काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विद्यालयमा अध्ययनरत छात्रालाई पाठेघरको मुखको क्यान्सर गराउने ह्ययुमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप लगाउने अभियान शुरू गरेको छ ।
मंगलबार पद्यमकन्या विद्याश्रम मावि डिल्लीबजारबाट काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागले विद्यालयमा अध्ययनरत छात्राहरुलाई केन्द्रित नियमित एचपीभी खोप लगाउने अभियानको उद्घाटन गरिएको हो ।
विद्यालय केन्द्रित नियमित एचपीभी खोप उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौँ महानगरपालिकी कार्यवाहक प्रमुख सुनिता डंगोलले पहिले यो खोप पैसा तिरेर लिनु परेको उल्लेख गर्दै अहिले नि:शुल्क विद्यालयमा खोप लगाउने कार्यक्रम भइरहेको बताइन् ।
‘अघिल्लो वर्षबाट शुरू गरिएका थियौँ । पहिले यो खोप पैसा तिरेर लिइरहनु भएको थियो भने अहिले नि:शुल्क खोप लगाउने कार्यक्रम भइरहेको छ,’ उनले भनिन्, ‘यो कार्यक्रमबाट धेरैभन्दा धेरै बहिनीहरूले यसबाट लाभ लिनुहोस् भन्ने चाहन्छौँ।’
डंगोलले स्थानीय सरकारको सहकार्यमा खोप लगाउने अभियान देशैभरी भइरहेको जानकारी समेत दिइन् ।
‘आज एचपीभी भाइरसको खोप उल्लासका साथमा देशैभरी विभिन्न ठाउँमा विशेषगरी स्थानीय सरकारको सहकार्यमा खोप लगाउने कार्यक्रम भईरहेको छ । आज हामीले यहाँ पनि भ्याक्सिनको कार्यक्रम गरिरहेका छौँ,’ उनले भनिन् ।