फागुन २१ पछि गगन थापा नै देशको प्रधानमन्त्री : सहमहामन्त्री रसाईली
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ११ आइतबार
2.7k
Shares
काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाईलीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा कांग्रेसले स्पष्ट र सुविधाजनक बहुमत हासिल गर्ने दाबी गरेका छन्। उनले यसपटकको निर्वाचनमा कांग्रेस एकढिक्का भएर होमिएकाले परिणाम ऐतिहासिक हुने बताए।
सहमहामन्त्री रसाईलीका अनुसार पार्टीभित्रका विभिन्न समूह र आन्तरिक समीकरणलाई सन्तुलित रूपमा सम्बोधन गरिएको छ। उनले टिकट वितरणमा पूर्वसभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला समूहका नेताहरू सबैले न्याय पाएको उल्लेख गर्दै अब सबैको लक्ष्य 'रुख' चिन्हलाई बलियो बनाउनु रहेको बताए। उनले पार्टीले 'कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ' भन्ने नाराका साथ नयाँ पुस्ता (जेन–जी) को भावनालाई कदर गर्दै अघि बढेको जानकारी दिए।
देशको वर्तमान जटिल परिस्थिति र अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित रूपमा अघि बढाउन सभापति गगन थापा नै योग्य पात्र भएको जिकिर गर्दै रसाईलीले फागुन २१ पछि मुलुकको प्रधानमन्त्री थापा नै बन्ने ठोकुवा गरे। उनले विद्यार्थी राजनीतिबाट खारिएका र निष्कलङ्क छवि भएका थापाको नेतृत्वमा कांग्रेसले सुशासन कायम गर्ने र युवा पलायन रोक्न देशमै रोजगारीका अवसर सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे। मुठभेडको राजनीतिबाट देशलाई जोगाएर विकासको बाटोमा लैजाने नेतृत्व कांग्रेसले मात्र दिन सक्ने उनको तर्क छ।