arrow

मासिकफल

माघमा जनताले केही राहत महसुस गर्न पाउने

हिमपात, शीतलहर हुने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १ बिहिबार
monthly-horoscope.jpg

माघ महिनाको मासिकफल

माघ महिनामा ग्रहस्थिति सामान्यतया राम्रा छन् । बिहीबारको संक्रान्ति उत्तम छ । स्वास्थ्यको क्षेत्रमा केही विशेष फलदायी रहनेछ । समाजमा धार्मिक कार्यहरू वृद्धि हुनेछ । यो महिना उत्सवीय वातावरण रहनेछ । अन्न, सागसब्जी लगायत दैनिक उपभोग्य वस्तुहरूको मूल्यमा केही कमि महसूस हुनेछ जसका कारणले जनताले केही राहत महसूस गर्नेछन् । दाल, चामल, गहुँ, गुड, चिनी, रुई, घृत, चना, दुग्धजन्य पदार्थमा समता हुनेछ । लौहवस्तु र वाहन आदिको मूल्य केही बढ्न सक्नेछ । यो महिनामा हिमपात, शीतलहर हुनेछ भने ज्वरोको रोग बढ्नेछ । महिनामो पूर्वार्द्धमा मन्द झरीको योग देखिएको छ । यो महिनामा तिल दानको विशेष महत्व छ । कालो तिल र यसबाट बनेका वस्तुहरू, लड्डु आदिको दान तथा स्वयं पनि सेवन गर्ने विधान छ । खिचडी, पान, गुँड, कोइला दानको विशेष महत्व रहेको छ ।

मासिक राशिफल

मेषः २०८२ माघ महिनाको प्रारम्भमा तृतीय भाव पराक्रम स्थानमा राहु, पञ्चम भाव बुद्धि क्षेत्रमा चन्द्रमा, अष्टम भाव संकट स्थानमा राशिस्वामी मंगल, नवम भाव भाग्य स्थानमा बृहस्पति, शनिश्चर र केतु, दशम भाव कर्म स्थानमा सूर्य र बुधको बुधादित्य योग तथा एकादश भावमा शुक्र ग्रहको उपस्थिति रहने छ । यस क्रममा बुध ग्रहले लाभ स्थानमा, शुक्र ग्रहले व्यय स्थानमा र राशिस्वामी मङ्गलले भाग्यभावमा प्रवेश गरी राशि परिवर्तन गर्नेछन् । यस्तो ग्रह परिवेशमा तपाईंको दशम भावमा रहेको सूर्यको प्रभावले यो मिश्रित प्रभाव भएको महिना हुनेछ । यस अवधिमा अत्यन्त क्रियाशील र व्यस्त रहनु पर्नेछ । व्यापार र नोकरीका माध्यमबाट लाभ मिल्नेछ, हाकिम, मातापिता र वरिष्ठ व्यक्तित्वको सहयोग र सद्भाव मिल्नेछ । त्यस्तै मिहिनेत गरेमा नयाँ व्यवसाय वा रोजगारीको प्रबल सम्भावना छ, साथै गरीआएको काममा बढुवा वा प्र्रगति हुनेछ । नयाँ किसिमले व्यापार गर्नुहुने अथवा रोजगारीको प्रकृतिमा बदलाव हुने सङ्केत छ । शत्रु र प्रतिस्पर्धीबाट कुनै भय हुँदैन । तर राशिस्वामी मङ्गल अधिकांश समय अष्टम भावमा रहने हुँदा रोगव्याधिको प्रकोप, दुर्घटनाको योग र आर्थिक पक्ष असन्तुलित रहने समय पनि छ । दैनिक व्यवहार र घरायसी वातावरणमा भने उतारचढाव भइरहनेछ । स्वाभिमान र घमण्डका कारण केही समस्याहरू सिर्जना हुन सक्छन् ।

यसैगरी कार्यक्षेत्रमा अपमानित बन्नुपर्ने परिस्थिति रहेको छ । रहस्य, अध्यात्म, गूढविज्ञान र परामनोविज्ञानका विषयमा रूचि बढ्ने छ वा यी क्षेत्रको कुनै अनुभव प्राप्त हुनेछ । महत्वाकांक्षी काम प्रारम्भ गर्ने समय छ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । कीर्तिमानी काम गर्ने अवसर प्राप्त हुनेछ । नोकरीमा प्रवेश वा पदोन्नति हुन सक्छ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ । दाम, इनाम र पुरस्कार प्राप्त गर्ने समय छ । लगनशीलताले सम्मानित स्थान दिलाउनेछ । मित्रता र प्रेमको बन्धन कसिलो हुनेछ । व्यापार तथा उद्योगतर्फ मनग्गे फाइदा हुनेछ भने काममा थप लगानी बढाउन सकिनेछ । खर्च लागे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ । स्वास्थ्यमा भने केही कमजोरी देखा पर्नसक्छ । चोटपटक लाग्ने योग देखिएकाले सवारी र हातहतियारको उपयोग गर्दा सावधानी अपनाउनुहोला । यो महिना विद्यार्थीले परीक्षा, प्रतिस्पर्धा वा प्रतियोगिताको राम्रो तैयारी गरेमा सफलता पाउने समय हो, गृहिणीहरूमा महिनाको पूवाराद्र्ध अनुकूल रहेको छ भने उत्तराद्र्धमा मौसमी रोगको प्रकोप र चिडचिडेपना बढ्ने सम्भावना हुन्छ । राशिस्वामीको आठौं भावको यात्राको समय भएकाले कर्मचारीले पनि तुजुक देखाउने वा जोखिम मोल्ने काम गर्नुहुँदैन । व्यापारीहरूले व्यवसाय विस्तारको प्रयास गर्दा राम्रो हुन्छ । यस महिना शुभफलको प्रभाव वृद्धि गर्न राशिस्वामी मङ्गल ग्रहको प्रसन्नताका निमित्त रातो कपडामा दुई मुठी मुसुरोको दाल बाँधेर सिधा र दक्षिणाका साथमा हरेक मङ्गलबारका दिन भिखारी वा कुनै युवा ब्राह्मणलाई दान गर्नु मुनासिव देखिन्छ । माघ महिनाको ५, ६, ७, १५, १६, १७, २४, २५ र २६ गतेको चन्द्रमा समेत तपाईंका लागि कमजोर रहने सङ्केत छ ।

वृषः २०८२ माघ महिनाको प्रारम्भमा द्वितीय भाव धन स्थानमा राहु, चतुर्थ भाव सुख स्थानमा चन्द्रमा, सप्तम भाव प्रणय स्थानमा मङ्गल, अष्टम भाव सङ्कट स्थानमा बृहस्पति, शनिश्चर र केतु, नवम भाव भाग्य स्थानमा सूर्य र बुधको बुधादित्य योग तथा दशम भाव कर्मक्षेत्रमा राशिस्वामी शुक्र ग्रहको उपस्थिति रहने छ । यस क्रममा बुध ग्रहले कर्म स्थानमा, राशिस्वामी शुक्र ग्रहले लाभ स्थानमा र मङ्गलले अष्टम भावमा प्रवेश गरी राशि परिवर्तन गर्नेछन् । यस्तो ग्रह परिवेशमा तपाईंको राशिबाट भाग्य स्थानमा रहेको सूर्यको प्रभावले पिता, परिवार वा वंशकै मानसम्मान र प्रतिष्ठामा वृद्धि हुने महिना बनेको छ, माघ महिना । अध्ययन अध्यापनमा रुचि बढ्नेछ, परीक्षा, प्रतियोगिता र प्रतिस्पपर्धामा सफल भइने छ । विदेश यात्रा वा वैदेशिक प्रयोजनका कामबाट फाइदा हुनेछ । सन्तानले उन्नति÷प्रगति गर्नेछन्, सामाजिक वा परोपकारी काममा मन जानेछ । भाग्यले साथ दिनेछ, बढुवा, प्रशंसा वा प्रतिष्ठा मिल्नेछ । उच्च पदमा प्रतिष्ठित व्यक्तिहरूसित भेटघाट हुने तथा सल्लाह र सद्भाव प्राप्त हुने देखिन्छ । धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ । यो महिना तपाईंको राशिस्वामी शुक्रले कर्मक्षेत्र र लाभभावको यात्रा गर्ने समय हो, प्रसिद्ध व्यक्तिहरू सम्पर्कमा आउने छन् । ख्याति, प्रतिष्ठा र सम्मानमा बढोत्तरी हुनेछ । बुद्धिलाई उपयोग गर्नाले लाभ लिन सकिने छ ।

