arrow

वासिङ्टन वार्ता निष्कर्षविहीन, जेलेन्स्कीले मागे थप हवाई रक्षा सहयोग

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १२ सोमबार
volodymyr-zelenskyy.jpg

काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसी आक्रमणका कारण राजधानी किएभका सयौँ भवनहरूमा तापक्रम नियन्त्रण (हिटिङ) व्यवस्था ठप्प भएको भन्दै अन्तर्राष्ट्रिय समुदायसँग थप हवाई रक्षा सहयोगको अपिल गरेका छन्। चार वर्ष लामो युद्धका क्रममा रुसले युक्रेनको ऊर्जा पूर्वाधारलाई मुख्य निसाना बनाउँदा यो जाडो याम युक्रेनीहरूका लागि अहिलेसम्मकै कष्टकर बनेको छ।

विशेष गरी तीव्र चिसोका समयमा रुसले पठाउने सयौँ ड्रोन र मिसाइलहरूले युक्रेनको हवाई सुरक्षा प्रणालीमा ठूलो दबाब सिर्जना गरेका छन्। लिथुआनियाको भिल्नियस पुगेका राष्ट्रपति जेलेन्स्कीले पछिल्लो साताको तथ्याङ्क सार्वजनिक गर्दै भने, “रुसले यस हप्ता मात्रै एक हजार ७०० भन्दा बढी ड्रोन, एक हजार ३८० भन्दा बढी निर्देशित बम र ६९ वटा मिसाइल प्रहार गरेको छ। त्यसैले हाम्रो आकाश सुरक्षित राख्न हामीलाई दैनिक रूपमा मिसाइल र रक्षा प्रणाली आवश्यक छ।”

रुसी बमबारीका कारण किएभमा मानवीय सङ्कट चुलिएको छ, जसले गर्दा करिब पाँच लाख मानिस विस्थापित भएका छन्। किएभका मेयर भिटाली क्लिट्स्कोका अनुसार जनवरी २४ को भिषण आक्रमणपछि एक हजार ६७६ वटा अग्ला अपार्टमेन्ट भवनहरूमा तताउने व्यवस्था पूर्ण रूपमा बन्द भएको छ। लगातारको हवाई हमला र अत्यधिक चिसोका कारण क्षतिग्रस्त विद्युत र हिटिङ प्रणाली मर्मत गर्ने कार्यमा समेत अवरोध पुगेको छ।

युद्ध अन्त्यका लागि वासिङ्टनमा अमेरिकाको मध्यस्थतामा रुस र युक्रेनबीच शनिबार वार्ता भएको थियो। यद्यपि उक्त वार्ताबाट कुनै ठोस निष्कर्ष निस्कन सकेन। जेलेन्स्कीले वार्तालाई ‘रचनात्मक’ भन्दै आगामी हप्ता संयुक्त अरब इमिरेट्सको अबु धाबीमा पुनः भेट्ने सहमति भएको जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