'मर्निङ वाक' स्वास्थ्यका लागि घातक बन्न सक्ने चिकित्सकको चेतावनी [भिडियो]
बिहानको समयमा हावा सबैभन्दा बढी अस्वस्थकर हुने भएकाले बाहिर निस्कँदा श्वासप्रश्वासमार्फत ती फोहोर कणहरू सिधै फोक्सोमा पुग्ने
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २९ बिहिबार
750
Shares
काठमाडौँ । काठमाडौँ उपत्यकामा वायु प्रदूषणको स्तर खतराको बिन्दुमा पुगेको छ। लामो समयदेखि वर्षा नहुनु र जाडोमा हावाको बहाव कम हुनाले उपत्यकाको आकाश बाक्लो तुवाँलोले ढाकिएको छ। यसै सन्दर्भमा अल्का अस्पतालकी फिजिसियन डा. रक्षा गौतमले वायु प्रदूषणले मानव स्वास्थ्यमा पारिरहेको गम्भीर असरबारे सजग गराएकी छन्।
उनले विशेषगरी जाडोको समयमा गरिने ‘मर्निङ वाक’ स्वास्थ्यका लागि फाइदाजनक हुनुको साटो उल्टै रोगको कारण बन्न सक्ने चेतावनी दिएकी छन्। सामान्यतया एअर क्वालिटी इन्डेक्स १०० सम्म हुनुलाई राम्रो मानिने भए पनि काठमाडौँमा यो सूचकांक १५० देखि २०० सम्म पुग्ने गरेको उनले उल्लेख गरेकी छन्।
डा. गौतमका अनुसार जाडोमा प्रदूषणका मसिना कणहरू जमिनको सतह नजिकै थुप्रिएर बस्छन्। बिहानको समयमा हावा सबैभन्दा बढी अस्वस्थकर हुने भएकाले बाहिर निस्कँदा श्वासप्रश्वासमार्फत ती फोहोर कणहरू सिधै फोक्सोमा पुग्छन्।
अझ सुगर, प्रेसर र मुटुका बिरामीहरू बिहान चिसो र प्रदूषणमा निस्कँदा रगतका धमनीहरू थप खुम्चिने र मस्तिष्कघात वा हृदयघातको जोखिम ह्वात्तै बढ्ने उनले बताइन्। "यही मौसममा मानिसहरू बाटोमै ढलेको खबर धेरै सुनिन्छन्, त्यसैले यो दुई महिना मर्निङ वाक घरभित्रै सीमित राख्नु नै बुद्धिमानी हुन्छ," उनको सुझाव छ।
अस्पतालको ओपिडीमा आउने बिरामीहरूमा अचेल अनौठो र डरलाग्दो लक्षणहरू देखिन थालेको डा. गौतमले अनुभव सुनाइन्। धेरैजसोले लामो समयसम्म खोकी लाग्ने, टाउको दुख्ने, र सानो काम गर्दा पनि थकाइ लाग्ने गुनासो गर्छन्।
कतिपय बिरामीले त बिहान खोक्दा खकारमा कालो कणहरू देखिने र रगत आएको जस्तो लागेर डराउने गरेको उनले बताइन्। यसले दीर्घकालीन रूपमा फोक्सोको क्यान्सर, स्ट्रोक र मधुमेह जस्ता गम्भीर रोग निम्त्याउन सक्ने उनले चेतावनी दिएकी छन्। विशेष गरी बालबालिका, वृद्धवृद्धा र गर्भवती महिलाहरू यो प्रदूषणको उच्च जोखिममा छन्।
प्रदूषणबाट जोगिन डा. गौतमले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र निस्कनै परे अनिवार्य रूपमा गुणस्तरीय मास्क प्रयोग गर्न सल्लाह दिएकी छन्। साथै, नागरिक स्तरबाट जथाभावी आगो नबाल्ने, धेरै धुवाँ फाल्ने सवारी साधन नचलाउने र सम्भव भएसम्म घरमा एअर प्युरिफायर प्रयोग गर्नुपर्ने उनले बताइन्।
सरकारले पनि पुराना सवारी साधन विस्थापन र प्रदूषण नियन्त्रणमा कडा कदम चाल्नुपर्ने उनको तर्क छ। वर्षा नभएसम्म काठमाडौँको हावा स्वच्छ हुने सम्भावना कम भएकाले अहिलेलाई बाहिर हिँड्ने जिद्दी त्यागेर स्वास्थ्यको ख्याल गर्न उनले विशेष अपिल गरेकी छन्।