यसैगरी  यो महिनामा केही चुनौतीहरूसँग संघर्ष गर्नुपर्ने स्थिति आउन सक्छ । व्यावहारिक दायित्वको बन्धनले स्वतन्त्रतामा बाधा पुर्याउनेछ । बन्धुबान्धव तथा गुरुजनसँग मतभेद देखापर्न सक्छ। केही थकान, आलस्य र अस्वस्थताले पनि लक्ष्यप्राप्तिमा विलम्ब हुनेछ । प्रेममा असमझदारी बढ्नेछ भने काममा आफन्तको अवरोध देखापर्न सक्छ । तर, अनुभव, चुनौती र आवश्यकता नै कर्मयोगका प्रेरक बन्नेछन् । लगनशीलताले बिस्तारै लक्ष्यमा पुर्याउनेछ । पहिले टाढिएका आफन्तहरू नजिँकिनेछन् । समाजमा गुमेको स्थान प्राप्त हुनुका साथै आफ्नो वर्चस्व बढ्नेछ । अचल सम्पत्तिले उब्जाएको वादविवाद सम्झौतामा टुंगिनेछ । अर्थ अभावले सताए पनि गृहस्थी सुखद् रहनेछ । व्यवसाय वा पेसामा राम्रो उपलब्धि हासिल हुनेछ । यो महिना विद्यार्थीको प्रतिभामा निखार आउने समय हो, त्यसैले मिहिनेतअनुकूल राम्रो नतिजा हात पर्ने समय छ । गृहिणीहरूले पतिको कार्यक्षेत्रमा उन्नति र लाभ भएको समाचार सुन्न पाउनु हुनेछ साथै स्थिर सम्पत्ति वा गहनागुरिया जोड्ने अवसर मिल्नेछ । कर्मचारीले बढुवा वा प्रशंसा प्राप्त गर्नेछन् भने व्यापारीहरूले पुरानो कर्जा चुक्ता गर्ने र नयाँ लगानीको अवसर पाउने सम्भावना छ । समग्रमा राम्रो समय छ । यद्यपि पिताको स्वास्थ्यस्थितिप्रति सचेत हुनु राम्रो हुन्छ । अझ राम्रो नतिजा मिलोस् भन्ने उद्देश्यले तपाईंले हरेक सोमवार शिवालयमा आँकको फूल चढाउनु मुनासिब हुने छ । माघ महिनाको १, ८, ९, १७, १८, १९, २६, २७ र २८ गतेको चन्द्रमा कमजोर रहेकाले सचेत हुनु वाञ्छनीय हुनेछ ।

मिथुनः २०८२ माघ महिनाको प्रारम्भमा आफ्नै राशि अर्थात् लग्न भावमा राहु, तृतीय भाव पराक्रम स्थानमा चन्द्रमा, षष्ठम भाव शत्रु स्थानमा मङ्गल, सप्तम भाव प्रणय स्थानमा बृहस्पति, शनिश्चर र केतु, अष्टम भाव सङ्कट स्थानमा सूर्य र राशिस्वामी बुधको बुधादित्य योग तथा नवम भाव भाग्य स्थानमा शुक्र ग्रहको उपस्थिति रहने छ । यसक्रममा राशिस्वामी बुध ग्रहले भाग्य स्थानमा, शुक्र ग्रहले कर्म स्थानमा र मङ्गलले सप्तम भावमा प्रवेश गरी राशि परिवर्तन गर्नेछन् । यस्तो ग्रह परिवेशमा तपाईंको राशिबाट आयु र सङ्गट स्थान मानिने अष्टम भावमा रहेको सूर्यको प्रभावले यो महिना अध्यात्म, ध्यान र कसरतमा रुचि बढ्नेछ । यो महिना कष्ट र दुर्घटनाको मात्रा बढ्ने सम्भावना देखिन्छ, त्यसैले सवारी हाँक्दा, बाटो काट्दा वा हातहतियारको प्रयोग गर्दा सावधान हुनुपर्छ । विशेष गरी राशिस्वामी बुधको समेत अष्टम भावमा उपस्थिति हुने भएकाले व्यक्तिगत स्वास्थ्यस्थितिप्रति विशेष सचेत हुनुपर्छ, खानपान र आहारविहारको अनुशासन पालना गरेको जाति हुन्छ । आफूबाहेक अभिभावक वा परिवारको कुनै सदस्यको स्वास्थ्यमा समेत नकारात्मकता देखिन सक्छ । पारिवारिक विवादमा संयमता अपनाउनु राम्रो हुन्छ, किनभने मानसिक अशान्ति र बेचैनीको योग छ, नातागोताभित्रका सदस्यहरूसँग राम्रो व्यवहार पुर्याउन नसक्नाले विनाकारण झगडा र विवाद हुनेछ ।
यसैगरी महिनाभरि कष्टभावमा रहने सूर्यको प्रभावले केही चुनौती देखापर्न सक्छन् । राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्नेछ । व्यवसाय र नियमित आयमूलक काम भने बन्नेछन् । परिस्थितिवश चिताएको लाभांश नउठ्नाले अर्थ अभाव देखापर्न सक्छ । दुर्भावना राख्नेहरूले दुःख दिनेछन् । लामो सक्रियता स्वास्थ्यका लागि बाधक बन्न सक्छ । कब्जियत वा ढाड–कम्मर सम्बन्धी समस्याले सताउने समय छ । चोटपटकको योग देखिएकाले सवारी एवं हातहतियारको उपयोग सावधानीसाथ गर्नुहोला । आँटेका काममा वैधानिक हस्तक्षेप हुने समय रहेकाले सजग रहनुहोला । शुभचिन्तकहरूको साथले मात्र चुनौतीहरू पन्छाएर परिस्थिति अनुकूल बनाउन सकिनेछ । शङ्कास्पद कारोबार र क्रियाकलाप सहभागी नबन्नु राम्रो हुनेछ, महत्त्वपूर्ण कागजातमा हस्ताक्षर गर्नुअघि राम्ररी पढ्नु बेस होला । पञ्चमेश शुक्र लाभ स्थानमा रहेकाले यो महिना विद्यार्थीले परीक्षा र प्रतिस्पर्धामा सफलता पाउने छन्, गृहिणीहरूले झैझगडा र विवादबाट टाढा रहनु राम्रो हुन्छ, न्याय क्षेत्रका कर्मचारीले बढुवा वा प्रशंसा पाउने सम्भावना भए पनि अन्यले बेकारको उल्झनमा फँस्नु पर्नेछ, व्यापारीहरूले पुरानो सरकारी काम सुल्झाएर नयाँ ढङ्गले व्यवसायमा बृद्धि गर्ने आत्मबल प्राप्त गर्नेछन् । यस महिना देखिएको अशुभ प्रभावलाई न्यूनीकरण गर्न तपाईंले राशिस्वामी बुधको बलमा अभिवृद्धि गर्न हरेक बुधवारका दिन भगवान् गणेशको मन्दिरमा गई मुँगको लड्डु चढाउनु पर्दछ र प्रसादका रूपमा केटाकेटीलाई वितरण गर्नु शुभ हुन्छ । खास गरी यस महिनाको १, २, ३, १०, ११, १२, २०, २१, २२ र २९ गतेको चन्द्रमा समेत अनिष्ट हुने हुँदा सतर्कता अपनाएको जाति हुन्छ ।

