काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा १०० रुपैयाँले घटेर छापावाल सुनको मूल्य प्रतितोला तीन लाख छ हजार ५०० रुपैयाँ कायम भएको छ।
यसअघि बुधबार सुन प्रतितोला तीन लाख छ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। सुनको भाउमा केही कमी आए पनि चाँदी भने तोलामा ५० रुपैयाँले महँगिएको छ। आज एक तोला चाँदीको मूल्य पाँच हजार ३४० रुपैयाँ पुगेको छ, जबकि बुधबार यसको मूल्य पाँच हजार २९० रुपैयाँ रहेको थियो।
पछिल्ला केही दिनको तथ्याङ्क हेर्दा सुनको मूल्यमा निरन्तर उतारचढाव देखिएको छ। गत मङ्गलबार सुन प्रतितोला तीन लाख पाँच हजार ५०० रुपैयाँ र चाँदी पाँच हजार २४० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै सोमबार सुनको मूल्य तीन लाख चार हजार ६०० रुपैयाँ र चाँदीको पाँच हजार २५० रुपैयाँ रहेको थियो।
अन्तर्राष्ट्रिय बजारको प्रभावले स्थानीय बजारमा पनि मूल्य प्रभावित भइरहेको व्यवसायीहरू बताउँछन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज विश्व बजारमा एक औँस सुन पाँच हजार ८३ अमेरिकी डलर र चाँदी ८३ डलर हाराहारीमा कारोबार भइरहेको छ।