arrow

कांग्रेसको देउवा समूह निर्वाचन आयोगमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २ शुक्रबार
deuba-samuha-ec-82-10-2.jpg

काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहका नेताहरू निर्वाचन आयोगमा गएका छन् । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा उनीहरू निर्वाचन आयोग गएका हुन् । 

खड्कासँगै, विमलेन्द्र निधी, धनराज गुरुङ, डा शशांक कोइराला, रमेश रिजाल, श्याम घिमिरे, कल्याण गुरुङ, उमाकान्त चौधरी, सुजाता कोइराला, जितजंग बस्नेतलगायतका नेताहरु पुगेका हुन् । 

तरुण दललेसमेत निर्वाचन आयोग घेरेर आधिकारिकता दिन दबाब दिने भएको छ । 

देउवा समूहले दिउँसो २ बजे पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्नेसमेत जनाएको छ । 

दोस्रो विशेष महाधिवेशनबाट सभापतिमा गगन थापासहितको केन्द्रीय समिति निर्वाचित भएपछि देउवा समूह दबाबमा छ । विधिअनुसार गरिएको विशेष महाधिवेशन बहिस्कार गरेर देउवा समूहले निवर्तमान महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई पाँच वर्षका लागि पार्टीबाट निष्काशित गरेर पार्टी फुटाएको थियो । 

विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको विवरण अध्यावधिक गर्न निर्वाचन आयोगमा निवेदनसमेत दिइएपछि देउवा समूह दबाब दिन निर्वाचन आयोग गएको हो । 

दुवै पक्षले निर्वाचन आयोगमा आफूलाई आधिकारिक दाबी गर्दै पत्र र कागजात बुझाएका छन् । निर्वाचन आयोगले दुवै पक्षको दाबी अध्ययन गरिरहेको जनाएको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा यो विवादले कांग्रेसको चुनावी तयारीमा असर पर्नसक्ने विश्लेषकहरूले बताएका छन् ।

आयोगको निर्णय कुर्नुपर्ने अवस्था आएमा यो मुद्दा सर्वोच्च अदालतसम्म पुग्नसक्ने सम्भावना छ । कांग्रेसको यो विवादले पार्टीको चुनाव चिन्ह रुख र झण्डा कुन पक्षले पाउने भन्ने प्रश्न पनि उठेको छ । दुवै पक्षले बहुमत आफूहरूसँग रहेको दाबी गरिरहेका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