कर्कटः २०८२ माघ महिनाको प्रारम्भमा द्वितीय भाव धन स्थानमा राशिस्वामी चन्द्रमा, पञ्चम भावमा विद्यास्थानमा मङ्गल, षष्ठ भाव शत्रु स्थानमा बृहस्पति, शनिश्चर र केतु, सप्तम भाव प्रणय भावमा सूर्य र राशिस्वामी बुधको बुधादित्य योग, अष्टम भाव सङ्कट स्थानमा शुक्र र बाह्रौं भाव व्यय स्थानमा राहु ग्रहको उपस्थिति रहने छ । बुध ग्रहले सङ्कट स्थानमा, शुक्र ग्रहले भाग्य स्थानमा र मङ्गलले षष्ठ भावमा प्रवेश गरी राशि परिवर्तन गर्नेछन् । यस्तो ग्रह परिवेशमा तपाईंको राशिबाट साझेदारी र प्रणय सुख प्रदान गर्ने सातौं घरमा रहेको सूर्यको प्रभावले यो महिना जीवनसाथी वा व्यवसायिक साझेदारसँग मतभेद बढ्ने समय हो । मानसिक तनाव र खिन्नता बढ्ने समय भएकाले झिनामसिना कुरामा चिन्ता र शङ्का गर्नहुँदैन । निरङ्कुश बानी र कडापन तपाईंका कमजोरी बन्नसक्छन् । घरायसी व्यवहारमा कडापन बढ्न सक्छ, त्यसैले परिवारभित्रका वादविवाद, झैझगडा र समस्याहरूमा संयमता अपनाउनु राम्रो हुनेछ । व्यक्तिगत स्वास्थ्यस्थितिप्रति गम्भीर हुनु जाति हुन्छ । कार्यक्षेत्रमा एक्लै खटेर मिहिनेत गर्नुपर्ने परिस्थिति छ, नजिकका साथीभाइ र कामदारले धोका दिन सक्छन् । सोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन, सवारी आदि जोड्ने समय छ । व्यवसायमा नयाँ कार्यको थालनी हुनेछ । व्यापारमा मनग्गे लाभ हुनाले आर्थिक स्थितिमा सुधार आउनेछ । आस मारेको काम सम्पादन हुनाले उत्साह जाग्नेछ । विभिन्न अवसर प्राप्त हुनाले जोस–जाँगर बढ्नेछ । प्रयत्न गर्दा टाढाको यात्रा गर्ने साइत जुर्नेछ । अध्ययनको सफलताले विदेश जाने अवसर दिलाउन सक्छ । मित्रताको बन्धन अझ प्रगाढ हुनेछ । प्रेमसम्बन्धले वैवाहिक मार्ग अवलम्बन गर्ने समय छ । तर, अरूका विषयमा चासो राख्ने बानीले आत्मसम्मानमा चोट पुर्याउन सक्छ, सजग रहुनुहोला ।
यसैगरी आर्थिक पक्ष बलियो छैन, बाध्यताका खर्चमा धनव्यय हुनेछ । तर सङ्क्रान्तिका दिन राशिस्वामी चन्द्रमाले धनभावको यात्रा गरेको हुँदा यस अवधिमा राम्रा काम सम्पन्न हुनेछन् र कुनै नोकरीमा आबद्ध हुनुहुन्छ भने पेसागत उन्नति हुनेछ, जसबाट प्रतिष्ठा बढ्ने छ । यस अवधिमा चौतर्फी समुन्नतिको लक्षण छ । घरपरिवारको सदस्यको व्यवहार अनुकूल रहने छ । तपाईंको जीवनसाथीले आफ्नो कार्यक्षेत्रमा उन्नति गर्नेछन् । पञ्चमेश मङ्गलले आफ्नै राशिको भ्रमण गरेको यो महिना विद्यार्थी र ज्ञानार्जनका क्षेत्रमा रहेका व्यक्तिहरूले उच्च सफलता हातपार्ने समय छ । गृहिणीहरूमा उच्चाकाङ्क्षा जाग्नेछ, तर पतिको स्वास्थ्यस्थिति र कार्यक्षेत्रमा समस्या देखिन सक्छन्, कर्मचारीको इच्छाएको जिम्मेवारी प्राप्त हुने वा आम्दानीमा बृद्धि हुने गरी सरुवा हुन सक्छ, त्यस्तै व्यापारीहरूले लगानी डुबाउन सक्ने खतरा देखिन्छ, साझेदारले फँसाउने चेष्टा गर्नेछन्, होस राख्नुपर्छ । यस महिनामा हुनसक्ने सम्भावित जोखिममा कमी ल्याउन तपाईंले नियमित रूपले हनुमान चालिसाको पाठ गर्नु लाभप्रद रहने छ । सामान्यतया राशिस्वामी चन्द्रमाको प्रतिकूलता हुने दिनहरू ३, ४, ५, १२, १३, १४, २२, २३ र २४ गते हुने भएकाले सचेत हुनु आवश्यक छ ।

सिंहः २०८२ माघ महिनाको प्रारम्भमा आफ्नै राशि अर्थात् लग्नमा चन्द्रमा, चतुर्थ स्थान सुख भावमा मङ्गल, पञ्चम भाव सन्तति स्थानमा बृहस्पति, शनिश्चर र केतु, षष्ठ भाव शत्रु स्थानमा राशिस्वामी सूर्य र बुधको बुधादित्य योग, सप्तम भाव प्रणय क्षेत्रमा शुक्र र एघारौं घर लाभ स्थानमा राहु ग्रहको उपस्थिति रहने छ । यस क्रममा बुध ग्रहले सप्तम भावमा, शुक्र ग्रहले अष्टम स्थानमा र मङ्गलले पञ्चम भावमा प्रवेश गरी राशि परिवर्तन गर्नेछन् । यस्तो ग्रह परिवेशमा तपाईंको राशिबाट छैठौं घरमा रहेको राशिस्वामी सूर्यको प्रभावले यो महिना अत्यन्त उपयोगी छ, जे गरे पनि सफलता हात पर्ने सम्भावना हुन्छ । पहिले देखिएका प्रायशः समस्याहरूको निराकरण हुनसक्छ । मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । शत्रु र प्रतिस्पर्धीमाथि पकड कायम हुनेछ । पछाडि उछित्तो काड्ने र कुरा काट्नेहरू आफैं चुप लाग्नेछन् । नोकरी र व्यायसायिक जीवनमा सुधार आउने छ । प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ । आफ्नो सर्कलमा सम्मान र साख मिल्नेछ । मुद्धामामिला वा सरकारी काममा सफलता मिल्नेछ । पुरुषार्थी कामले उत्साह जगाउनेछ । नयाँ उद्योग वा व्यवसाय सुरु हुनेछ । आर्थिक समस्या सुल्झनुका साथै भौतिक साधनहरू जुटाउन सकिनेछ । आँटले काम लिँदा मनग्गे फाइदा हुनेछ । अर्थ उपार्जनका विभिन्न स्रोत प्राप्त हुनेछन् । पहिलेका प्रतिस्पर्धीहरू नै सहयोगीका रूपमा देखा पर्नेछन् । विभिन्न अवसर प्राप्त हुनेछन् । वर्गीय हक–हितका लागि गरिएको प्रयत्नले दिगो फाइदा दिलाउनेछ । शत्रुबाधा, मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ । मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । साझेदारी तथा सगोलको सम्पत्तिमा केही विवाद आउन सक्छ । आफन्तसँग असमझदारी बढ्ने हुँदा व्यवहारमा सजग रहनुपर्ला ।

