arrow

सर्लाहीमा 'आया राम, गया राम'

जो सम्मान थाप्न कांग्रेस छिरे, भोलिपल्टै फर्किए जसपामा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १५ बिहिबार
gaudtel-sarlahi.jpg

काठमाडौँ । राजनीतिमा निष्ठाभन्दा अवसर र सम्मान प्रधान हुँदा कस्ता रोचक दृश्य देखिन्छन् भन्ने एउटा ताजा उदाहरण सर्लाहीमा देखिएको छ। हिजो (बुधबार) मात्रै नेपाली कांग्रेसका सभापति गगन थापाको हातबाट टीका लगाएर 'कांग्रेसी' बनेका गोडैता नगरपालिका–५ का वडाध्यक्ष प्रकाश प्रसाद गुप्ता आज फेरि पुरानै घर जनता समाजवादी पार्टी (जसपा) मा फर्किएका छन्।

भर्खरै कांग्रेस प्रवेश गरेका उनलाई २४ घण्टा पनि कांग्रेसी चोला फापेन। आज एक भिडियो सन्देश जारी गर्दै उनले आफू कांग्रेसमा नरहेको र पुरानै पार्टी जसपामा फर्किएको घोषणा गरेका हुन्।

गुप्ताले आफ्नो स्पष्टीकरणमा अलि अनौठो तर्क गरेका छन्। उनले आफू मधेस प्रदेशका उपसभापति वीरेन्द्र सिंहसँगको सामीप्यताका कारण र सम्मान पाउने लोभमा त्यहाँ पुगेको संकेत गरेका छन्। तर, भोलिपल्टै चेत खुलेपछि उनले भने, "म सुरुदेखि नै जसपामा थिएँ र जसपामै रहनेछु। हिजो सम्मान गरेकोमा कांग्रेसलाई धन्यवाद छ, तर मेरो भोट र निष्ठा जसपालाई नै जान्छ।"

हिजो सर्लाहीको गोडैतामा सभापति थापाले उनलाई स्वागत गर्दा कांग्रेसले स्थानीय तहमा शक्ति आर्जन गरेको ठानेको थियो। तर, गुप्ताको यो 'फास्ट ट्र्याक' घरफिर्तीले कांग्रेस वृत्त छक्क परेको छ ।

निर्वाचनको मुखमा वडाध्यक्ष गुप्ताले देखाएको यो 'आया राम, गया राम' प्रवृत्तीले मतदाताहरू माझ भने हाँसो र चर्चा दुवै बटुलेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