स्वास्थ्य बीमाको दुरुपयोग रोक्न बोर्डको आग्रह, अनावश्यक परीक्षणका लागि दबाब नदिन निर्देशन
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १४ बुधबार
756
Shares
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमा कार्यक्रमको दिगोपनका लागि सेवाको दुरुपयोग नगर्न र जिम्मेवार ढङ्गले उपयोग गर्न सबै सेवाग्राही तथा सेवा प्रदायकहरूमा विशेष आग्रह गरेको छ।
मङ्गलबार एक विज्ञप्ति जारी गर्दै बोर्डले अनावश्यक स्वास्थ्य परीक्षणका लागि चिकित्सक वा स्वास्थ्यकर्मीहरूलाई दबाब नदिन बिरामीहरूलाई अनुरोध गरेको हो।
बोर्डले सामाजिक ऐक्यबद्धताको सिद्धान्तमा आधारित यस कार्यक्रमलाई थप प्रभावकारी र गुणस्तरीय बनाउन अधिकतम प्रयास भइरहेको उल्लेख गर्दै सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई पनि औचित्यका आधारमा मात्र ल्याब परीक्षण र उपचार गर्न निर्देशन दिएको छ।
प्रचलित कानुन, बोर्डका निर्देशिका र कार्यविधिको पूर्ण पालना गर्दै बीमा कार्यक्रमलाई सफल बनाउन स्वास्थ्य संस्थाहरूको भूमिका महत्त्वपूर्ण हुने विज्ञप्तिमा जनाइएको छ।
सीमित स्रोत र संरचनागत चुनौतीका बीच पनि हाल दैनिक करिब ५० हजार नागरिकले यस कार्यक्रममार्फत स्वास्थ्य सेवा लिइरहेका छन्। बोर्डको तथ्याङ्कअनुसार स्वास्थ्य बीमाका कारण आम नागरिकको दैनिक औसत ८ करोड रुपैयाँ बराबरको व्यक्तिगत खर्च जोगिएको छ।
हाल केही अस्पतालहरूमा सेवा लिन देखिएको असहजता वा अस्थायी रूपमा अवरुद्ध भएका सेवाहरू पुनः सुचारु गर्न बोर्डले निरन्तर पहल र छलफल गरिरहेको समेत जानकारी दिएको छ।