यसैगरी महिनाको पहिलो दिन बाह्रौं घरको मालिक मानिने चन्द्रमाले तपाईंको राशिमा भ्रमण गरेको हुँदा यसको प्रभावले भौतिक सुखसुविधाका सामाग्री किनमेल गर्न धनखर्च हुनेछ । उच्चकोटिको दाम्पत्य जीवनको भरपूर सुख भोग गर्न पाइने छ, तथापि आफ्नो भोगवृत्तिमा अङ्कुश लगाउँदा राम्रो हुनेछ, नत्र आनन्द प्राप्त गर्नुको सट्टा झमेला ब्यहोर्नु पर्ने हुनसक्छ । चिसो सम्बद्ध रोगव्याधि र मौसमी रोगको चाप बढ्ने सम्भावना छ, त्यस्तै उधारोमा गएको धन फिर्ता नहुन सक्छ । यो महिना प्राविधि विषयका विद्यार्थीले सफलता प्राप्त गरे पनि आफ्नै राशिको चन्द्रमाले खेलवाड र मनोरञ्जनमा ध्यानकेन्द्रित गर्ने भएकाले चिताएको परिणाममा कमी आउन सक्छ, महिनाको उत्तराद्र्धमा गृहिणीहरूले धन सङ्ग्रह गर्ने अनुकूलता पाउने छन्, कतै घुमघामको योगसमेत बन्नसक्छ, कर्मचारीले बढुवा वा जिम्मेबारी प्राप्त गर्नेछन् भने व्यापारीहरूले स्थिर सम्पत्ति जोड्ने अनुकूलता प्राप्त गर्नेछन् । यस महिनाको शुभफलमा अझ बृद्धि गर्ने उद्देश्यले तपाईंले नियमित ढङ्गले सूर्यको उपासना गर्ने, सूर्यलाई अर्घ्य दिने र सूर्यको बीज मन्त्र वा सूर्य गायत्रीमन्त्रको जाप गर्ने बानी बसाल्नु उचित हुनेछ । सामान्यतया यस महिनाको ५, ६, ७, १५, १६, १७, २४, २५ र २६ गते तपाईंका लागि अशुभ रहने हुँदा सचेत हुनुहोला ।

कन्याः २०८२ माघ महिनाको प्रारम्भमा तृतीय भाव पराक्रम स्थानमा मङ्गल, चतुर्थ भाव सुख स्थानमा बृहस्पति, शनिश्चर र केतु, पञ्चम भाव सन्तति स्थानमा सूर्य र राशिस्वामी बुधको बुधादित्य योग, षष्ठ भाव शत्रु स्थानमा शुक्र र दसौं घर कर्म क्षेत्रमा राहु ग्रहको उपस्थिति रहने छ । यस क्रममा बुध ग्रहले षष्ठ भाव शत्रु स्थानमा, शुक्र ग्रहले सप्तम भावमा र मङ्गलले चतुर्थ भावमा प्रवेश गरी राशि परिवर्तन गर्नेछन् । यस्तो ग्रह परिवेशमा तपाईंको राशिबाट पञ्चम भाव बुद्धिस्थानमा रहेको राशिस्वामी बुध र सूर्यको प्रभावले मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । आम्दानीमा वृद्धि हुनेछ, तर महत्त्वाकाङ्क्षा बढ्नाले सन्तुष्टि भने नहुन सक्छ । बालबच्चाको खानपिन र स्वास्थ्यस्थितिप्रति सचेत हुनुपर्छ । धार्मिक कार्यप्रति रुचि जाग्नेछ । प्रेम जीवनमा उतारचढाव आउनेछ, प्रेमप्रसङ्ग, प्रणय एवं रतिरागका क्षेत्रमा निर्लिप्त हुन यो समय उपयोगी हुँदैन, फकाउने र फुस्ल्याउने काममा समय बित्न सक्छ । पढाइलेखाइ र बौद्धिक क्रियाकलापका लागि उचित समय छ, तर चिन्तन मननमा बढी निर्लिप्त हुनु पनि हानिकारक बन्न सक्छ । आकस्मिक यात्राको अवसर आउन सक्छ । राशिस्वामी बुधले पाँचौं र छैटौं भावको यात्रा गर्ने समय छ, आयक्षेत्रमा उल्लेखनीय अभिवृद्धि हुनेछ । स्वास्थ्यमा मौसमी समस्या देखापर्न सक्छ। आँटेका काममा केही विलम्ब भए पनि शुभचिन्तकहरूको साथ जुट्नेछ ।

यसैगरी सन्तानका माध्यमबाट पनि लाभ मिल्ने समय छ । टाढिएका आफन्तसँग भेटघाट तथा मेलमिलाप हुनेछ । गुरुजनको प्रेरणाले मन दह्रो हुनुका साथै अध्ययनमा हौसला प्राप्त हुनेछ । परिस्थितिले साथ दिनेछ भने मनको डर उत्साहमा रूपान्तरित हुनेछ । बौद्धिक क्षमता बढ्नुका साथै अध्ययनमा राम्रो नतिजा हासिल गर्न सकिनेछ । सानो प्रयत्नले आर्थिक स्थितिमा सुधार आउनेछ भने अड्किएका काम पनि पुनः प्रारम्भ हुनेछन् । क्षमता प्रदर्शन गरेरै स्वरोजगार बन्न सफल भइनेछ । प्रयत्न गर्दा देश–विदेशको यात्रा गर्ने अवसर पनि प्राप्त हुनेछ । यसैगरी परिवारका सदस्य र अन्य व्यक्तिको हितका लागि धनखर्च गर्न मन हौसिने छ । लोकप्रियता हासिल हुनेछ । परिवारमा नयाँ सदस्य वा अतिथिको आगमन हुन सक्छ । यो महिना किशोर अवस्थाका विद्यार्थीमा प्रणयप्रसङ्गमा भुलिने एवं कल्पना र भावनामा रुमल्लिने परिस्थिति बन्नेछ, कसैकसैको प्रेमसम्बन्धमा तिक्तता बढ्ने योगसमेत देखिन्छ, गृहिणीहरूले पतिसित मनमुटाव बढाउन सक्छन्, कर्मचारीले घरायसी आवश्यकताका वस्तु खरिद गर्ने वा गृहनिर्माणको योजना बनाउने छन्, व्यापारीहरूले कुनै महत्वाकांक्षी योजनामा लगानी गर्नाले तनावको सिर्जना हुने भएकाले सचेत हुनुपर्छ । यस महिनामा ग्रहजन्य अशुभ प्रभाव निवारणका लागि तपाईंले नियमित रूपले शिवोपासना गर्नु कल्याणकारी हुनेछ । सामान्यतया यस महिनाको १, ८, ९, १७, १८, १९, २६, २७ र २८ गतेको चन्द्रमा अशुभ हुनेहुँदा सचेत हुनु अनिवार्य छ ।

