शक्तिशाली देशहरूले विश्वव्यापी सहयोग कमजोर पारेको गुटेरेसको आरोप
लन्डनबाट महासचिवको चेतावनी: "अन्तर्राष्ट्रिय मूल्यमान्यतामाथि प्रहार भइरहेको छ, तर हामी पछि हट्दैनौँ"
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ४ आइतबार
1.8k
Shares
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले विश्वव्यापी सहयोगलाई कमजोर पार्न खोज्ने 'शक्तिशाली शक्तिहरू' विरुद्ध कडा चेतावनी दिएका छन्।
संयुक्त राष्ट्रसङ्घको पहिलो महासभाको ८०औँ वार्षिकोत्सवको अवसरमा शनिबार लन्डनमा सम्बोधन गर्दै उनले केही शक्तिराष्ट्रहरू अन्तर्राष्ट्रिय एकता खल्बल्याउन उद्यत रहेको भन्दै विश्व समुदायको ध्यानाकर्षण गराए।
महासचिव गुटेर्रेसले ऐतिहासिक लन्डनस्थित मेथोडिस्ट सेन्ट्रल हलबाट यस्तो चेतावनी दिएका हुन्, जहाँ सन् १९४६ जनवरी १० मा ५१ देशका प्रतिनिधिहरू पहिलो महासभाका लागि भेला भएका थिए।
न्यूयोर्कमा मुख्यालय निर्माण नभइसकेका कारण राष्ट्रसङ्घको पहिलो बैठक लन्डनमा आयोजना गरिएको थियो। सो अवसरमा उनले संयुक्त राष्ट्रसङ्घको जग बसाल्न बेलायतले निर्वाह गरेको निर्णायक भूमिकाको प्रशंसा समेत गरे।
उनले सन् २०२५ लाई अन्तर्राष्ट्रिय सहयोग र राष्ट्रसङ्घीय मूल्यमान्यताका लागि निकै चुनौतीपूर्ण वर्षका रूपमा चित्रण गरे। "शक्तिशाली राष्ट्रहरू विश्वव्यापी सहयोगलाई कमजोर पार्न लामबद्ध भएको देखिन्छ," महासचिव गुटेर्रेसले भने, "तर जतिसुकै समस्याका बाबजुद पनि हामी अगाडि बढ्नेछौँ।" उनले समुद्री जैविक विविधतासम्बन्धी नयाँ सन्धिलाई प्रगतिको एउटा सफल उदाहरणका रूपमा प्रस्तुत गरे, जसले राष्ट्रिय सीमा बाहिरका महासागर संरक्षणका लागि पहिलो कानुनी ढाँचा तयार पारेको छ।
अन्तर्राष्ट्रिय सहयोगका माध्यमबाट युद्ध रोकिएका, भोकमरी अन्त्य गरिएका र महत्त्वपूर्ण सन्धिहरू सम्पन्न भएका घटनाहरू सधैँ समाचारको मुख्य विषय नबने पनि ती 'शान्त विजय' हरू मानवजातिका लागि वास्तविक र महत्त्वपूर्ण रहेको उनले उल्लेख गरे।