मानसिक स्वास्थ्य र मातृशिशु मृत्युदर घटाउनु मेरो मुख्य प्राथमिकता : स्वास्थ्यमन्त्री
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १५ बिहिबार
737
Shares
काठमाडौं । अन्तरिम सरकारकी स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले आफू मन्त्री रहँदासम्म मानसिक स्वास्थ्यलाई विशेष प्राथमिकता दिने बताएकी छन्। बिहीबार काठमाडौँमा आयोजित ६४ औँ वार्षिकोत्सव तथा साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।
उनले मानसिक स्वास्थ्यलाई प्रमुख विषय बनाएर आफू अघि बढिरहेको र वैदेशिक रोजगारमा गएका नेपालीको स्वास्थ्य तथा मातृशिशु मृत्युदर घटाउने कार्यक्रमहरूलाई विशेष प्राथमिकता दिने उल्लेख गरिन्। साथै, स्वास्थ्य प्रणालीको सुधार नै आफ्नो मुख्य लक्ष्य रहेको उनले जिकिर गरिन्। मन्त्री गौतमले बीमा कार्यक्रम, औषधि नियमन, खरिद-बिक्री र आपूर्ति व्यवस्थालाई सुदृढ बनाउने योजना अघि सारेकी छन्।
सम्बोधनका क्रममा उनले भनिन्, "मैले मानसिक स्वास्थ्यलाई प्रमुख विषय बनाएकी छु। हाम्रो देशबाट हजारौँ युवा वैदेशिक रोजगारमा जान्छन्, उनीहरूको स्वास्थ्यमा पनि ध्यान दिनैपर्छ। महिलाका बारेमा महिलाले नबोले कसले बोल्छ? चारवटा प्रदेशमा मातृशिशु मृत्युदर निकै उच्च छ, त्यहाँ आक्रामक रूपमा कार्यक्रमहरू लैजानु मेरो प्राथमिकता हो। जहाँ कमजोरी देखिएको छ— बीमा, औषधि नियमन र आपूर्तिमा— त्यहाँ म सुधार गरेरै छाड्छु।"
मन्त्री गौतमले जीवनको हरेक चरणमा मानिसले आफूलाई प्रमाणित गर्दै लैजानुपर्ने धारणा राखिन्। साथै, नर्सिङ एसोसिएसन नर्सहरूको हक हितका लागि सधैँ क्रियाशील हुनुपर्नेमा उनले जोड दिइन्।