तुलाः २०८२ माघ महिनाको प्रारम्भमा द्वितीय भाव धन स्थानमा मङ्गल, तृतीय भाव पराक्रम स्थानमा बृहस्पति, शनिश्चर र केतु, चतुर्थ भाव सुखस्थानमा सूर्य र बुधको बुधादित्य योग, पञ्चम भाव विद्यास्थानमा राशिस्वामी शुक्र र भाग्य स्थान नवम भावमा राहु ग्रहको उपस्थिति रहने छ । यस क्रममा १५ गते बुध ग्रहले पञ्चम भावमा, राशिस्वामी शुक्र ग्रहले षष्ठ भावमा र २८ गते मङ्गलले तृतीय भावमा प्रवेश गरी राशि परिवर्तन गर्नेछन् । यस्तो ग्रह परिवेशमा तपाईंको राशिबाट सुख भावमा रहेको सूर्यको प्रभावले आर्थिक पक्ष मजबुत देखिन्छ, व्यवसाय वा नोकरीको सन्दर्भमा वा वैदेशिक प्रयोजनको काममा घरबाहिर जानु पर्ने परिस्थिति बन्नेछ । विवाहित हुनुहुन्छ भने पति वा पत्नीले बढुवा वा प्रशंसा पाउने समय छ । यो समय घमण्ड र जिद्दीपना बढ्ने समय पनि हो, सवारी हाँक्दा र बाटो काट्दा सावधान र सचेत रहनु ठीक हुन्छ । त्यस्तै प्रत्येक कुरामा अडान लिने बानीले दुख पाइने छ, यद्यपि व्यवसायिक क्षेत्रमा लिएको अडानले फाइदा दिलाउने छ । यो समय कडा मिहिनेत र परिश्रम गर्ने महिना हो । कष्टप्रद परिश्रमका कारण छिटै थाकिन्छ र कार्य क्षमतामा समेत कमी आउने छ । मन कुकर्म र गलत आचरणतर्फ आकर्षित बन्न सक्छ । मातापिता र अभिभावक वर्गको स्वास्थ्यस्थिति चिन्ताको विषय बन्नेछ । राशिस्वामी शुक्र ग्रहले पाँचौं र छैटौं भावको यात्रा गर्ने समय हो, पदप्रतिष्ठामा अभिवृद्धि हुनेछ र आम्दानीका मार्गहरू पनि बढ्ने छन् । उच्च महत्वाकांक्षाले प्रश्रय पाउने हुँदा बुद्धि–विवेकले काम लिन नसकिएला । भूमिबाट प्रशस्त लाभ मिले पनि घर–जग्गा वा स्थायी सम्पत्तिमा केही विवाद आउन सक्छ । आमाको स्वास्थ्य बिग्रनाले त्यसप्रति चिन्ता बढ्नेछ । अरूको भरपर्दा चिताएको काम रोकिन सक्छ । असंयम व्यवहारले समस्या निम्त्याउनेछ भने निकटजनहरूसँग बिनाकारण विवाद हुन सक्छ । तापनि, साथीभाइ र बन्धुबान्धवको सहयोग जुट्नाले परिस्थिति अनुकूल बनाउन सफल भइनेछ । मिहिनेत गर्दा व्यवसायमा फाइदै हुनेछ । लगनशीलताले अप्ठ्यारो ठानिएका काम पनि सम्पादन हुनेछन् । कृषितर्फ पछि फाइदा हुने कामे थालनी हुनेछ । भाग्यले मन मिल्ने प्रेमपात्र जुराउन सक्छ ।
यसैगरी पारिवारिक जीवन सुखद् हुनेछ । व्यापार वाणिज्यबाट लाभ मिल्नेछ । परिवारमा एक किसिमको जमघट र रमाइलोको वातावरण सिर्जना हुनेछ । यात्राबाट लाभ हुनेछ । शत्रु र प्रतिस्पर्धीले हानि पुर्याउन सक्दैनन् । खासगरी तुला राशिका विद्यार्थीले प्रसिद्धि र सम्मान पाउने समय छ, गृहिणीहरूले लामो समयदेखिका इच्छाआकांक्षा पूर्ण गर्नेछन्, घरमा कुनै माङ्गलिक कार्य सम्पन्न हुनेछ, कर्मचारीले भने बेकारको विवाद र तनावको स्थितिबाट गुज्रनु पर्ने देखिन्छ भने व्यापारीले आर्थिक पक्षमा राम्रो उपलब्धी पाउने समय छ । यस महिना ग्रहजन्य उपचारका लागि गाई वा गोरुलाई चारो, चोकर, घाँस वा गहुँ खान दिएमा शुभ फल प्राप्त हुनेछ । सामान्यतया यस महिनाको १, २, ३, १०, ११, १२, २०, २१, २२ र २९ गते तपाईंका लागि अशुभ रहने छ ।

वृश्चिकः २०८२ माघ महिनाको प्रारम्भमा तपाईंको आफ्नै राशि अर्थात् लग्नमा राशिस्वामी मङ्गल, द्वितीय भाव धन स्थानमा बृहस्पति, शनिश्चर र केतु, तृतीय भाव पराक्रम स्थानमा सूर्य र बुधको बुधादित्य योग, चतुर्थ भाव सुखस्थानमा शुक्र र अष्टम स्थान आयुक्षेत्रमा राहु ग्रहको उपस्थिति रहने छ । यस क्रममा बुध ग्रहले चतुर्थ भावमा, शुक्र ग्रहले पञ्चम भावमा र राशिस्वामी मङ्गलले द्वितीय भावमा प्रवेश गरी राशि परिवर्तन गर्नेछन् । यस्तो ग्रह परिवेशमा तृतीय भाव पराक्रम स्थानमा रहेको सूर्यको प्रभावले पराक्रम र प्रसिद्धिमा वृद्धि हुनेछ । अधिकतम समय घुमघाम र भ्रमणमा बित्नेछ, साथै ससाना यात्रा फलदायी र भाग्यशाली सिद्ध हुनेछन् । पारिवारिक जीवन सुखद रहनेछ, घरपरिवारका सदस्य, मित्र र नातागोता माझको सम्बन्ध सुदृढ हुनेछ । नातेदार, मित्रशक्ति र दाजुभाइबाट लाभ मिल्नेछ । सामाजिक र परोपकारी काममा सहयोेग लिन/दिन सकिनेछ । प्रायशः यो महिनाभरि नै राशिस्वामी मङ्गलले तपाईंको आफ्नै राशिमा भ्रमण गर्ने परिस्थिति देखिन्छ, यसको प्रभावले मन प्रसन्न र फुर्तिलो रहनेछ र परिवारमा पनि कुनै माङ्गलिक कार्य सम्पन्न हुनेछ, शुभ र श्रेष्ठ कर्ममा लगनशीलता बढ्ने छ । लामो समयदेखि रोकिएका काम सम्पादन हुनेछन् । नोकरी तथा राजनीति गर्नेहरूलाई विशेष लाभ मिल्नेछ। उद्योग-धन्दामा विशेष सफलता पाइनेछ । राजनीतिक क्षेत्रमा पनि पद–प्रतिष्ठा प्राप्त हुने ग्रहयोग छ । प्रतिस्पर्धीहरूले हार खानेछन् । शत्रु र रोगबाट छुटकारा मिल्नेछ । घरमा सुख–समृद्धि बढ्नेछ । भूमिलगायत स्थायी सम्पत्तिको विषयमा भने केही विवाद निस्कन सक्छ । दाजुभाइबीच सगोलको सम्पत्तिमा भागबन्डा लाग्न सक्छ । तापनि प्रतिष्ठित व्यक्तिहरू सहयोगीका रूपमा देखापर्नेछन् । प्रतिष्ठित काम शुभारम्भ गर्न सकिनेछ । मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ ।

