जुम्ला रोजेका ज्ञानेन्द्र शाही: मुगुको चर्चाबीच आफ्नै गढबाट उम्मेदवारी दर्ता
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ६ मंगलबार
1.7k
Shares
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता एवं चर्चित युवा राजनीतिज्ञ ज्ञानेन्द्र बहादुर शाहीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज आफ्नो गृहजिल्ला जुम्लाबाट मनोनयन दर्ता गराएका छन्। मुगुमा उम्मेदवारी दिने चर्चाका बीच अन्तिम समयमा शाहीले आफ्नै जन्मभूमि र पुरानो निर्वाचन क्षेत्र रोज्दै जुम्ला पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।
२०७९ को निर्वाचनमा भारी मतका साथ विजयी भएका शाही यसपटक पुनः जुम्ली जनताको विश्वास जित्ने सङ्कल्पका साथ चुनावी मैदानमा उत्रिएका छन्। उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले जुम्ला र समग्र कर्णालीको विकासलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउनु आफ्नो मुख्य लक्ष्य रहेको बताए। शाहीले आफूलाई सुर्खेत र ललितपुर जस्ता सुगम क्षेत्रबाट समेत उम्मेदवार बन्न सिफारिस भए पनि जन्मभूमिको माया र जुम्ली जनताको सेवा गर्ने इच्छाले गर्दा जुम्ला नै फर्किएको स्पष्ट पारे।
"कर्णालीको पहिचान र यहाँको उत्पादनलाई विश्व बजारमा पुर्याउन मेरो उम्मेदवारी हो," शाहीले भने, "मैले निर्णय जनता जनार्दनको हातमा छोडेको छु, उहाँहरूको फैसला मलाई शिरोपर हुनेछ।" अघिल्लो निर्वाचनमा ६ महिनाअघि देखि नै गाउँ-गाउँ पुगेर अभियान चलाएका शाही यसपटक भने मनोनयन दर्ताकै दिन मात्र जुम्ला पुगेका हुन्। उनको यो उम्मेदवारीले जुम्लाको चुनावी माहोललाई पुनः राष्ट्रिय चर्चाको केन्द्रमा ल्याएको छ।