arrow

'भिटामिन डी'को कमीले निम्त्याउन सक्छ गम्भीर समस्या: कसरी पाउने पर्याप्त 'सनसाइन भिटामिन'?

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १९ सोमबार
vitamin-d.jpg

काठमाडौँ । शरीरलाई स्वस्थ राख्न भिटामिन डी पर्याप्त मात्रामा हुनु अति आवश्यक मानिन्छ। सूर्यको प्रकाशको सम्पर्कमा आउँदा शरीरमा प्राकृतिक रूपमै उत्पादन हुने भएकाले यसलाई ‘सनसाइन भिटामिन’ पनि भनिन्छ। चिकित्सकहरूका अनुसार मासु, अण्डा तथा दुग्धजन्य पदार्थमा भिटामिन डी पाइन्छ र यस्ता खाना खाएर यसको कमीलाई धेरै हदसम्म कम गर्न सकिन्छ। तर, पछिल्लो समय मानिसहरूको जीवनशैली फेरिएकाले धेरैमा यसको कमी देखिएको छ र कतिपय अवस्थामा बाह्य सप्लिमेन्ट नै लिनुपर्ने हुन्छ।

भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा. कल्याण सापकोटाका अनुसार भिटामिन डीले हर्मोनको रूपमा पनि काम गर्छ। उनले नवजात शिशुदेखि १२ महिनासम्मका बच्चालाई दैनिक ४०० युनिट र वयस्क व्यक्तिलाई दैनिक १००० युनिट भिटामिन डी आवश्यक पर्ने बताए। नेपालमा खानामा पोषक तत्व मिसाउने (फोर्टिफाइड) प्रचलन कम भएकाले पनि धेरै व्यक्तिमा यसको अभाव देखिने गरेको उनको भनाइ छ। भिटामिन डीको प्रमुख स्रोत घाम भए पनि जाडो महिनामा पर्याप्त प्रकाश नपुग्ने हुँदा खाना र सप्लिमेन्टमा विशेष ध्यान दिनुपर्ने उनले सुझाव दिए।

भिटामिन डी प्राप्त गर्नका लागि विशेष गरी बिहान १०–११ बजेदेखि दिउँसो ३ बजेसम्मको घाम निकै महत्वपूर्ण हुन्छ। डा. सापकोटाका अनुसार यो समयमा १० देखि ३० मिनेटसम्म सनस्क्रिन नलगाई र छाला नढाकी घाममा बस्दा शरीरले पर्याप्त भिटामिन डी उत्पादन गर्न सक्छ। यसले शरीरमा क्याल्सियमको सन्तुलन मिलाउन, हड्डी र मांसपेशी बलियो बनाउन तथा रोग प्रतिरोधात्मक क्षमता बढाउन ठूलो भूमिका खेल्छ। पर्याप्त भिटामिन डीले क्यान्सर र विभिन्न सङ्क्रमणको जोखिमलाई समेत कम गर्ने अध्ययनहरूले देखाएका छन्।

यदि शरीरमा भिटामिन डीको कमी भयो भने शरीर दुख्ने, मांसपेशी कमजोर हुने, हड्डी भाँचिने र छिट्टै थकान महसुस हुने जस्ता लक्षणहरू देखिन्छन्। साना बच्चाहरूमा यसको कमीले उचाइ कम हुने र खुट्टा बाङ्गो हुने (रिकेट्स) जस्ता गम्भीर समस्या निम्त्याउन सक्छ। त्यसैले, स्वस्थ रहनका लागि सन्तुलित खानपानका साथै नियमित रूपमा केही समय घाममा बिताउने बानी बसाल्नुपर्ने डा. सापकोटाको सल्लाह छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