यसैगरी आम्दानीका मार्ग बढ्ने छन् र उच्च पदमा आसीन राजनैतिक प्रशासनिक पदका व्यक्तित्वसँगको सम्बन्धमा सुधार आउने छ । लक्ष्यप्राप्तिका लागि कडा मिहिनेत गर्ने समय आएको छ, बहुप्रतीक्षित इच्छा, आकांक्षा र उद्देश्य सफल हुनसक्छन् । आकस्मिक रूपमा धनप्राप्तिको सम्भावना समेत छ । सामान्यतया स्वास्थ्यका दृष्टिकोणले यो समय राम्रै छ, तर व्यवसाय वा काममा बढी मिहिनेत गर्नेहुँदा स्वास्थ्यस्थितिमा नकारात्मक असर पर्न सक्छ । खासगरी यस राशिका विद्यार्थीले कुनै प्रतियोगिता वा परीक्षामा राम्रो नतिजा हात पार्नेछन्, गृहिणीहरूमा आफ्नै शिरमा रहेको राशिस्वामी मङ्गलले जिद्दीपन र घमण्डको मात्रामा बृद्धि गर्नेछ । त्यस्तै कर्मचारीले भने कुनै प्रतिष्ठामा आघात पुग्ने लफडामा फँस्ने डर हुन्छ अनि व्यापारीले भाग्यबृद्धि गर्ने अवसर पाउने छन् । यस महिनालाई अझ उत्कृष्ट तुल्याउन तपाईंले सूर्योपासनाका साथमा नित्य मङ्गल कवच वा हनुमान् चालिसाको पाठ गर्नु उचित हुन्छ । यस महिनाको ३, ४, ५, १२, १३, १४, २२, २३ र २४ गतेको चन्द्रमा अनिष्ट हुने भएकाले सचेतता उपयोगी हुनेछ ।

धनुः २०८२ माघ महिनाको प्रारम्भमा तपाईंको आफ्नै राशि अर्थात् लग्नमा राशिस्वामी बृहस्पतिका साथमा शनिश्चर र केतु, द्वितीय भाव धन स्थानमा सूर्य र बुधको बुधादित्य योग, तृतीय भाव पराक्रम स्थानमा शुक्र, सप्तम भाव प्रणय स्थानमा राहु र बाह्रौं भावमा मङ्गल ग्रहको उपस्थिति रहने छ । यस क्रममा बुध ग्रहले तृतीय भावमा, १९ गते शुक्र ग्रहले चतुर्थ भावमा र मङ्गलले तपाईंको आफ्नै राशिमा प्रवेश गरी राशि परिवर्तन गर्नेछन् । यस्तो ग्रह परिवेशमा तपाईंको राशिबाट द्वितीय धनस्थानमा रहेको सूर्य र आफ्नै राशिमा रहेको राशिस्वामी बृहस्पतिको प्रभावले तपाईंमा धनसम्पत्तिको सञ्चय गर्ने मानसिकता बन्नेछ, तर शनि र केतु ग्रहसमेत राशिमा नै रहेकाले आर्थिक दृष्टिले यस अवधिमा त्यति लाभ मिल्ने समय देखिंदैन, दीर्घकालिक लगानी र कारोबारप्रति सचेतता अपनाउनु आवश्यक छ । महत्वाकांक्षा राख्नाले निराशा हात लाग्नेछ, त्यसैले बढी रौसिनु हुदैन । शारीरिक तनाव र बोझलाई झेल्नसक्ने सामथ्र्य हुँदाहुँदै पनि पारिवारिक झैझमेला र समस्या बढ्नाले मन विचलित हुनसक्छ र पारिवारिक जीवनमा निराशापना देखिने सम्भावना छ, प्रेम जीवन र दाम्पत्य जीवनमा कलहको सम्भावना भएकाले घरायसी समस्या र परिवारजनका भावनालाई समेटेर अघि बढ्नु राम्रो हुनेछ । नोकरी र कार्यक्षेत्रमा सन्तोषजनक परिणाम प्राप्त हुनेछ । मिहिनेत गर्दा सामाजिक प्रतिष्ठा प्राप्त हुन सक्छ । व्यवसायले नयाँ गति लिनेछ । प्रशस्त धन र बहुमूल्य धातुहरू संग्रह गर्न सकिनेछ । तर बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ । परिस्थितिले गलत मार्गमा अग्रसर गराउने सम्भावना देखिएकाले व्यवहारमा सजग रहनुपर्ला । अवसरको खोजीमा केही दौडधूप गर्नुपर्नेछ । आँटेका काममा अनायासै चुनौती देखापर्न सक्छ । ठूलो आशा देखाउनेहरूबाट पनि धोका पाइनेछ । ठगीमा परिने समय रहेकाले धनमाल सुरक्षामा सजग रहनुपर्ला । टाउको र आँखासम्बन्धी समस्याले सताउन सक्छ। आफ्ना कमजोरीमाथि गुनासो बढ्न सक्छ । शुभचिन्तकहरूको सुझावलाई विशेष ध्यान दिनुहोला ।

यसैगरी स्वास्थ्यतर्फ आँखा र मुखको क्षेत्र कमजोर छन् । बोलीमा पनि अङ्कुश लगाएकै बेस हुनेछ । हुन त राशिस्वामी बृहस्पतिको प्रभावले केही राम्रा परिणामहरू पनि प्राप्त हुनेछन्, जस्तै, मन अत्यधिक उत्साही र फुर्तिलो रहनेछ । ससाना यात्रा सुखद र फलदायी हुनेछन् । पारिवारिक सुख कायम रहने छ । शीघ्र निर्णय गर्ने सामथ्र्यको विकास हुनेछ, तापनि शनि र केतुको प्रभावका कारण त्यत्ति हौसिएर काम गर्ने समय आएको छैन भन्ने बुझ्नुपर्छ । खासगरी यस राशिका विद्यार्थीले परीक्षा वा प्रतिस्पर्द्धामा सफल हुन निरन्तर अध्ययन नगर्नाले हीनताबोधको सामना गर्नुपर्छ । गृहिणीहरूले राम्रो दाम्पत्यसुखको अनुभूति गर्नेछन्, विवाहयोग्य युवायुवतीको नयाँ सम्बन्ध बन्ने वा कुरा चल्ने समय छ । कर्मचारीहरूले कार्यक्षेत्रमा सफलता पाउनुका साथै बढुवा वा प्रशंसा पाउने समय छ भने व्यापारी व्यवसायीले दूरगामी लगानीका निमित्त समुचित निर्णय गर्न सक्नेछन् । यस महिना पर्ने ग्रहगत अनिष्टता दूर गर्न तपाईंले कुलपितृको पूजा तथा निरन्तर सूर्योपासना गर्नु मुनासिब हुनेछ । खासगरी यस महिनाको ५, ६, ७, १५, १६, १७, २४, २५ र २६ गते चन्द्रमा अनिष्ट हुने भएकाले सचेत हुनु आवश्यक छ ।

