नियन्त्रण र नसर्ने रोग व्यवस्थापनका लागि उत्कृष्ट नीति र कानुनहरू भएपनि कार्यान्वयन पक्षमा ध्यान दिनुपर्नेमा जोड दिइन् ।
जनशक्ति सुगम क्षेत्रमा मात्र केन्द्रित हुने प्रवृतिले सेवा प्रवाहमा समस्या आएको बताउँदै उनले अब इक्विटी (न्याय) का आधारमा स्वास्थ्यकर्मीहरूको परिचालन गरिने प्रतिवद्धता व्यक्त गरिन् ।
कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिहरूलाई समेत सहभागी गराई सेवा प्रवाहमा हुने खर्च घटाउने र प्रभावकारिता बढाउने विषयमा छलफल गरिएको थियो ।