मकरः २०८२ माघ महिनाको प्रारम्भमा तपाईंको आफ्नै राशि अर्थात् लग्नमा सूर्य र बुधको बुधादित्य योग, द्वितीय भाव धन स्थानमा शुक्र, षष्ठ भाव शत्रु स्थानमा राहु, एघारौं भाव लाभ भावमा मङ्गल तथा बाह्रौं भाव खर्चक्षेत्रमा राशिस्वामी शनिश्चरका साथमा वृहस्पति र केतु ग्रहको उपस्थिति रहने छ । यस क्रममा बुध ग्रहले द्वितीय भावमा, शुक्र ग्रहले तृतीय भावमा र मङ्गलले बाह्रौं भावमा प्रवेश गरी राशि परिवर्तन गर्नेछन् । यस्तो ग्रह परिवेशमा तपाईंको आफ्नै राशिमा सूर्यको उपस्थिति रहेकाले असाध्यै अनुकूल समयको आगमन भएको छ, यस अवधिमा आवश्यकताभन्दा बढी आत्मविश्वास र महत्वाकांक्षाको उदय हुनेछ, सरकारी काम र मुद्दा मामिलामा लाभ प्राप्त हुनेछ । सार्वजनिक क्षेत्र अथवा सरकारको कुनै महत्त्वपूर्ण जिम्मेबारी प्राप्त हुन सक्छ । छोटो दूरीको यात्रा हुने सम्भावना छ, जुन सुझबुझ र लगनशीलताका कारण फलदायक सिद्ध हुनेछ । सामाजिक सङ्घसंस्था वा परोपकारका क्षेत्रमा सहयोग गर्नु पर्नेछ । उता राशिमा नै रहेको भाग्येश बुधबारसमेत शुभफल नै प्राप्त हुने समय हो । यस अवधिमा योग्यताको प्रयोग गरी विपरीत परिस्थितिलाई समेत आफ्नो पक्षमा ल्याउन सकिने छ । परिवारमा सुखसुविधाको जोहो हुनेछ । मन दर्शन र चिन्तनमा केन्द्रित रहने छ । तर राशिस्वामी शनिश्चर बाह्रौं भावमा रहेकाले अहंकार र आडम्बरको भावना पनि विकसित हुन सक्छ । परिबन्द र बाध्यताका काममा खर्चको मात्रा बढिरहन्छ । काममा आलस्य बढ्नेछ भने समयमा काम गर्न नसक्दा हातबाट अवसर फुत्कन सक्छ । परिस्थिति संघर्षमय रहनाले चिताएको फाइदा नउठ्न सक्छ । आफ्ना कमजोरीप्रति टिप्पणी वा गुनासो बढ्नेछ । उच्च रक्तचाप, टाउको दुखाइ वा आँखाको समस्याले पनि सताउन सक्छ । आफन्तसँग असमझदारी बढे पनि समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन् । बुद्धिको उपयोगले सफलताको सूत्र पत्ता लगाउन सकिनेछ । वस्त्र, भोजन वा सामान्य उपहार हातलागी हुने समय छ । कृषि तथा पशुधनबाट फाइदा पुग्नेछ । खर्च लागे पनि देश–विदेशको यात्रा गर्ने अवसर जुट्न सक्छ । तर, आम्दानी र खर्चको सन्तुलन मिलाउन नसक्दा अर्थअभावले सताउन सक्छ ।

यसैगरी आयका मार्गमा देखिएका अवरोध हट्ने परिस्थिति बन्नेछैन र खिन्नताको अनुभूति हुन सक्छ । त्यस्तै पञ्चमेश शुक्रले धनभावको यात्रा गरिरहेको हुँदा सन्तानको उन्नतिप्रगतिका लागि वा कुनै माङ्गलिक कर्म गर्न केही धनराशि खर्च हुने परिस्थितिसमेत रहेको देखिन्छ । विशेष गरी यस राशिका विद्यार्थीले राम्रो उपलब्धी हासिल गर्ने समय छ, तर झैझगडा र विवादमा पछि हट्नु पर्छ, गृहिणीहरूमा सप्तमेशले अष्टम भावको यात्रा गरेको समयमा महिना सुरु भएकाले चिन्ता र शंकाको प्राबल्य हुनाले दाम्पत्यकलहको सम्भावना देखिन्छ, कर्मचारीहरूले हाकिमको खप्की खाने समय छ अनि व्यापारीहरूले व्यवसाय विस्तारका लागि गरेको प्रयास सफल हुने देखिन्छ । यस महिना शुभफलमा आधिक्यता मिलोस् भन्ने उद्देश्यले दुर्गाकवचको पाठका साथमा राशिस्वामी शनिको उपासना गर्नु जायज हुनेछ । विशेषतः यस महिनाको १, ८, ९, १७, १८, १९, २६, २७ र २८ गते चन्द्रमा अनिष्ट हुनेहुँदा यी दिनमा यात्रा नगरेको जाति हुन्छ ।

कुम्भः २०८२ माघ महिनाको प्रारम्भमा तपाईंको आफ्नै राशि अर्थात् लग्नमा शुक्र, पञ्चम भाव विद्यास्थानमा राहु, दशम भाव कर्मक्षेत्रमा मङ्गल, एघारौं भाव लाभ भावमा राशिस्वामी शनिश्चरका साथमा बृहस्पति र केतु तथा बाह्रौं भाव खर्चक्षेत्रमा सूर्य र बुधको बुधादित्य योगसमेतको उपस्थिति रहेको देखिन्छ । यस क्रममा बुध ग्रहले तपाईंको आफ्नै राशिमा, शुक्र ग्रहले द्वितीय भावमा र मङ्गलले लाभ स्थानमा प्रवेश गरी राशि परिवर्तन गर्नेछन् । यस्तो ग्रह परिवेशमा बाह्रौं घरमा रहेको मासाधिपति सूर्य र अष्टमेश बुधको उपस्थितिले गर्दा तपाईंले यस अवधिमा क्षणिक आवेग र उन्मादलाई नियन्त्रण गर्नु बेस हुनेछ । गलत निर्णयका कारण अकल्पनीय हानि हुनसक्छ, त्यसैले कुनै निर्णय लिनुपूर्व राम्रो सोचविचार गर्नु आवश्यक छ । खर्चमा अचानक वृद्धि हुनेछ, जुवातास, लटरी र सट्टापट्टातर्फ नहौसिनु ठीक हुनेछ । धनमाल हराउने वा चोरी हुने सम्भावना पनि हुन्छ । मनमा कुविचार आउने छन् र दुर्जन, व्यभिचारी र फटाहाहरूसँग सङ्गत हुनसक्छ । प्रेम जीवन निरश हुनसक्छ । अनावश्यक यात्राको योग छ र यात्राका क्रममा झमेला व्यहोर्नु पर्ने हुन्छ । व्यवसायिक स्थितिमा गिरावट आउन सक्छ । व्यक्तिगत स्वास्थ्य पनि अनुकूल हुनेछैन । नातागोताका सदस्य एवं मित्रवर्गसँग सुमधुर सम्बन्ध कायम राख्नु आवश्यक छ, अन्यथा एकआपसमा तनाव उत्पन्न हुनसक्छ । तर आफ्नै राशिमा भाग्येश शुक्रको तथा लाभ स्थानमा राशिस्वामी शनिश्चरको भ्रमण हुँदै गरेको समय भएकाले त्यत्ति साह्रो अत्तालिइ हाल्ने परिस्थिति पनि देखिंदैन । यस महिनामा केही व्यावहारिक उतारचढाव आउन सक्छन् ।

यसैगरी सरकारी निकायबाट हुने कडिकडाउको सिकार भइनेछ । आम्दानीको तुलनामा बढी खर्च हुनाले आर्थिक समस्या देखा पर्न सक्छ । दौडधूप र लगनशीलताले मात्र काम सम्पादन हुनेछ । आश्वासन बाँड्नेहरूबाट सहयोगको आशा नराख्नुहोला । तापनि शुभचिन्तकहरूको सहयोग र सद्भाव प्राप्त हुनाले चिताएको काम प्रारम्भ हुनेछ । भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोग गरी केही फाइदा उठाउन सकिनेछ । प्रयत्न गर्दा विदेश जाने अवसर प्राप्त हुनेछ । आफन्तजन बिनाकारण टाढिने सम्भावना रहेकाले संयमतापूर्वक व्यवहार गर्नुहोला । यसको प्रभावले मित्र र सहयोगीहरूबाट लाभ मिल्नेछ । बहुप्रतीक्षित इच्छा र आकांक्षााले पूर्णता पाउने छन् र लामो दूरीको यात्रा लाभदायक रहने छ । विलासिताका सामग्री र अन्य वस्तुहरू खरिद गर्नाले खर्च बढ्न सक्छ, तर घरायसी र पारिवारिक वातावरण सुखद हुनेछ । यस राशिका विद्यार्थीले कडा मिहिनेत गर्नुपर्छ, गृहिणीहरूले अनावश्यक खर्चबाट जोगिनु राम्रो हुन्छ, कर्मचारीहरूले भने बुद्धिको सदुपयोग गर्नाले उपलब्धी नै हासिल गर्ने सम्भावना देखिन्छ तथा व्यापारव्यवसायमा संलग्नहरूले साझेदारीमा कुनै काम थाल्ने सम्भावना देखिन्छ । यस महिनामा ग्रहगत अनिष्टता हटाउन तपाईंले राशिस्वामी शनिश्चरको उपासनाका साथमा प्रतिदिन शमी वा पीपलको बृक्षको पूजा गर्नु उचित हुने देखिन्छ । सामान्यतया १, २, ३, १०, ११, १२, २०, २१, २२ र २९ गते अन्य दिनका तुलनामा बढी नकारात्मक रहने संकेत छ ।

मीनः २०८२ माघ महिनाको प्रारम्भमा चतुर्थ भाव अर्थात् सुख स्थानमा राहु, नवम भाव भाग्यस्थानमा मङ्गल, दशम भाव कर्मक्षेत्रमा राशिस्वामी बृहस्पतिका साथमा शनिश्चर र केतु, एघारौं भाव लाभ भावमा सूर्य र बुधको बुधादित्य योग र बाह्रौं भाव खर्च क्षेत्रमा शुक्र ग्रहको उपस्थिति रहेको देखिन्छ । यस क्रममा बुध ग्रहले बाह्रौं भाव खर्च क्षेत्रमा, शुक्र ग्रहले तपाईंको आफ्नै राशि अर्थात् लग्नमा र मङ्गलले दशम भाव कर्मक्षेत्रमा प्रवेश गरी राशि परिवर्तन गर्नेछन् । यस्तो ग्रह परिवेशमा लाभ स्थानको सूर्यको प्रभावले शुभफलकै आधिक्यता रहने महिना छ । इच्छा र आकांक्षा पूर्ण हुने समयका रूपमा यस महिनाको आगमन भएको छ । बहुप्रतीक्षित महत्वाकांक्षा सिद्ध हुनेछन् । सरकारी ओहोदाका विशिष्ट व्यक्तिहरूको सहयोग जुटाउन सकिन्छ । सरकारी कामबाट फाइदा हुनेछ । थालेको काम छिटै सम्पन्न हुन्छ । स्वयं आफैंले वा जीवनसाथीले बढुवा÷प्रशंसा पाउने योग छ । नातागोताका सदस्यहरूबाट सहायता मिल्नेछ । यस समयमा गरिएका किनमेल र कारोबारहरू सफल हुनेछन् । करार र सम्झौताबाट लाभ मिल्नेछ । दाम्पत्य जीवन, घरायसी सुख, प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय हो । आय आर्जनका मार्गमा सुधार आउने छ । लामो यात्रा सुखद र सफलतम सिद्ध हुनेछ । प्रारम्भमा केही समस्या देखिए पनि यो महिना उत्साहवर्धक रहनेछ । रोकिएका काम बन्नुका साथै आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन् । नोकरी तथा राजनीतिमा सम्मानित स्थान प्राप्त हुनेछ। गरेका कामहरूको धेरैले प्रशंसा गर्नेछन् । मानसम्मानका साथ आम्दानी बढ्नेछ । अध्ययनमा राम्रो प्रगति हुनेछ । सोख तथा विलासी मनोवृत्तिले खर्च बढाए पनि उत्साहजनक समाचार सुन्न पाइनेछ । भाग्यले असल प्रेमपात्र जुराउन सक्छ । कृषि, पशुधनबाट पनि यथेष्ट लाभ हुनेछ । घर–गृहस्थीमा मन रमाउनेछ । परिवारजनमा आत्मीय भाव र विलासिता बढ्नेछ । एकपछि अर्को गर्दै महत्वाकांक्षा पूरा हुन सक्छ ।

यसैगरी भाग्यस्थानमा भाग्येश र धनेश मानिने मङ्गल ग्रहको भ्रमण भएको समय भएकाले आम्दानीका मार्ग बढ्ने छन् । शङ्कास्पद कारोबार र गलत तरिकाबाट समेत धनार्जन गर्ने सम्भावना बनेको देखिन्छ । परिवारमा कुनै माङ्गलिक कार्यको आयोजना हुनसक्छ । विपरीत लिङ्गीसँग सुमधुर सम्बन्ध कायम हुनेछ । महङ्गा र सुस्वादु भोजनप्रति रुचि जागृत हुनेछ । तर दशम भावमा शनिश्चर र केतुका साथमा राशिस्वामी बृहस्पतिको समेत उपस्थिति भएकाले पिता वा पितृतुल्य व्यक्तिको स्वास्थ्यस्थिति कमजोर बन्नेछ । यस राशिका विद्यार्थीले मनोरञ्जन र खेलवाडलाई नत्यागेमा पढाइमा कमजोरी देखिने खतरा छ, गृहिणीहरूले घरमा माङ्गलिक कार्य सम्पन्न गर्नेछन्, तर रिस र घमण्डमाथि नियन्त्रण गरेको जाति हुन्छ । त्यस्तै कर्मचारी र प्रशासकहरूले नचाहेको काममा खट्नु पर्ने वा दुर्गम स्थानमा सरुवा हुने त्रास देखिन्छ त्यस्तै व्यापारीहरूले धनधान्यबृद्धि गर्ने र नचिताएको ठाउँबाट लाभ प्राप्त गर्ने सम्भावना देखिन्छ । यस महिना अझ शुभफल बृद्धि होस् भन्ने उद्देश्यले सूर्यमन्त्रको जाप गर्ने वा सूर्यलाई दिनहुँ जल चढाउँदा राम्रो हुन्छ । सामान्यतया यस महिनाको ३, ४, ५, १२, १३, १४, २२, २३ र २४ गते तपाईंका लागि अशुभ रहने छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